पूर्व पश्चिम राजमार्गको बैकल्पिक बाटो तयार हुँदै, कोशीको पुलले नयाँ जीवन दियो

दिनेश खड्का/बिजमाण्डू
२०७५ मंसिर २८ गते १६:११ | Dec 14, 2018
पूर्व पश्चिम राजमार्गको बैकल्पिक बाटो तयार हुँदै, कोशीको पुलले नयाँ जीवन दियो


सुनसरी। पुर्व-पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण थालिएको धरान चतरा वैकल्पिक मार्ग अन्तिम चरणमा पुगेको छ। 

Tata
GBIME
Nepal Life

एसियाली विकास बैक (एडिबी)  सहयोगमा २०१४ बाट निर्माण सुरु पहिलो चरणको सडक सेप्टेम्वरमा पुरा भएको छ। यो ६१.२३९ किलोमिटरको हो, जुन सुनसरीको नडाहाबाट सुरु भएर उदयुपरको रामपुर, सप्तरीको फत्तेपुर हुँदै कन्चनपुरमा पुगेर पूर्वपश्चिम राजमार्गसँग जोडिन्छ। निर्माण गर्नुपर्ने १८ वटा पुल निर्माण पुरा भएर संचालनमा आइसकेका छन्।

आयोजनाले थप डिजाइन र सर्भे गरेर यहि नडाहाबाट करिव १२ किलोमिटर पकलीसम्म सडक विस्तारको काम सुरु गरेको छ। धमाधम सडक विस्तारको काम भइरहेको एडिबीका प्रोजेक्ट अफिसर (ट्रान्सपोर्ट) नरेश प्रधानले जानकारी दिए। 

उनका अनुसार यो खण्डमा अहिले संचालनमा रहेको सडकको स्तरोन्नति गर्न लागिएको हो। एडिबीका अनुसार दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग-सडक संजाल परियोजना अन्तर्गत सडक निर्माण गरिएको हो। यो वैकल्पिक मार्ग सुनसरीमा २४ किलोमिटर,उदयपुरमा ३३.२० किमि, सप्तरीमा १६.०३९ किमि पर्दछ।

निर्माणको जिम्मा सिटिसिई-कालीका जेभीले पाएर काम गरिरहेका छन्। निर्माण कम्पनीले समयमा नै गुणस्तर कायम गरेर काम गरिरहेको एडिबीले जनाएको छ। त्यस्तै आपतकालीन बाढीजन्य क्षति पुनर्स्थापना परियोजना अन्तर्गत चतरास्थित कोशीमा पुल निर्माण गरिएको छ। करिव २६१ मिटर लामो स्ट्रिल ट्रष्ट व्रिज निर्माण गरिएको छ। जसको क्यारिज वे मुनी स्ट्रक्चरसँगै ट्रष्ट राखिएको छ। 

१० बर्षअघि सत्तकोशी नदीको तटबन्ध भत्किएर बाढीले पुर्व-पश्चिम राजमार्ग भत्काउँदा करिव तीन महिनाभन्दा बढी सडक अवरुद्ध बनेको थियो। त्यतिवेला वैकल्पिक मार्ग नभएका कारण पश्चिमी जिल्ला र काठमाडौं पुग्नका लागि भारतको बाटो प्रयोग गर्नुपरेको थियो। त्यहि कठिन परिस्थितिलाई ध्यानमा राखेर वैकल्पिक मार्गको रुपम धरान चतरा सडक विस्तार सुरु गरिएको हो। 

त्यसैगरी सडक विभाग अन्तर्गतको उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाले यो सडकलाई हेटौंडासम्म विस्तार गर्ने काम धमाधम गरिरहेको छ। उदयपुरको बसाहादेखि हेटौडसम्म करिव ३ सय १८ किमी सडक विस्तारको काम गरिरहेको सडक विभागका इन्जिनियर केशव ओझाले जानकारी दिए।

उनका अनुसार करिव ४५ प्रतिशत निर्माण कार्य पुरा भएको छ। समयमै सकिने उनको दाबी छ। २०७६ मा निर्माण सक्ने लक्ष्य राखिएको छ। यसलाई वैकल्पिक मार्ग भएकाले विशेष  प्राथमिकतामा राखेर काम भैरहेको आयोजनाले जनाएको छ।

'पुलले नयाँ जीवन पायौ'
२०७० साल श्रावण २१ गते आएको बाढीले बेलका नगरपालिका कोठगाउँका तिलकबहादुर राईको २० बर्षे छोरालाई बगायो। त्यतिवेला वारिपारि गर्नका लागि पुल थिएन। नाउ खियाउनु पर्थ्यो। मानिसहरु वारपारि गर्नका लागि कोशीमा नाउ नै बगायो। बगाएपछि उनका छोरा उद्धारका लागि कोशीमा पसेका थिए। उनले केहि मानिसको उद्धार पनि गरे। तर उनी आफैलाई बाढीले वेपत्ता बनायो। तिलकबहादुर राईका छोरा जस्तै कयौंले यसरी वारिपारि गर्दा ज्यान गुमाउनु परेको थियो।

'त्यतिवेला पुल भएको भए त्यो घटना हुने थिएन अहिले पुल बनेको छ मेरो छोराको जस्तो दुरगति कसैको हुँदैन हामीले नयाँ जीवन पाएका छौ' राईले भने। बेलका नगरपालिका मानिसहरु नयाँ जीवनको पाएको राईको भनाई छ।

आयोजनासँग मिलेर एकिकृत समाज विकास नेपालले त्यहाँ स्थानीयहरुको जीवीकोपार्जन र क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु संचालन समेत गरेको छ। सिप विकासका लागि १६ जनालाई ह्याण्डी क्य्राफ्ट, २१ जनालाई भेजिटेवल फार्मिङ, १९ जनालाई फिस फार्मिङ, १५ जनालाई व्युटीपार्लर, २५ जनालाई होमस्टे, १५ जनालाई नेचर गाइड, १३ जनालाई एग्रो फोरिष्टी सम्वन्धि तालिम दिएको छ। जसबाट अहिले त्यहाँका मानिसहरुको आर्थिक अवस्थामा सुधार आएको एकिकृत समाज विकास नेपालका टिम लिडर छोटेलाल चौधरीले जानकारी दिए।

त्यहिँबाट तालिम लिएर गत बर्षबाट रमेश चौधरीले माछापालन सुरु गरेका छन्। उनलाई आयोजनाले तालिम मात्रै दिएन १ लाख रुपैयाँ अनुदान समेत दियो। जसका कारण अहिले उनले दुईवटा पोखरीमा माछा पालेका छन्। १ लटमा १ लाख ९२ हजार रुपैयाँ आम्दानी हुने गरेको बताए। यसमा ५६ हजार खर्च हुने गरेको छ। बाँकी उनको आफ्नो कमाई हो। 

यसअघि थौरै माछा पालेको भए पनि अहिले व्यवसायिक हिसावले पाल्न थालेका छन्।

त्यहिबाट तालिम लिएर पूर्वपिप्रा धरमपुर घोघनपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति बनाएर सप्तरीमा होम स्टे संचालन सुरु भएको समितिका अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिए। उनका अनुसार अहिले यी बस्तीका मानिसहरुले होम स्टे संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन्।

चौधरीका अनुसार सडक बन्नुअघि यहाँ जान आउन समेत कठिन थियो। प्रकृतिले भरिपुर्ण भएकाले अहिले होम स्टे संचालन गर्न सकिएको हो।

त्यस्तै यसले प्रसिद्ध धार्मिक बराहक्षेत्र जानका लागिसमेत सहज बनाएको छ। कोशीपुलबाट ६ किलोमिटर पर्दछ। यो सडकले खोटाङको हलेसी, धरानको पिण्डेश्वरी जानका लागि समेत सहज बनाएको छ।

यो सडकले पर्यटकीय महत्व समेत राखेको एडीबीले जनाएको छ। सडक र पुलले यहाका मानिसको जीवनमा सुधार ल्याएको छ। रोजगारीको अवसर बढेको,सडक निर्माण भएपछि कृषिजन्य उत्पादनले बजार पाएको, सिपमुलक तालिम पाएपछि स्थानीयले आयस्रोत बढाएको छ। सडक निर्माणपछि यहाका मानिसहरुको जीवनमा पहिलेको तुलनामा सुधार र खुसी ल्याएको छ।