नक्कली एडिडास आयात गर्ने फर्म राजस्वको फन्दामा, भन्सार अधिकृतसम्मलाई कारबाही

बिजमाण्डू
२०७५ मंसिर २५ गते १६:४२ | Dec 11, 2018
नक्कली एडिडास आयात गर्ने फर्म राजस्वको फन्दामा, भन्सार अधिकृतसम्मलाई कारबाही

काठमाडौं। सरकारले नक्कली ब्राण्ड आयात गरि विक्रि गर्ने  फर्म तथा कम्पनीमाथि निगरानी बढाएको छ। अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएका सक्कली ब्राण्डका नाममा नक्कली सामान भित्र्याउने फर्ममाथि राजस्व अनुसन्धान विभागले निगरानी बढाएको हो।

Tata
GBIME
Nepal Life

एडिडास ब्राण्ड उल्लेख गरिएका नक्कली सामान आयात गर्ने फर्ममाथि विभागले कारबाही अघि बढाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। रसुवा भन्सार कार्यालयबाट जाँचपास भइ आएका सामान नियन्त्रणमा लिई अनुसन्धान गर्दा एडिडासको नाममा नक्कली सामान भित्र्याइएको पाइएको हो। 

मितेरी इन्टरनेशनलले नक्कली सामान भित्र्याएको थियो। त्यसरी सामान भित्र्याउँदा भएको राजस्व छली र त्यसबापतको जरिवानासमेत गरी ७५ करोड रुपैयाँ असुल गर्नुपर्ने विभागले जनाएको छ। विभागले रसुवाका भन्सार जाँचकी तथा भन्सार अधिकृतसहित सामान भित्र्याउने व्यवसयायीहरु सुमन श्रेष्ठ र रन्जनकुमार त्रिपाठी विरुद्ध मुद्दा दायर गरेको छ। 

उनीहरुले २३ हजार ७ सय २९ सेट एडिडास प्रिन्टेड गेम सेट आयात गरेका थिए। त्यसरी आयातित सामानको प्रज्ञापनपत्र र सामानमा फरक भेटिएको विभागले जनाएको छ। यस्तै प्रज्ञापनपत्रमा उल्लेख भएका केही भेष्ट तथा कट्टु पनि आयात नभएको पाइएको विभागले जनाएको छ। 

'ब्राण्डेडका नाममा नक्कली सामान आयात गर्ने र त्यसमा सघाउने राष्ट्र सेवक कर्मचारीहरु विरुद्ध मुद्दा दायर भएको छ,' मैनालीले भने। अर्थ मन्त्रालयले यसअघि ब्राण्डेड सामानका नाममा जुनसुकै सामान ल्याइए पनि भन्सारमा ब्राण्डेड सरह मूल्यांकन गर्ने निर्णय गरेको थियो।

नेपालमा एडिडासको आधिकारिक विक्रेता रुट्स फेसन छ। रुट्स फेसनले दरवारमार्ग, सिटिसेन्टर कमलपोखरी, जावलाखेल, सिभिल मल सुन्धारा, व्लुवर्ड मल र पोखरामा आफ्नो शोरुम खोलेको छ।