स्याण्डविचमा ६५ करोडको लगानी, पहिलोपटक नेपाली स्टिल उद्योगमा चिनियाँ लगानी

बिजमाण्डू
२०७५ पुष ३ गते ०८:५३ | Dec 18, 2018
स्याण्डविचमा ६५ करोडको लगानी, पहिलोपटक नेपाली स्टिल उद्योगमा चिनियाँ लगानी


काठमाडौं। कोरियाली व्यवसायी खिल हु सुङले ६५ करोड रुपैयाँ लगानीमा इपिएस नेपाल स्याण्ड्विच उद्योग स्थापना गर्ने भएका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौंमा उद्योग स्थापना गर्न सुङले नेपाली साझेदार सहित उद्योग विभागबाट विदेशी लगानी स्वीकृत गराइसकेका छन्। 

वार्षिक ६ हजार ६६० मेट्रिक टन स्याण्ड्विच उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले एक सय जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता समेत जनाएको छ।

स्याण्ड्विच उद्योगमा नेपाली साझेदारहरु दुधलाल नेम्वाङ, भिमप्रसाद साम्बाहाम्फे, कमलप्रसाद लावती, लक्ष्मीप्रसाद लिम्बु लगायत रहेका छन्। नेपाली साझेदारको ५१ प्रतिशत शेयर रहने गरि उद्योग दर्ता गरिएको उद्योग विभागले जनाएको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहने उद्योगमा १५ करोड रुपैयाँ चालु पूँजी रहने छ। कुल विदेशी लगानी भने ३१ करोड ८५ लाख रुपैयाँ रहेको छ। 

मंसिरमा २६ उद्योगमा आएको विदेशी लगानी प्रतिवद्धताभन्दा एउटै ठूलो उद्योग इपिएस स्याण्ड्विच नेपालमा आएको ६५ करोड रुपैयाँ लगानी प्रतिवद्धता कुल लगानी प्रतिवद्धताको ५० प्रतिशतभन्दा बढी रहेको छ। मंसिरमा २६ उद्योगमा एक अर्ब २७ करोड रुपैयाँ मात्र विदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको छ।

स्टिल उद्योगमा चिनियाँ लगानी
नेपालको स्टिल उद्योगमा चिनियाँ लगानी समेत भित्रिन थालेको छ। चिनियाँ कम्पनी चोङकिङ पिङसेङ इण्डष्ट्रिज लिमिटेडले स्टिल उद्योगमा २४ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता गरेको छ।

धादिङमा उद्योग स्थापना गर्ने चिनियाँ कम्पनीले वार्षिक ३० हजार मेट्रिक टन एमएस रड उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योगले ८० जनालाई प्रतक्ष रोजगारीको प्रतिवद्धता समेत गरेको छ। 

मंसिरमा एउटा मात्रै ठूलो उद्योगमा विदेशी लगानी प्रतिवद्धता
मंसिरमा दर्ता भएका २६ वटा विदेशी लगानीका उद्योगमध्ये कोरियन लगानीकर्ताको स्याण्ड्विच उद्योगमा मात्रै ६५ करोड रुपैयाँ लगानी प्रतिवद्धता भएको छ।

चिनियाँ लगानीकर्ताले धादिङमा स्थापना गर्न लागेको स्टिल उद्योगमा २४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता बाहेक अन्य २४ वटा उद्योगमा भने १० करोड रुपैयाँभन्दा सानो लगानी प्रतिवद्धता मात्रै भएको उद्योग विभागले जनाएको छ।

चिनियाँ लगानीको मझौला र कोरियन लगानीको ठूलो उद्योगमा मात्रै करिब ९० करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएको हो। जुन कुल लगानी प्रतिवद्धता एक अर्ब २७ करोड रुपैयाँको ७० प्रतिशत हो।

मंसिरमा दर्ता भएका उद्योगमध्ये सेवा उद्योगमा १०, पर्यटन उद्योगमा ८, उत्पादनमुलक उद्योगमा ५  र सूचना प्रविधि उद्योगमा ३ वटा उद्योग दर्ता भएका छन्। उक्त संख्यामा दर्ता भएका विदेशी लगानीका उद्योगले ७ सय ५३ जनालाई प्रतक्ष रोजगारी दिने प्रतिवद्धता गरेका छन्।

२६ उद्योगमा एक अर्ब २७ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता भएकोमा ९४ करोड रुपैयाँ खुद विदेशी लगानी र बाँकी ३३ करोड रुपैयाँ नेपाली लगानी रहेको छ।