काठमाडौं। गौतमबुद्ध विमानस्थलको धावनमार्गको पहिलो चरणको पिच निर्माण ५० प्रतिशतभन्दा बढी सकिएको छ। काम सकिएको छ। पिच निर्माण दुई महिनादेखि गर्न थालिएको थियो।
यसपछि तीन तहमा ७.५ सेन्टिमीटरका दरले पिचको लेयर थपिँदै लाने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। चार तहमा गरिने धावनमार्ग पिचमा बढि समय पहिलो चरणमा लाग्छ।
विमानस्थलको धावनमार्ग तयार भइसकेको केही समयमा आन्तरिक उडान सुरु गर्ने योजना छ। कालोपत्रका लागि हाल दुई वटा उपकरण प्रयोग भइरहेको उनले बताए। वातावरणले साथ दिएको अवस्थामा ७५ दिनभित्र रनवेको पीचको काम सकिने अधिकारीले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रअधिकारीले विमानस्थल निर्माणका लागि असारसम्मको समय दिएका छन्।
उनले भने, 'हामीले केहि हदसम्म नयाँ धावनमार्गमा सुरुमा डोमेस्टिक एयरक्राफ्ट चलाउने योजना बनाएका छौँ। पुरानो धावनमार्गको पुर्णरुपमा स्तरोन्नति भइसकेपछि ओभरअल कनेक्टिभिटी मिलाएर सात महिनाअघि नै आंशिक संचालनमा ल्याउने योजनामा छौँ।'
पाँच महिनाभित्र मूख्य संरचनाहरु निर्माण गरिसक्ने किसिमले काम अगाडि बढाइएको उनले जानकारी दिए। उनका अनुसार रनवे, ट्याक्सी वे, पार्कीङ स्ट्याण्ड (एप्रोन), टर्मिनल विल्डिङ, कन्ट्रोल टावर, एड्मिनिस्ट्रेसन ब्लक, फायर विल्डिङ लगायतका संरचना पाँच महिनाभित्र निर्माण भइसक्नेछ।
कालोपत्रे गरिसकेपछि बाँकी दुई महिना ग्राउण्ड लाइटिङ, एप्रोन र ट्याक्सीवेसँगको कनेक्टिभिटी मिलाइनेछ। सम्झौता अनुसार विमानस्थलको १५ सय मिटर लम्बाई र २३ मिटर चौडाइयुक्त पुरानो धावनमार्ग पनि बाँकी दुई महिनामा स्तरोन्नति गरिने अधिकारीले जानकारी दिए।
तीन किलोमिटरको नयाँ धावनमार्ग फूल फेजमा संचालनमा आइसकेपछि पूर्व पट्टी दुई सय मीटर र दुई सय मिटर पश्चिम पट्टी गरी जम्मा चार सय मिटर ट्याक्सी वे थपिनेछ। भविष्यमा निर्माण गरिने समानान्तर ट्याक्सी वे १९ सय मिटर लम्बाई र २३ मिटर चौढाईको हुनेछ। यसरी पुरानो धावनमार्ग ट्याक्सी वेको रुपमा प्रयोगमा ल्याइने छ।
विमानस्थल निर्माणका लागि मुआब्जा वितरणका लागि झण्डै नौ अर्ब रुपैयाँ वितरण गर्न बाँकी रहेको उनले बताए। थप मुआब्जाका लागि अर्थ मन्त्रालयबाटै बजेट पारित हुनुपर्ने देखिएको उनको भनाइ छ।