उर्जित पटेलको राजीनामा बारे रघुराम राजनको टिप्पणी: समग्र भारतीयले चासो दिनुपर्छ, छानबिन होस्

बिजमाण्डू
२०७५ मंसिर २४ गते २१:२७ | Dec 10, 2018

काठमाडौं। आफ्ना उत्तराधिकारी उर्जित पटेलको आकस्मिक राजीनामाबारे भारतीय रिजर्व बैंकका पूर्व गभर्नर रघुराम राजनले मुख खोलेका छन्। पटेलले सोमबार पदबाट राजीनामा दिएपछि राजनले यो विषय समग्र भारतीयकै चासोको विषय भएको र यसबारे छानबिन हुनुपर्ने बताएका हुन्। 

Tata
GBIME
Nepal Life

‘मलाई लाग्छ उनको अभिव्यक्तिको सम्मान हुनुपर्छ। उनलाई यो निर्णय लिन किन यति धरै दबाब दिइयो यस विषयमा हामी गहिराईसम्म पुग्नुपर्छ,’ राजनले भनेका छन्। 

राजनले केन्द्रीय बैंकको नाम नलिई यस्ता संस्थाहरु मुलुकको अर्थतन्त्र र दीर्घकालीन विकासका लागि अपरिहार्य हुने भन्दै त्यसबारे सम्पूर्ण भारतीयले चासो दिनुपर्ने पनि बताएका छन्। ‘यो विषयमा सम्पूर्ण भारतीयले चासो दिनुपर्छ किनभने दीगो विकास र मुलुकको अर्थतन्त्रको हितका लागि हाम्रा संस्थाहरुको सबलता अपरिहार्य छ,’ राजनले भनेका छन्। 

राजनकै सिफारिसमा पटेल केन्द्रीय बैंकको गभर्नर बनेका थिए। भारतीय विपक्षी दलले गभर्नर नियुक्तीका बेला सरकारको तीखो आलोचना गरेको भए पनि राजनले सिफारिस गरेपछि चुप लागेको थियो। 

तीन वर्षे कार्यकाल आउँदो सेप्टेम्बरमा सकिने भए पनि पटेल ९ महिना अघि नै पदत्याग गरेका हुन्। केन्द्रीय बैंकको स्वायत्तताका विषयमा नरेन्द्र मोदी सरकारसँग उनको टकराव बढेको खबर बाहिर आएका थिए। त्यसयता केन्द्रीय बैंक र सरकारको सम्बन्ध चिसिएको थियो।