बैंकले धितो लिलामीमा निकालेपछि बेगबानी परिवार भागेको पुष्टि, सुन राखेर ऋण लिने संकटमा

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:०६ | Dec 11, 2018


विराटनगर। ऋण लिएका तीन बैङ्कले नै धितोको सम्पत्ति लिलाम गर्ने सूचना निकालेपछि विराटनगरका सुनचाँदी व्यवसायी सन्तोष बेगवानी सपरिवार भागेको देखिएको छ ।

Tata
GBIME
Nepal Life

विराटनगर रङ्गेली रोडमा ॐ लक्ष्मी ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका बेगबानी शनिबारदेखि सपरिवार भागेका थिए । उनका कान्छा छोरा कुलदीप भारतको बङ्गलोरमा व्यवसाय सञ्चालन गरेर बस्दै आएका छन् । जेठा प्रदीप र माहिला सन्दीप बाबु सन्तोषसँगै सुनचाँदी पसलमा काम गर्थे ।

बेगवानीले आफूले पसल सञ्चालन गरिरहेको भवन र जमिन धितो राखेर प्राइम बैङ्कबाट साढे १३ करोड रुपैयाँ ऋण उठाएका थिए । उनले ऋणको भाखा नघाएपछि बैङ्कले असोज महिनामा ३५ दिने सूचना निकालेको थियो । त्यस सूचनाले पनि ऋण नतिरेपछि दुई पटक १५ दिने सूचना निकालिएको थियो । दुई–दुई पटक १५ दिने सूचना निकाल्दा पनि उनले ऋण नतिरेपछि सम्पत्ति लिलामीको प्रक्रिया सुरु गरिएको थियो भनी बैङ्कले जनाएको छ ।

त्यस्तै ग्लोबल आइएमईले पनि ३५ दिने सूचना निकालेर थप १५ दिनको सूचना प्रकाशित गरी लिलामीको प्रक्रिया सुरु गरिसकेको थियो । ‘रिकभरी एक्सनमा हामी गइसकेका छौँ’, ग्लोबल आइएमई विराटनगरका प्रबन्धक शशिशेखर शर्माले भने, ‘ऋणीको धितोबाट रकम असुल हुनसक्छ, आत्तिनुपर्ने अवस्था छैन ।’

थप १५ दिनको सूचना निकालेपछि पनि बेगबानी ऋण तिर्न नआएपछि बैङ्क रिकभरी एक्सनमा गएको शर्माले जानकारी दिए । बेगबानीले ग्लोबलसित ३ करोड ऋण लिएका थिए ।त्यस्तै लक्ष्मी बैङ्कले पनि बेगबानीलाई ८ करोड ऋण दिएको र उनले समयमा नतिरेपछि ३५ दिने सूचना निकालेको जनाएको छ । लक्ष्मी बैङ्कको सूचनाको ३५ दिन नकट्तै बेगबानी फरार भएको पाइएको छ । बेगबानीले धितो राखेको सम्पत्तिबाट रकम असुल हुन सक्ने विश्वास बैङ्कले व्यक्त गरेको छ ।

बेगबानीको बन्द पसलअगाडि आइतबारदेखि नै ग्राहकको भिड लाग्ने गरेको छ । उनको पसलमा सुनचाँदी धरौटी राखेर सर्वसाधारणले १३ करोडभन्दा बढी ऋण लगेको स्रोतको दाबी छ । बेगबानी सपरिवार भागेपछि धरौटीमा राखेको सुनचाँदी डुब्ने देखिएको छ । ग्राहकसित धरौटीमा लिएको सुनचाँदी बेगबानीले बैङ्कमा धितो राखेर ऋण उठाएका थिए ।

ठगिएका सर्वसाधारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी दुबैतिर पुगेका छन् । तर ठगीको मुद्दा प्रहरीले हेर्न नमिल्ने प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले तीन–चार जनाले उजुरी दिएको बताए ।