विदेशीलाई लक्षित गरेर बर्दिया निकुञ्जमा खुल्यो ‘गुन्द्रुक’ रिसोर्ट, पाटे बाघ देखाउन जंगल सफारी

बिजमाण्डू
२०७५ पुष १ गते ०९:११ | Dec 16, 2018
विदेशीलाई लक्षित गरेर बर्दिया निकुञ्जमा खुल्यो ‘गुन्द्रुक’ रिसोर्ट, पाटे बाघ देखाउन जंगल सफारी

काठमाडौं। बर्दियाका पाँच जना युवाको समूहले एक करोड रुपैयाँको लगानीमा गुन्द्रुक रिसोर्ट संचालनमा ल्याएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा घुमघामका लागि आउने पर्यटकलाई लक्षित गरेर रिसोर्ट संचालनमा ल्याएका हुन्। 

Tata
GBIME
Nepal Life

यो रिसोर्ट ठाकुरद्वारा नगरपालिका वडा नम्बर २ मा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै महेन्द्र राजमार्गमा अवस्थित छ। 'स्थानीयपनको आभाष दिन हामीले गुन्द्रुक ब्राण्ड रोज्यौं,' रिसोर्ट संचालक गोविन्द गुप्ताले भने, 'पर्यटकलाई हामी आरामदायी बास र आत्मियता सहितको आतिथ्यता प्रदान गर्नेछौं।'

पहिलो चरणमा ६ वटा कटेज कोठा, रेष्टुराँ, बार र ६० जना क्षमताको सभा कक्षसहित आतिथ्य सेवा शुरु गरिएको  संचालक गुप्ताले जानकारी दिए। रिसोर्टले थारु समुदायको परम्परागत परिकार, परम्परागत नेपाली खानाका साथै दक्ष गाइडसहित जीप सफारीको समेत सुविधा उपलब्ध गराएको छ।

आठ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा दोश्रो चरणमा दश वटा कटेज थप्ने योजना रहेको होटल व्यवस्थापनले जानकारी दिएको छ। जंगल सफारीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज विश्वमै लोकप्रिय गन्तव्य हो। 

बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षित वन्यजन्तु पाटे बाघको मुख्य वासस्थान हो। पछिल्लो समयमा बाघ संरक्षणमा विश्वमै उदाहरणीय रुपमा नेपालले पाएको सफलताका कारण पनि यहाँ बाघ हेर्नका लागि जंगल सफारीमा आउने पर्यटकको आगमन क्रमिक रूपमा बढेको छ।

सन् २०१६ मार्च महिनामा बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेपछि युरोपेली मुलुकमा यो गन्तव्य प्रतिको आकर्षण बढेको थियो। सन् २०२० लाई पर्यटन मन्त्रालयले पर्यटन वर्ष घोषणा गरेको छ। पर्यटन वर्षलाई लक्षित गरी पर्यटकीय गन्तव्यहरुमा‌ नयाँ होटल तथा रेस्टुराँ खुल्ने क्रम देशैभर चलेको छ।