विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा अत्याधुनिक सिनेमा हल, शनिबारदेखि सञ्चालनमा आउने

बिजमाण्डू
२०७५ मंसिर २८ गते १९:४२ | Dec 14, 2018
विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा अत्याधुनिक सिनेमा हल, शनिबारदेखि सञ्चालनमा आउने



विराटनगर। विराटनगरको मेन रोडमा १ सय करोडको लगानीमा निर्माणाधीन सेन्ट्रल मल्टिप्लेक्समा शुक्रबारदेखि सिनेमा हल सञ्चालन गरिएको छ ।

Tata
GBIME
Nepal Life

विशाल ग्रुप, देवेनरा मुन्दडा समूह र हाइलाइफ समूहको संयुक्त लगानीमा १६ कठ्ठा जमिनमा अत्याधुनिक र अन्तर्राष्ट्रिय स्तरको मल्टिप्लेक्स निर्माणाधीन छ । मल्टिप्लेक्सको पूर्ण सञ्चालन हुन अझै ४ महिना लाग्ने बताइएको छ ।एक सय भन्दा बढी पसल रहने दुई तले मल्टिप्लेक्समा ११ करोडको लगानीमा सिनेमा हल निर्माण गरिएको सञ्चालक प्रकाश मुन्दडाले बताए ।

विराटनगरमा सिटी सिनेमापछि अत्याधुनिक शैलीको यो दोस्रो सिनेमा हल हो । विराटनगरकै भाटभटेनी सुपर मार्केटमा सिनेमा हलका लागि क्युएफएक्सले काम सुरु गरिसकेको छ । भाटभटेनीमा सिनेमा हल सञ्चालन हुन ६ महिनाभन्दा बढी लाग्ने छ ।मुन्दडाका अनुसार पूर्णतः वातानुकूलित सिनेमा हलमा २ सय ५० दर्शक अटाउने क्षमताका २ वटा छुट्टाछुट्टै हल छन् । हलमा हाटनेस कम्पनीको स्क्रिन, जेबिएल कम्पनीको स्पिकर तथा टुडी र थ्रीडी प्रोजेक्टर रहेको सञ्चालकले जनाए ।

सिनेमा हलमा फायर अलार्म, अग्नि नियन्त्रक सेट, ठूला लबी, चमेना गृह र प्राथमिक उपचार केन्द्रसमेत छन् ।सञ्चालक मुन्दडाले नेपाली सिनेमाको टिकट दर २ सय ५० तथा भारतीय र अन्य भाषाका सिनेमाको टिकट दर ३ सय ५० देखि ५ सय सम्म राखिने जानकारी दिए।

ग्राहकको अवस्था र मागअनुसार हललाई बिहान ८, मध्याह्न १२, अपराह्न ३ र साँझ ६ बजेको सो सम्म चलाइने उनले उल्लेख गरे ।शनिबारदेखि व्यावसायिक रूपमा चलाइने हलको एउटा हलमा ‘कथा ७२’ र अर्कामा ‘सुश्री सम्पत्ति’ देखाइने छ । शुक्रबारको ‘प्रेस सो’–मा ‘छक्कापञ्जा–३’ देखाइएको थियो ।

सिनेमा हलको उद्घाटन गर्न नेपालका प्रसिद्ध कलाकारद्वय दीपक गिरी र दीपाश्री निरौला आइपुगेका थिए ।उनले नेपालको तराई र सीमान्त क्षेत्रमा पनि नेपाली भाषाका चलचित्र राम्ररी चलिरहेको चर्चा गर्दै यसले कलाकार वर्ग खुशी भएको बताए ।अर्का कलाकार दीपाश्रीले गृहनगर विराटनगरका लागि आफू सेलिब्रेटी नभई चेलिबेटी भएको सुनाउँदै अत्याधुनिक र उच्च स्तरका सिनेमा हलको सञ्चालनले नगरको स्तर वृद्धि भएको धारणा व्यक्त गरिन्।