कम्पनी रजिष्ट्रारको कार्यालयमा इ-पेमेन्ट प्रणाली सुरु, साउनपछि घरबाटै कम्पनी दर्ता गर्न सकिने

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:२२ | Dec 11, 2018
कम्पनी रजिष्ट्रारको कार्यालयमा इ-पेमेन्ट प्रणाली सुरु, साउनपछि घरबाटै कम्पनी दर्ता गर्न सकिने

काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालयमा लाग्ने विभिन्न शुल्क तथा दण्ड जरिवानाबापतको रकम अनलाइनमार्फत तिर्ने प्राणली सुरु भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कम्पनी दर्ता गर्न लाग्ने सेवा ग्राहीको शुल्क अनलाइनमार्फत तिर्दै इ-पेमेन्ट प्रणालीको शुभारम्भ गरेका छन्।

Tata
GBIME
Nepal Life

इ-पेमेन्ट प्रणालीको सुरुवात गर्दै मन्त्री यादवले विश्वको जुनसुकै कुनाबाट पनि कम्पनीको कामका लागि लाग्ने शुल्क तिर्ने प्रणालीको सुरुवात भएको बताए। 'कार्यालयका कर्मचारी र सेवाग्राही दुवैलाई सहज हुने पारदर्शी कामको थालनी भएको छ। मैले मात्र चाहेर यो सम्भव हुने कुरा होइन,' उनले भने। 

संविधानले नै जनतालाई मालिक बनाएपनि कर्मचारीहरुले सेवा प्रवाह गर्दा बिचरा बनाएको यादवले आरोप लगाए। 'नेताहरु चुनावको बेला जसको पनि खुट्टा ढोग्ने र जस्तो काम पनि गर्छु भनेर बाचा गर्छन्, चुनावपछि फर्केर पनि जाँदैनन्,' उनले भने, 'कर्मचारी र नेता सबैले जनताको करबाट सुविधा भोग गरेपनि जनतालाई बिचरा बनाएका छन्।' 

केहि समय अघि एक कम्पनीको शेयर किनबेचमा कर्मचारीको मिलिमतो भएको भन्दै अख्तियारले समातेको स्मरण गर्दै यादवले भने, ‘कम्पनीको शेयर बाँडफाँड गर्दा सनाखत गराउनु है भनेर म मन्त्रालयमा आउने वित्तिकै भनेको थिएँ, साथीहरुले मानेनन् र अहिले मुद्दा लडिरहेका छन्।' 

उद्योग सचिव यमकुमारी खतिवडाले कार्यालयले आगामी साउन १ गतेदेखि अटोमेसनमा जाने तयारी गरेकोले चाहिने आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाइन। ‘धेरै सेवाग्राहीले धाइरहनुपर्ने ठाउँ भएकोले बाहिर नकारात्मक टिका टिप्पणी हुने गरेका छन्। तपाईंहरुले फुल्ली अटोमेसनमा जाने योजना बनाएर एक खुड्किलो चढ्नुभएको छ,' उनले भनिन्, 'थप कार्ययोजना बनाएर पठाउनुहोस, कर्मचारीलाई इन्सेन्टिभ खुवाउने गरि काम गर्नुस। मन्त्रालयको तर्फबाट कहाँ के पहल गर्नुपर्छ मन्त्रालय गर्न तयार छ।' 

अनलाइन पेमेन्ट गर्दा एक लाख रुपैयाँ बढी एक पटकमा पेमेन्ट गर्न नपाइने राष्ट्र बैंकको नियम भएकाले एक लाख रुपैयाँ बढी शुल्क तथा जरिवाना तिर्नुपर्ने भएमा भने स्वयं उपस्थित भएर तिर्नुपर्ने छ। अहिले भने एक लाख रुपैयाँसम्मको काम अनलाइनबाट गर्न सकिन्छ। त्यसका लागि नेपाल क्लियरिङ हाउससँग आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत तिर्न सकिन्छ। 

अन्य अनलाइन पेमेन्ट सेवा प्रादायहरुबाट पनि निकट भविष्यमै तिर्न सकिने व्यवस्था गर्न लागेको कम्पनी रजिष्ट्रार कार्यालयका लेखा अधिकृत अजय बर्तौलालले बताए। अहिले सेवाग्राहीले बैंकमा लाइन लाग्ने समयको बचत भएको छ। केहि समयपछि कार्यालयमा नै आउन नपर्ने गरि काम गर्न लागेको उनले बताए।

आगामी साउन १ गतेदेखि कम्प्युटर चलाउन सक्ने सेवा ग्राहीले घरमै बसेर कम्पनी दर्ता देखि नवीकरण र शेयर बाँडफाँडको काम पनि गर्न सक्ने बर्तौला बताउँछन्।  त्यसका लागि अव फागुन भित्रनै डिजिटल सिङ्नेचर सुरु गर्ने र ढलोमा साउन १ गतेसम्म पूर्ण स्वचालित अनलाईन प्राणलिको सुरुवात गर्ने उनले दावी गरे।