टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी, जापानको सफ्ट बैंक र अलिबाबाले दियो ऋण

रासस
२०७५ मंसिर २६ गते १४:४३ | Dec 12, 2018
टोकोपेडीयाले जुटायो एक अर्ब १० करोड डलर लगानी, जापानको सफ्ट बैंक र अलिबाबाले दियो ऋण



जकार्ता। इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ ।

Tata
GBIME
Nepal Life

नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्नेछ । कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ ।

एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ठूला लगानीकर्ताहरुले फस्टाउँदो इन्डोनेसियाली प्रविधि कम्पनीहरुमा अर्बौं डलर लगानी गर्दैछन् ।  एक दशकअघि मात्र स्थापना भएको टोकोपेडीयाले तत्कालका लागि इन्डोनेसियामै केन्द्रित रहने जनाएको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा तिब्र गतिमा मध्यम वर्गीय समाजको उदय भइरहेको छ ।

“कम्पनीले नयाँ लगानीबाट प्रविधि र पूर्वाधार निर्माण गर्नेछ । यसले लाखौं स्थानीय व्यवसायलाई प्रगतिका लागि थप मद्दत गर्नेछ,” टोकोपेडीयाको वक्तव्यमा उल्लेख छ ।

विश्वको अन्य कुनै क्षेत्रकोभन्दा दक्षिण पूर्वी एसियामा इन्टरनेटको प्रयोग बढेको विभिन्न अनुसन्धानमा देखिएको छ । सन् २०२० सम्ममा यस क्षेत्रमा ४८ करोड मानिसमा इन्टरनेटको पहुँच पुग्नेछ । सन् २०१६ मा यो संख्या करिब २६ करोड थियो ।