शेयर लगानीकर्ताको समूहमा आयो फूट, सरकारी वार्तामा सहभागी हुनेलार्इ विचौलियाको आरोप

बिजमाण्डू
२०७५ मंसिर २५ गते १५:३७ | Dec 11, 2018
शेयर लगानीकर्ताको समूहमा आयो फूट, सरकारी वार्तामा सहभागी हुनेलार्इ विचौलियाको आरोप


काठमाडौँ। निरन्तर बजार घटेपछि एकजुट भएका लगानीकर्ताको समूहमा फूट आएको छ। सरकारले पूँजी बजार र मुद्रा बजारको सुधारका लागि गठन गरेको अध्ययन समितिमा आफ्नो प्रतिनिधित्वका विषयलार्इ लिएर लगानीकर्ताबीच फूट आएको हो।

Tata
GBIME
Nepal Life

अध्ययन समितिमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललार्इ मात्रै प्रतिनिधित्व गरिएको छ। यो प्रतिनिधित्वसँगै पूँजी बजार लगानीकर्ता संघले खुलेरै सरकारी समितिको विरोध गरेको छ।

संघका अध्यक्ष उत्तम अर्यालले भित्री कोठामा हुने छलफल मान्य नहुने भन्दै खुल्ला ठाउँमा छलफल र बहस गर्नुपर्ने बताएका छन्। नेप्सेमा धर्ना दिइरहेका लगानीकर्ताले सरकारी अध्ययन समितिसँग छलफलमा गएका सङ्गठित लगानीकर्ताका प्रतिनिधिहरू बिचौलिया भन्दै उनीहरू आफ्ना प्रतिनिधि नभएकोले उनीहरूसँग भएको वार्ता मान्य नहुने बताएका छन्।

‘अनशनकै बिचमा केही बिचौलियाहरुले हामी लगानीकर्ताहरुको तर्फबाट भन्दै कथित अध्यन समितिमा  आफ्नो स्वार्थ केन्द्रित कुराहरू राखेर घात गरेका छन्। उनीहरु तत्काल फिर्ता आउन चेतावनी दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

यो अध्ययन समिति बन्नुअघि नेपाल इन्भेष्टर फोरम, पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघ एकै ठाउँमा थिए। उनीहरु संयुक्त रुपमा पुगेर नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबारले शेयर बजार थप संकटमा परेको भन्दै प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको समेत राजीनामा माग गरे।

धर्ना दिन पुगेका लगानीकर्तालार्इ सिइओ साउदले थामथुम पारेर अनलाइन कारोबारलार्इ लगानीकर्तामैत्री बनाउने लगायतका आश्वासन दिएर पठाए। यो आश्वासन पाएर सँगै फर्किएका लगानीकर्ता संघ भित्रबाटै केहीले छुट्टै दबाब समूह बनाए। त्यही दबाब समूहले आइतबारदेखि नेप्से कार्यालय अगाडि अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गर्दै रिले अनसनमा बसेका छन्। आफ्नो माग पूरा नभए पुस १ गतेदेखि आमरण अनसनमा बस्ने चेतावनी समेत दिएको छ।

को हुन् दबाब समूहका संयोजक
अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै नेप्सेको कार्यालय अगाडि धर्ना दिने दबाब समूहका संयोजक हुन् हरि ढकाल। ढकाल चितवन टाँडीका हुन्।

लगानीकर्ताको नेताको रुपमा एकाएक उदाएका ढकालको पृष्ठभूमी राजनीति नै हो। उनी कुनै समय शहीद स्मृती बहुमुखी क्याम्पसमा एमालेको भातृ संगठन अनेरास्वियूका इकाइ सभापति हुन्।

ढकाल स्थानीय तहको निर्वाचन हुँदा रत्ननगर नगरपालिकामा एमालेका उम्मेदवार नारायण वनलार्इ चुनाब जिताउन झण्डै आधा महिना चुनाबी अभियानमा लागेका थिए। उनको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग पनि राम्रो सम्वन्ध छ।