निम्बस समूहले सुनसरीमा बनाउँदैछ अत्याधुनिक खाधान्न गोदाम, किसानले ऋण पाउने

बिजमाण्डू
२०७५ पुष १ गते १७:०३ | Dec 16, 2018
निम्बस समूहले सुनसरीमा बनाउँदैछ अत्याधुनिक खाधान्न गोदाम, किसानले ऋण पाउने

काठमाडौं। निम्बस समूह मुख्य रहेको नेपाल वेयर हाउजिङ कम्पनीले किसानलाई कृषि उपज भण्डारण सुविधा उपलब्ध गराउन अन्न भण्डार (गोदाम) निर्माणको काम शुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँ पालिकामा तीन बिघा क्षेत्रफल जग्गामा वैज्ञानिकरुपमा कृषि उपज भण्डारणको लागी सुविधा सम्पन्न आधुनिक अन्न भण्डार निर्माण गर्न लागेको हो। पहिलो चरणमा ५५ हजार टन भण्डारण क्षमताको  गोदाम निर्माण गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ। 

नेपाल वेयर हाउजिङ कम्पनीले पूर्वको सुनसरीवाहेक मध्यको पर्सा र पश्चिमको रुपन्देहीमा समेत कृषि उपज भण्डारणको लागी गोदाम बनाउने योजना छ। यो परियोजना १३५ करोड रुपैयाँ हाराहारीको हो। 

किसानले आफ्नो खेतमा उब्जनी गरेको अन्न यो कम्पनीको गोदाममा सुरक्षित रुपमा भण्डारणको सुविधा पाउँछन्। यो बाहेक किसानले जुनसुकै समयमा आफूले भण्डारण गरेको अन्नको बजार मूल्यको आधारमा सहुलियत ब्याजदरमा ऋण सुविधा समेत उपलब्ध गराइन्छ। 

कृषि उपज भण्डारण गोदाममा गरिएपछि किसानलाई उपलब्ध गराउने भर्पाई पूर्जा (रिसिप्ट) लाई कम्पनीले तोकेको बैंक वा वित्तीय संस्थामा पेश गरेको आधारमा किसानले ऋण पाउने सुविधा उपलब्ध गराउन लागिएको हो। 

गोदाममा कृषि उपजको गुणस्तर परिक्षण, वर्गीकरण, बीमा सेवा, खरिद बिक्री सेवा समेत एकै छानामूनी उपलब्ध हुन्छ। यस्तो गोदाममा वैज्ञानिक रुपमा भण्डारण गरिने भएकोले परम्परागत भण्डारणको तुलनामा अन्न खेर जाने वा नष्ट हुने जोखिम न्युन हुन्छ। 

यसअघि यस्तै प्रारुपमा पश्चिम नेपालको नेपालगन्जमा युके एड र ग्लोबल बैंकसँगको सहकार्यमा केएल दुगड समूहले ज्ञान एग्री वेयर हाउस प्रालि संचालनमा‌ ल्याइसकेको छ। नेपाल वेयर हाउजिङ कम्पनी लि. प्रत्यक्ष वैदेशिक संयुक्त लगानीमा संचालित कम्पनी हो।

निम्बस समूहले व्यवस्थापन गरिरहेको यो कम्पनीमा बेलायतको डोल्मा इम्प्याक्ट फण्डले पनि शेयर लगानी गरेको छ। शेयर लगानीका लागी निम्बस समूह र फण्डबीच १७ नोभेम्बर २०१७ मा सम्झौता भएको थियो। 

डोल्मा इम्प्याक्ट फण्डको अध्ययन टोली भारतमा गोदामबाट किसानलाई दिइने सुविधा र यसको व्यवस्थापनबारे डोल्मा इम्प्याक्ट फण्डको उच्च व्यवस्थापकीय टोलीले गत महिना भारतको दिल्लीमा व्यवसायीक‌ कृषि भण्डारको स्थलगत अध्ययन गरेको छ। 

फण्डका लगानी निर्देशक विद्यावारिधी सिग्देल र वरिष्ठ लगानी व्यवस्थापक शब्द ग्यवालीसहितको टोलीले सोहनलाल कमोडिटी म्यानेजमेन्ट प्रालिको भण्डारण पूर्वाधार, वैज्ञानिक भण्डारण प्रकृया, भर्पाई पूर्जा (रिसिप्ट), पूर्जाको आधारमा दिइने ऋण सुविधाको प्रकृयाबारे अध्ययन गरेको डोल्मा इम्प्याक्ट फण्डको आधिकारिक ट्वीटर ह्याण्डलमा उल्लेख छ।