अर्थमन्त्रीले बनाएको समितिको बैठक: पुँजी बजारमा मार्केट मेकरको खोजी, प्रतिवेदन टुंगिन बाँकी

बिजमाण्डू
२०७५ मंसिर २५ गते १७:१४ | Dec 11, 2018
अर्थमन्त्रीले बनाएको समितिको बैठक: पुँजी बजारमा मार्केट मेकरको खोजी, प्रतिवेदन टुंगिन बाँकी

काठमाडौं। पुँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन गठित समितिको दोस्रो बैठक मंगलबार बसेको छ। मंगलबारको बैठकमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा पुँजी बजारमा काम गराउने, बैंक तथा वित्तीय संस्थालाई शेयर ब्रोकरको लाइसेन्स दिने लगायतका विषयमा छलफल भएको छ। 

Tata
GBIME
Nepal Life

मंगलबारको छलफलमा मार्केट मेकरको भूमिकामा कुनै पनि संस्था नहुँदा बजारमा भइरहेको उतारचढावबाट लगानीकर्ता आत्तिएकाले कोषलाई त्यसको भूमिकामा काम गराउने विषयमा छलफल भएको एक सहभागीले बताए। यद्यपि, यसबारे निर्णय भने भइसकेको छैन। 

गत विहीबार गठित समितिको आइतबार पहिलो बैठक बसेको थियो। बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा समिति संयोजक शिवराज श्रेष्ठले बैंक तथा वित्तीय संस्थालाई ब्रोकरको लाइसेन्स दिन कुनै समस्या नरहेको बताएका छन्। 

बैठकमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस विषयमा भएका प्रगति र समस्या समाधानका लागि गर्नुपर्ने काम तत्काल अघि बढाउन सम्बद्ध पक्षलाई आग्रह गरेका थिए। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समस्या समाधानका लागि बोर्ड तयार रहेको उल्लेख गरेका छन्। 

बैठकमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको ती सहभागीले बताए। समितिले यी विषयमाथि छलफल गरी तोकिएको अवधिमा प्रतिवेदन तयार गर्ने गरी काम गरिरहेको पनि सहभागीले बताएका छन्।