युपीका मुख्यमन्त्री आदित्यनाथसँग वीरगंजका व्यवसायीले फुकाए समस्याको पोको

बिजमाण्डू
२०७५ मंसिर २६ गते १७:५७ | Dec 12, 2018


Photo: twitter.com/IndiaInNepal

Tata
GBIME
Nepal Life

वीरगंज। विवाह महोत्सवमा अयोध्याबाट जनकपुर आइपुगेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई वीरगंजका व्यवसायीहरूले आफ्नो समस्या सुनाएका छन्।

जनकपुरधाम आइपुगेका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न वीरगंजका व्यवसायीहरू जनकपुर पुगेका थिए। उनी आज बिहान पौने ११ बजे जनकपुर ओर्लिएका थिए। जनकपुर विमानस्थलमा ओर्लिएका उनी त्यहाँबाट सिधै जानकी मन्दिर पुगे। त्यहाँ पूजा गरे।

पूजा सकेका मुख्य मन्त्री आदित्यनाथसँग केही समय वीरगंजका उद्योगी व्यवसायीहरूले भेट गर्ने कार्यक्रम तय गरिएको थियो।  भेटमा उद्योगी व्यवसायीहरूले नेपाल भारतको व्यापार घाटा, भारतमा लागु भएको जिएसटीले नेपाली उद्योगी तथा व्यवसायीलाई परेको समस्याका योगीलाई जानकारी गराएका थिए।

त्यस्तै नेपालमा समान लिएर भारतीय गाडी निर्वाध आउन सक्ने तथा नेपाली गाडी समान लिएर जाँदा विभिन्न समस्याहरू रहेको भन्दै समस्या समाधान गर्न मुख्यन्त्री योगीसँग आग्रह गरेका थिए।

व्यवसायीहरूले दुई देशबीचको पारवहन सम्झौतालाई सहज बनाउन तथा रामायण सर्किट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मुख्य मन्त्री योगीसँग छलफल भएको छलफलमा सहभागी एक उद्योगीले पहिलोपोस्टलाई जानकारी दिए।

प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय ‘मधेस भवन’मा आदित्यनाथलाई भेट्न पुगेका उद्योगी यवसायीहरुले नेपाल–भारतको उद्योग, व्यवसायका समस्याका विषयमा उनलाई जानकारी गराए।

वीरगंजका उद्योगी बाबुलाल चचान, आम्ताराम काबरा, हिरालाल केडिया, वीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोपाल केडिया,वरिष्ठ उपाध्यक्ष सुबोध गुप्तालगायत मुख्यमन्त्री योगीलाई भेट्न पुगेका थिए।

‘प्रधानमन्त्रीको दूत बनेर आएको हुँ’

विवाह महोत्सवको क्रममा भारतको अयोध्याबाट जन्ती लिएर आएका योगीले आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर जन्ती लिएर जनकपुर आइपुगेको बताएका छन्।

‘मधेस भवन’मा आयोजित दिवाभोजको क्रममा प्रदेश सरकारका मन्त्री तथा विशिष्ट व्यक्तित्वहरूसँगको शिष्टाचार भेटघाटमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘मोदीको दूत बनेर यसपालि मैले बरात (जन्ती) लिएर माता जानकीको नगरी जनकपुर आएको हुँ, यो मेरो लागि खुसी र भाग्यको कुरा हो,’ उनले भने,‘यहाँको विशेष स्वागत तथा परम्परागत विधिबाट म प्रभावित भएको छु। यो यात्राले नेपाल–भारतको धार्मिक पर्यटनमा विशेष योगदान पुर्‍याउने छ।’

उनले त्रेता युग देखि मनाइँदै आएको विवाह महोत्सव आगामी वर्षमा पनि थप आकर्षक र धूमधामका साथ मनाउने बताए।मुख्यमन्त्री योगीसँग समकक्षी लालबाबु राउत, प्रदेश सभामुख सरोजकुमार यादव,भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित मन्त्रिपरिषद्का सदस्यले भेटघाट गरेका थिए।

मधेस भवनमा योगीको विशेष स्वागत

जनकपुर आइपुगेका मुख्यमन्त्री आदित्यनाथलाई ‘मधेस भवन’मा विशेष स्वागत गरिएको थियो। जानकी मन्दिरको दर्शन पूजापाठ सकाएर मधेस भवन पुगेका योगीको विशेष स्वागत तथा अभिनन्दन गरिएको थियो। दिवाभोजमा भारतबाट आएका जन्तीहरूलाई ५६ व्यञ्जनको परिकार खुवाइएको थियो।

मधेस भवनबाट मुख्यमन्त्री योगी रंगभूमि बाह्र बिघा मैदानमा हुने स्वयम्बर समारोहमा सहभागी हुन पगे। स्वयम्बरबाट डोली लिएर पुनः योगी आजै साँझ भारतको अयोध्या फर्किने कार्यक्रम छ। जनकपुरबाट पटना हुँदै उनी अयोध्या पुग्ने छन्। पटनामा उनले विहारका मुख्यमन्त्री नितिस कुमारसँग भेट गर्ने कार्यक्रमसमेत रहेको छ।

दिवा भोजसँगै मधेसी नेतासँग भेटघाट

आदित्यनाथ योगीले निवास भोजकै क्रममा मधेसवादी दलका नेताहरूसँग भेटघाट गरेका छन्। उनले राजपा नेपालका संयोजक राजेन्द्र महतो, नेता महन्त ठाकुर, अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका नेता राम सहाय यादवलगायतसंग छुटै भेटेका थिए।

मुख्यमन्त्रीको स्वागतमा पुगे केन्द्रीय मन्त्री

यसैबीच मुख्यमन्त्री योगीको स्वागत र सम्मानका लागि काठमाडौंबाट नागरिक उड्ययन, पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारी जनकपुर पुगेका थिए। मन्त्री अधिकारीले मुख्यमन्त्री योगीसँग 'मधेस भवन'मा भेट गरेका थिए।

यता मुख्यमन्त्री आदित्यनाथले प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थसँग शिष्टाचार भेट गरेका छन्।