एनआइसी एसिया बैंकले कसरी उछिन्यो ‘बिग फोर’ बैंकलाई, पूँजी वृद्धि योजना ‘टर्निङ प्वाइन्ट’

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७५ मंसिर २६ गते १२:०६ | Dec 12, 2018
एनआइसी एसिया बैंकले कसरी उछिन्यो ‘बिग फोर’ बैंकलाई, पूँजी वृद्धि योजना ‘टर्निङ प्वाइन्ट’


काठमाडौं। दुई ठूला 'पर्सनालिटी' जोडिएका कारण नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सँधै व्यापारमा तुलना हुने गर्छ। खासगरी नाफामा 'लिड' गर्न यी दुई बैंकको ब्यवस्थापन र सञ्चालक समितिबीच घोषित/अघोषित प्रतिस्पर्धानै छ।

Tata
GBIME
Nepal Life

नबिल बैंकका बिनोद चौधरी समूहको लगानी छ। इन्भेष्टमेन्ट बैंकमा पृथ्वीबहादुर पाण्डे छन्। तत्कालिन इन्डोसेज (अहिलेको इन्भेष्टमेन्ट)को शेयर विदेशीबाट किन्ने बेलामा यी दुई समूहबीच ठूलै प्रतिस्पर्धा चल्यो। त्यही भएर पनि नबिल र इन्भेष्टमेन्टबीच हरेक बिषयमा जित्ने होडबाजीजस्तै चल्छ।

पाँच बर्षयताको तथ्यांकलाई तुलना गर्दा पनि बैंकबीच निक्षेप, ऋण विस्तार र नाफामा चर्को प्रतिस्पर्धा चलेको देखिन्छ। तर, पछिल्लो तीन बर्षयता अवस्था फेरिएको छ। कुनै बेलाको 'फुच्चे' एनआइसी एसिया बैंकले व्यापार बिस्तारमा यी दुबै बैंकलाई पछि पारिसकेको छ।

सस्तो स्रोत लागत (कस्ट अफ फण्ड) भएका कारण नबिलको नाफा स्वभाबिक रुपमा उच्च हुने गरेको थियो। व्यापार विस्तारका कारण बीचबीचमा नेपाल इन्भेष्टमेन्ट बैंकले नबिललाई पछि पार्थ्यो। परम्परागत रुपमै यी प्रतिस्पर्धी बैंकलाई एनआइसी एसियाले उछिनेको छ। एनआइसी एसियाको टर्निङ प्वाइन्ट भने राष्ट्र बैंकको पूँजी वृद्धि योजना भएको छ।

निक्षेपको आधारमा

'पूँजी वृद्धि योजनापछि हामीले बैंकलाई नयाँ ढंगबाट अगाडि बढायौं' बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले केही समयअघि कुराकानी क्रममा भनेका थिए, 'हाम्रा लागि पूँजी वृद्धि मार्ग निर्देशन जस्तै बन्यो।'

तुलना गरौं निक्षेपबाट। आर्थिक बर्ष २०७१/७२ को पहिलो त्रैमासमा एनआइसी एसिया बैकसँग करिव ४७ अर्ब रुपैयाँ निक्षेप थियो। त्यसबेला नेपाल इन्भेष्टमेन्ट बैंकसँग ७५ अर्ब निक्षेप थियो भने नबिलसँग ८१ अर्ब रुपैयाँ हाराहारी थियो।

तर आर्थिक बर्ष२०७४/७५को तेस्रो त्रैमाससम्म आइपुग्दा अवस्था फेरिसकेको थियो। एनआइसी एसियाले निक्षेपमा सुधार गरेर १२० अर्ब पुर्यायो भने नबिलले १२१ अर्ब र नेपाल इन्भेष्टमेन्ट बैंकले १३० अर्ब पुर्यायो। त्यही आर्थिक बर्षको चौथो त्रैमासमा एनआइसी एसियाले नबिल र इन्भेष्टमेन्ट बैंकलाई उछिनेर निक्षेप १५१ अर्ब पुर्यायो। जबकी नबिल १३६ र इन्भेष्टमेन्ट १४० अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गर्न सफल भयो।

ऋणका आधारमा

ऋण लगानीमा पनि निक्षेपजसरी नै एनआइसी एसियाले दुई ठूला बैंकलाई उछिनेर नम्बर १ भइसकेको छ। गत आर्थिक बर्ष एनआइसी एसियाले ऋण बढाएर १२१ अर्ब पुर्याएको थियो। जबकी इन्भेष्टमेन्टको १२० अर्ब छ भने नबिलको ११३ अर्ब रुपैयाँ  छ। चालु बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एनआइसीले १३९ अर्ब ऋण लगानी गरिसकेको छ। इन्भेष्टमेन्टको १२५ र नबिलको १२८ अर्ब रुपैयाँ ऋण पुगेको छ।

पूराना बैंकरहरु एनआइसी एसियाको व्यापार विस्तारलाई लिएर मिश्रित धारणा राख्छन्। बैंकिङमै रहेका अधिकांस भने एनआइसीको वृद्धिलाई अस्वभाविक मान्छन्। 

'मेरो ब्यक्तिगत धारणमा एनआइसी एसियाले राष्ट्र बैंकको पूँजी वृद्धिलाई सही ढंगले अगाडि बढाएको हो जस्तो लाग्छ' पुराना बैंकर सुमन जोशीले भने, 'अरुले पूँजी वृद्धिको लयलाई समात्न सकेनन्।' जोशीका अनुसार, एनआइसीको रणनीति सफल हुन्छ कि असफल हुन्छ भनेर आउँदो चार/पाँच बर्ष भने हेर्नु पर्ने हुन्छ।

एनआइसी एसियाको वृद्धि जोशीलाई जसरी सकारात्मक लाग्छ केही पुराना बैंकरलाई उच्च जोखिम लिएको हो कि भन्ने पनि लाग्छ। 'छोटो अबधिमा उच्च दरले ऋण विस्तार भएको छ। त्यो ऋण ब्यवस्थापन गर्ने तहमा छ कि छैन भन्ने महत्वपूर्ण बिषय हो' केही बर्षदेखि बैंकिङ क्षेत्रबाट निष्कृय रहेका एक चर्चित बैंकरले भने।

नाफाका आधारमा

व्यापार विस्तारमा एनआइसी एसिया नम्बर १ भइसके पनि नाफामा भने तल देखिएको छ। गत बर्षको नाफालाई तुलना गर्दा एनआइसी एसियाको एक अर्ब ५२ करोड मात्र छ। जबकी इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ९६ करोड छ भने नबिलको ४ अर्ब १९ करोड रुपैयाँ छ। एनआइसी एसियाको स्रोतको लागत महँगो छ। यसले गर्दा उसको ब्याज खर्च उच्च हुन्छ र नाफामा कमी आएको देखिन्छ।   

ठूला बैंकहरुको सूचीमा हिमालयन र एभरेष्ट बैंक पनि पर्छन्। नबिल र इन्भेष्टमेन्टभन्दा पछि रहे पनि यी  दुई बैंकबीच भने भिन्नैखालको प्रतिस्पर्धा हुने गरेको छ। पूँजी वृद्धिपछि हिमालयन बैकलाई एभरेष्टले उछिनिसकेको छ। 

निक्षेप र ऋण लगानी दुबैमा एभरेष्टले हिमालयनलाई उछिनेको छ। यी बैंकलाई एनआइसी एसियाले गत आर्थिक बर्षको दोस्रो त्रैमासबाटै उछिनेको थियो। नाफामा भने यी सबै बैंकभन्दा एनआइसी एसिया पछाडि नै छ। तर सबैलाई वासलात आकारमा एनआइसी एसियाले पछाडि छाडिदिइसकेको छ।