धावनमार्ग विस्तारका लागि आएको चिनियाँ कम्पनी पाखा लाग्यो, कालिका ठेक्का दिने विषय अन्योलमै

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ मंसिर २६ गते १६:२३ | Dec 12, 2018

काठमाडौं। त्रिभुवन विमानस्थलको धावनमार्ग सुधार आयोजनाको ठेक्का सम्झौता अन्यौलमा परेको छ। बोलकबोलमा पूर्वमन्त्री एवं ठेकेदार बिक्रम पाण्डेको कम्पनी छनौट भएपनि पाण्डेमाथि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण दोधारमा परेको हो। 

Tata
GBIME
Nepal Life

विमानस्थलको धावनमार्ग पुनर्स्थापनाका लागि गराइएको प्रतिस्पर्धामा पाण्डेको कालिका कन्सट्रक्सन र तुन्दी कन्सट्रक्सनको जोइन्ट भेन्चर छनौट भए पनि पाण्डेमाथि भ्रष्टाचारको मुद्दा लागेपछि अन्तिम निर्णय हुने सकेको छैन। 'चिनियाँ कम्पनीसँग ठेक्का तोडिएपछि भएको प्रतिस्पर्धामा कालीका तुन्दीको जोइन्ट भेन्चर छनौट भए पनि पूर्वमन्त्री पाण्डेमाथि मुद्दा लागेपछि हामीले अन्तिम निर्णय गर्न सकेका छैनौँ,' प्राधिकरकणका एक अधिकारीले भने। 

विमानस्थलको धावनमार्ग पुनर्स्थापना लागि भने गत कात्तिक १६ गते चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता गरेको थियो। सम्झौता भएपछि यो कम्पनीलाई आवश्यक जनशक्ति, उपकरण, निर्माण सामग्री जुटाउन र पूर्व तयारीका लागि चार महिना समय दिइएको थियो। तर एक महीना नबित्दै चिनियाँ  कम्पनी पनि  पाखा लागेको स्रोतको भनाइ छ।  

चिनियाँ ठेकेदार चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसनसँगको ठेक्का सम्झौता तोडेर प्राधिकरणले नयाँ प्रक्रिया थालेको थियो। प्राधिकरणले ऊसको बैंक ग्यारेन्टी जफतको प्रक्रियासमेत अघि बढाइसकेको छ। प्राधिकरण विरुद्ध चिनियाँ ठेकेदारले दायर गरेको मुद्दा अहिले अदालतमा विचाराधीन छ। 

पाण्डेमाथि परेको मुद्दाका कारण धावनमार्ग पुनर्स्थपनाको समग्र काममा पर्न सक्ने प्रभावबारे प्राधिकरणले विश्लेषण गरिरहेको ती अधिकारीले जानकारी दिए। 'यो कम्पनीलाई ठेक्का दिँदा कानुनी असर पर्छ कि पर्दैन भन्ने विषयमा हामी अध्ययन गरिरहेका छौँ,' स्रोतले भन्यो। 

६ वर्ष अगाडि स्पेनी कम्पनी सान्जोसेसँग विमानस्थल विस्तारको सम्झौता भएको थियो। तर उसले काम अघि नबढाएपछि चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेसन प्रवेश गरेको थियो। सान्जोसे बाहिरिएपछि विमानस्थल विस्तारको कामलाई चार भागमा बाँढिएको छ। अरु तीन क्षेत्रमा काम अघि बढे पनि विमानस्थल पुनर्स्थापनाको काम भने सुरु हुन सकेको छैन।