एनएफआरएसका कारणले बीमा कम्पनीको साधारणसभा पर सर्यो, पुँजी वृद्धिको समयावधि ६ महिना थपिने

बिजमाण्डू
२०७५ मंसिर २६ गते १७:५५ | Dec 12, 2018
एनएफआरएसका कारणले बीमा कम्पनीको साधारणसभा पर सर्यो, पुँजी वृद्धिको समयावधि ६ महिना थपिने

काठमाडौं। बीमा कम्पनीहरुले गत आर्थिक वर्षदेखि अनिवार्यरुपमा एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार पार्नुपर्ने भएपछि साधारणसभा थप धेकेलिने भएको छ। साधारणसभा धकेलिएसँगै बीमक संघले बीमा समितिमा पुँजी जुटाउन थप ६ महिना समय दिन अनुरोध गरेको छ। 

Tata
GBIME
Nepal Life

बीमक संघले बजारमा क्रेडिट क्रन्च हुँदा संस्थापकहरुले आवश्यक शेयर पुँजी जुटाउन नसकेको भन्दै म्याद थपको अनुरोध गरेका हुन्। बैंकको ब्याजदर उच्च हुँदा तथा शेयर बजार तल झर्दा संस्थापकहरुलार्इ पुँजी जुटाउन सकस भइरहेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुमा पुँजी जुटाउन संस्थापकहरुले बीमा कम्पनीहरुको शेयर बेचेर आवस्यक पुँजी जुटाउन सफल भएका थिए। तर पछिल्लो समय समग्र शेयर बजार नै तल झर्दा एक क्षेत्रको शेयर बेचर अर्को क्षेत्रमा पुँजी जुटाउन गाह्रो भएको हो। 

साधारणसभा ढिलाइ हुँदा बीमा कम्पनीहरुले बोनस शेयर वितरण गर्न नसक्ने भएकाले ६ महिनाको म्याद थप गर्न सकिने चापागार्इंले बताए। उनले भने, 'बीमा कम्पनीहरुको माग जायज छ। उनीहरुको मागलार्इ सम्बोधन गर्दै समितिले केहि दिन भित्रमा ६ महिनाको म्याद थप गर्ने निर्देशन दिन्छ।' 

एनएफआरएस प्रणालीअनुसार गएका पाँच आर्थिक वर्षको वित्तीय विवरणलार्इ समेत हेर्नुपर्ने हुन्छ। साथै सम्पत्ती तथा दायित्वको मूल्याङ्कनको लागि निर्जीवन बीमा कम्पनीहरुले समेत एक्चुरियल भ्यालुएसन गर्नुपर्ने भएपछि वित्तीय विवरण तयार पार्न ढिलाइ भएको हो। जीवन बीमा कम्पनीहरुले पहिलेदेखि नै एक्चुरियल भ्यालुएसन गर्ने भएकाले कुनै समस्या नभएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले बताए। 

बीमा समितिले गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुलार्इ न्यूनतम चुक्ता पुँजी दुर्इ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब रुपैयाँ पुर्याबउन निर्देशन दिएको थियो। समितिले गत असारसम्ममा पुँजी जुटाउन निर्देशन दिएको भए पनि केहि बीमा कम्पनीले मात्रै पुँजी जुटाउन सफल भएको र अधिकांश कम्पनीहरुले नसकेकाले पुष मसान्तसम्म म्याद थप गरेको थियो। 

तर अहिलेसम्म जीवनतर्फ नेपाल लाइफ र नेशनल लाइफले मात्रै पुँजी जुटाएका छन्। त्यस्तै निर्जीवनतर्फ हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले मात्रै पुँजी जुटाएका छन्। अधिकांश निर्जीवन बीमा कम्पनीहरुले बोनस शेयरमार्फत पुँजी जुटाउने योजनामा छन्। साथै केही कम्पनीले अझै हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ। 

पुँजी नजुटाउने तथा पुँजी वृद्धि योजना सार्वजनिक नगर्ने विदेशी बीमा कम्पनीहरुलार्इ पुँजी नजुटाएसम्म लाभांश लैजान नदिने समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि योजना सार्वजनिक गरेका छैनन्। 

त्यस्तै राष्ट्रिय बीमा संस्थान पनि पुँजी जुटाउन सरकारको मुख ताकेर बसिरहेको छ। अधिकांश बीमा कम्पनीले योजना अनुसार पुँजी जुटाउने देखिएकाले आवश्यकताअनुसार म्याद थप गर्दै जाने पक्षमा बीमा समिति रहेको छ।