बैंककमा नेपाली पर्यटन उद्योगको चर्चा: पूर्वाधार नभएर नेपाल जाँदैनन् पर्यटक

बिजमाण्डू
२०७५ पुष २ गते १६:५५ | Dec 17, 2018

बैंकक। गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको वोधगयामा बर्षेनी १४ लाख पर्यटक जान्छन्। नजिकैको  बुद्ध जन्मभूमी नेपालमा भने ११ महिनामा २३ हजार ३ सय ३६ मात्रै किन? 

Tata
GBIME
Nepal Life

थाइल्याण्ड पर्यटन प्राधिकरणका दक्षिण एसिया प्रशान्त क्षेत्रका उपकार्यकारी निर्देशक च्यानयुथ साउथसुवानले भने, ‘पहिलो नेपालको पूर्वाधार कमजोर छ। लुम्बिनीमा सीधा उडान छैन। काठमाडौं भएर सडकमार्ग हुँदै लुम्बिनी पुग्नुपर्छ। त्यसकारण भारत हुँदै नेपाल जाने थाई पर्यटक बढी छन्। दोस्रो लुम्बिनीमा घुमिसकेपछि त्यहा अरु पर्यटनसँग सम्वन्धित गतिविधी नै छैन।

पर्यटकलाई मनोरञ्जनका लागि आवश्यक प्रडक्ट नभएकै कारण लुम्बिनी आउने र एकै दिनमा भारत फर्किनेहरु धेरै छन्। उनले नेपालले आफूसँग भएको प्रडक्टको ब्राण्डिङ र मार्केटिङ समेत गर्न नसकेको बताए।

‘सात वटा हेरिटेज साइट नेपालमै छ। तर पर्यटक जम्मा १० लाख मात्रै किन?’ साउथसुवानले प्रश्न गर्दै भने, 'हामी वार्षिक ३ करोड ८० लाख पर्यटक भित्र्याउँछौं। हामीले पर्यटकका लागि आवश्यक मनोरञ्जनका धेरै माध्यमहरु तयार पारेका छौं। उनीहरुलाई धेरै भन्दा धेरै अड्याउन टुरिज्जम प्रडक्टहरु पनि तयार पारिरहेका छौं।’ 

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिमण्डल र  थाइल्याण्डका पर्यटन तथा खेलकुद सचिव डा. स्यान्ती पावेबीच भएको छलफलमा उनले यो प्रश्न राखेका हुन्। 

साउथसुवानले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुनुपर्ने बताए। ‘हामीले अन्तर्राष्ट्रिय स्तरमा हुने पर्यटन सम्वन्धि कुनै पनि मेला छुटाउँदैनौं। त्यहीबाट पर्यटकको आगमन बढ्छ,' उनले भने।

नेपालले आफ्नो डेस्टिनेशनको बारेमा बुझाउनका लागि त्यस्ता मेलामा सहभागी जनाउनु पर्ने उनले सुजाबसमेत दिए। 

अर्का एक पर्यटन सम्वन्धि व्यवसायीले कुनै पनि देशमा फोटो खिच्न मात्रै पर्यटक नजाने बताउँदै पर्यटकलाई आवश्यक पर्ने गन्तब्यहरुको विकास गर्नुपर्ने बताए। 

थाइल्याण्ड पर्यटन परिषद् स्पेशल एक्टिभिटिजकी भाइस प्रेसिडेन्ट सोमसङ सच्चापिमुखले पर्यटन प्रवर्द्धनका लागि हवाइ कनेक्टिभिटी आवश्यक रहेको बताउँदै नेपालले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

४५ हजार नेपाली थाइल्याण्डमा
नेपालबाट थाइल्याण्डमा वार्षिक ४५ हजार नेपाली घुम्न जान्छन्। पर्यटन काउन्सिलका अनुसार नेपालबाट आउने पर्यटक वार्षिक रुपमा बढ्दो क्रममा छ। 

ललित मण्डप ट्राभल एण्ड टुर्सका संचालक सुरज शाक्यका अनुसार सस्तो गन्तब्यको रुपमा विकास भएकाले नेपाली घुम्नका लागि थाईल्याण्डमा आउने क्रम बढ्दो छ। 

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आउटबाउण्ड टुरिज्जमका लागि प्रमुख गन्तब्य भए पनि नेपालीलाई अनएराइभल भिसा नदिएको गुनासो गरे। 

‘नेपालीको विदेश घुम्ने पहिलो गन्तब्यमा थाईल्याण्ड छ। तर नेपालीले लामो भिसा प्रकृया पूरा गर्नुपर्छ। उनले भने, ‘अनअराइभल भिसा दिने व्यवस्था भएमा थप सहजता हुनेछ।’

 श्रेष्ठले नेपालले सन् २०२० मा पर्यटन वर्ष मनाइरहेको बताउँदै पर्यटन वर्षमा थाइ पर्यटक बढाउनेतर्फ सहयोगको अपेक्षा गरेको बताए। 

‘अर्को वर्ष हामीले पर्यटन वर्ष मनाउँदैछौ। गौतम बुद्धको जन्मस्थलमा लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै संचालनमा आउँदैछ’ उनले भने, ’वुद्ध धर्मावलम्बी बढी भएको मुलुकबाट पर्यटकको आगमन बढ्ने हामीले अपेक्षा गरेका छौं।’