एनएसीको बोइङ शुक्रबार नेपाल ल्याइँदै, फेब्रुअरीसम्म मात्रै उड्छ यो जहाज

बिजमाण्डू
२०७५ मंसिर २४ गते १४:११ | Dec 10, 2018
एनएसीको बोइङ शुक्रबार नेपाल ल्याइँदै, फेब्रुअरीसम्म मात्रै उड्छ यो जहाज


काठमाडौं। मर्मतका लागि मलेसियाको क्वालालाम्पुर पठाइएको नेपाल वायुसेवा निगमको जहाज बोइङ ७५७ शुक्रबार नेपाल ल्याइने भएको छ। कात्तिक १३ गते निगमको इन्जिनियरिङ विभागले जहाजको 'थर्मल ब्ल्याङ्केट' मर्मत गर्नैपर्ने देखाएपछि मर्मतका लागि क्वालालाम्पुर पुर्याइएको थियो।

Tata
GBIME
Nepal Life

थर्मल ब्ल्याङ्केट मर्मत गर्ने क्रममा बोइङको 'सि-डक्ट'मा पनि समस्या देखिएपछि जहाज मर्मत गर्न समय लागेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। सि-डक्ट मर्मतका लागि आवश्यक उपकरण पाउनै गाह्रो भएको कारण धेरै समय लागेको उनले बताए। 

'थर्मल ब्ल्याङ्केट मर्मतका लागि दुईदेखि तीन दिनको काम थियो तर मर्मतका क्रममा सि-डक्टमा समस्या देखिएपछि आवश्यक उपकरण ल्याउनमा समय लागेको हो,' उनले भने। सिग्देलका अनुसार मर्मतका लागि अनुमानित दुईदेखि अढाई लाख रुपैयाँ खर्च हुनेछ। 

तत्काल बिक्री गर्ने भनिएको जहाज निगमले फेब्रुअरीसम्म उडान गर्ने योजनासहित मर्मतका लागि मलेसिया पठाएको निगमले जनाएको छ। बोइङको इन्जिन साइकल अझै बाँकी रहेका कारण मर्मत गरेर उडान गर्ने योजना निगमको छ। 

फेब्रुअरीसम्म जहाज उडान गर्ने र त्यसपछि आर्थिक मूल्यांकन आधारमा बिक्री गर्ने योजना रहेको सिग्देलले जानकारी दिए। निगमले यो जहाज बिक्रीका लागि आर्थिक मूल्यांकन गर्न एक महिना अघि स्वीट्जरल्याण्डको फिन्टेक कम्पनीलाई परामर्शदाता नियुक्ति गरेको थियो।