तेल उत्पादनमा अमेरिकाको नाटकीय सफलता, ७५ वर्षमा पहिलो पटक निर्यातकर्ता देश बन्यो 

बिजमाण्डू
२०७५ पुष ३ गते १५:१३ | Dec 18, 2018
तेल उत्पादनमा अमेरिकाको नाटकीय सफलता, ७५ वर्षमा पहिलो पटक निर्यातकर्ता देश बन्यो 

हप्तादिन अघि अमेरिका पहिलोपटक तेलको निर्यातकर्ता देश बन्यो। ७५ वर्षमा पहिलो पटक अमेरिका निर्यातकर्ता बन्न सकेको हो। हालसम्म अमेरिका तेलको लागि बिदेशी आयातमा भर पर्थ्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकालाई उर्जामा आत्मनिर्भर बनाउने भन्दै गर्दा अमेरिकाले तेल उत्पादनमा नाटकीय रुपमा सफलता पाएको हो। 

Tata
GBIME
Nepal Life

टेक्सासको पेरमिअन क्षेत्रमा न्यू मेक्सिको उत्तरी डकोटाको बेकन तथा पेन्सोभेनियाको मर्सेलसमा तेलका हजारौं कुवाहरुबाट तेल निकाल्न थालिएको छ। 

यी कुवाहरुमा अमेरिकाले वर्षौदेखि उत्खनन तथा अन्य प्राविधिक काम गरिरहेको थियो। एक हप्ता अघिको तथ्यांक अनुसार अमेरिकाको तेल आयातमा तीब्र गिरावट आएको छ भने निर्यातमा उच्च रेकर्ड कायम भएको छ। 

अमेरिकाले तेलको आयातलाई बन्द नै नगरेपनि अब बिदेशी तेलमा निर्भर हुनुपर्ने अवस्था भने सकिएको छ। अमेरिकी रणनीतिक उर्जा तथा आर्थिक अनुसन्धान प्रमुख माइकल लिंचले भने- 'हामी विश्वकै शक्तिशाली उर्जा उत्पादक देश बनेका छौं।' 

पछिल्लो ५० वर्षमा ओपेक विश्वभर तेलको राजनीतिको केन्द्र रहँदै आएको छ। रुस तथा अमेरिकामा तेल उत्पादन बढ्दै गएपछि  अब ओपेकको सर्वोच्चतालाई समेत चुनौती भएको छ। 

ओपेक देशहरुको बहस हाल नीति, मूल्य तथा उत्पादनको सीमाका बिषयमा केन्द्रित छन्। भियनामा हालै ओपेक  तथा अन्य देशहरुबीच बैठक भएको थियो। ओपेकलाई अमेरिकाले आफ्नो उत्पादन बढाएमा आफ्नो बजारमा प्रत्यक्ष असर पर्ने डर रहँदै आएको छ। 

सीआइएकी पूर्व विश्लेषक तथा आरबीसी मार्केट्स एलएलसीको कमोडिटिज स्ट्रैटेजिस्ट हेलिमा क्रोफ्टका अनुसार ओपेक उथलपुथलको समयबाट गुज्रिरहेको छ। यसै बेला कतार यो समूहबाट अलग भएको छ। त्यस लगत्तै साउदी र अमेरिकाको भियनामा भएको गोप्य छलफलले पनि निकै महत्व राख्छ। त्यसपछि ओपेकको एउटा प्रस्तावित प्रेस कन्फ्रेन्स नै रद्द भएको थियो। गत हप्तादेखि नै अमेरिकाले तेल निर्यात सुरु गर्यो। 

अमेरिकी उर्जा सूचना प्रशासन इआइएका अनुसार अमेरिका एक सातादेखि हरेक दिन २ लाख ११ हजार ब्यारेल कच्चा तेल तथा रिफाइन्ड उत्पादन बिदेशमा बेचिरहेको छ। यसमा डिजेल र ग्यासोलिन रहेका छन्। यसको तुलनामा अमेरिकाले सन् २०१८ मा औसतमा हरेक दिन ३० लाख ब्यारेल तेल आयात गर्ने गर्थ्यो। 

इआइएका अनुसार सन् १९९१ भन्दा अघि अमेरिकामा तेल आयातको साप्ताहिक तथ्यांक आउने गर्थ्यो। सन् १९७३ मा मासिक तथ्यांक जारी गर्न थालियो। अमेरिकी पेट्रोलियम इन्स्टिच्यूटका अनुसार अमेरिकाले सन् १९४० को दशकबाट तेल आयात सुरु गरेको थियो। आज अमेरिका तेलकालागि आत्मनिर्भर भएको छ। अमेरिकी सरकारहरुले तेलको विषयमा आत्मनिर्भर बन्ने सपना धेरै अघिदेखिको सपना थियो। 

अमेरिका तेलका लागि अझै थप ९ वटा टर्मिनलहरुमा काम गरिरहेको छ। डिसेम्बरको अन्त्यसम्ममा अमेरिकाले तेलको निर्यात अझै बढाउने संभावना छ। डेलवेयर बेसिनबाट तेल निकाल्ने काम पनि न्यून नै छ। डेलवेयर बेसिनमा तेलको भण्डार मिडल्याण्ड बेसिनभन्दा दोब्बर बढी रहेको अनुमान गरिएको छ। 

नयाँ तथ्यांक अनुसार अमेरिका अब तेल किन्नुभन्दा बढी बेचिरहेको देखिन्छ। यूएस जियोलोजिकल सर्विसका अनुसार अमेरिका विश्वभरबाट हरेक दिन ७० लाख ब्यारलभन्दा बढी कच्चा तेल आफ्नो रिफाइनरीका लागि आयात गरिरहेको छ। 

यी रिफाइनरीहरुमा हरेक दिन १ करोड ७० लाख ब्यारेल कच्चा तेलको आवश्यकता पर्छ। यस्तोमा अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता देश बन्न पुग्छ। अमेरिका तेल को बजारमा नयाँ खेलाडीको रुपमा देखा परेको छ। 

अमेरिकामा तेल उत्पादन हरेक वर्ष २० प्रतिशतको दरले बढिरहेको  छ। पछिल्लो एक दशकमा अमेरिकाको तेल उतपादनको गति सबैभन्दा तिब्र छ। यसै वर्षको सुरुवातमा अमेरिकाले तेल उत्पादनमा साउदी अरब तथा रुसलाई पनि पछि पारिदिएको छ। साउदी तथा रुस विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश मानिन्छन्। 

सन् २०१६ मा रिस्ताद इनर्जीले प्रकाशन गरेको एक प्रतिवेदनका अनुसार अमेरिकासँग २ सय ६४ अर्ब ब्यारल तेल भण्डार छ। यसमा हालका तेल भण्डार नयाँ परियोजना हाल उत्खनन गरिएका तेल भण्डार तथा उत्खनन गर्न बाँकी रहेका तेल भण्डार समेत छन्। 

यस प्रतिवेदनका अनुसार रुस तथा साउदीभन्दा धेरै तेल भण्डार अमेरिकासँग छ। रिस्ताद इनर्जीका अनुसार रुसमा २५६ अर्ब ब्यारल, साउदीमा २१२ अर्ब ब्यारेल, क्यानडामा १६७ अर्ब ब्यारेल, इरानमा १४३ अर्ब  ब्यारेल तथा ब्राजिलमा १२० अर्ब ब्यारेल तेल छ। 

ओपेकको साउदी सरकारले अनुमानित भण्डारको जानकारी दिएको छ। यस अनुसार साउदीको प्रमाणित तेल भण्डार २६६ अर्ब ब्यारेल छ। ओपेकले सन् २०१५ मा आफ्नो बार्षिक बुलेटिनमै यसको जानकारी दिइसकेको छ। 

यदि यो सही तथ्यांक हो भने औसतमा १.२ करोड ब्यारेल प्रतिदिन उत्पादनका हिसाबले साउदीको तेल भण्डार आगामी ७० वर्षमा सकिनेछ। तर साउदी सरकारको आधिकारिक तथ्यांकमै शंका छ। यसको कारण के हो भने सन् १९८७ मा साउदीले आफ्नो तेल भण्डार १७० अर्ब ब्यारेल रहेको बताएको थियो जुन सन् १९८९ मा बढाएर २६० अर्ब ब्यारेल बनाएको थियो। 

स्टाटिस्टिकल रिभ्यू अफ वर्ल्ड इनर्जी २०१६ को प्रतिवेदनका अनुसार साउदी ९४ अर्ब ब्यारेल तेल बेचिसकेको छ। फेरि पनि आधिकारिक रुपमा उसँग २६० देखि २६५ अर्ब ब्यारेल तेल कसरी हुन्छ? 

यदी सरकारी तथ्यांक सही हो भने यसको अर्थ साउदीले तेलको नयाँ उत्खनन गरिसकेको छ नभए आफ्नो अनुमानित भण्डारलाई नै बढाएर तथ्यांक दिइरहेको छ। 

अनुमानित भण्डार बढाउनुको एउटा आधार यो पनि हुनसक्छ कि जुन स्थानहरुबाट तेलको उत्पादन भैरहेको छ त्यही नै थप तेल उत्खनन भएको छ नभए अहिलेसम्म जति पनि तेल निकालिएको छ त्यसको आपूर्ति फेरि भएको छ। 

साउदीले सन् १९३६ देखि १९७० को बीचमा तेल भण्डारको ठूलो केन्द्र उत्खनन गरेको छ। त्यसपछि भने साउदीले तेलको नयाँ कुवा उत्खनन गरेको पाइएको छैन। 

साउदी सरकारले आफ्नो तेल उत्पादनको अनुमानित भण्डारहरु एकदमै गोप्य राख्ने गर्छ। 
यस्तोमा साउदीको सबै तथ्यको पुष्टी गर्न असम्भव हुन्छ। तेल विश्लेषकहरुको विश्वसनीयतामाथि पनि प्रश्न गर्ने प्रशस्त ठाउँ छन्। यस्तो अवस्थामा तेल उत्पादन कहिले देखि खस्किन्छ भन्न सकिन्न। 

साउदीले अहिले भने सबैभन्दा धेरै तेल उत्पादन गरिरहेको छ। साउदीले ओपेकको सबैभन्दा ठूलो तथा महत्वपूर्ण तेल उत्पादनक हो। विश्वको ४० प्रतिशत तेल हाल ओपेकको नियन्त्रणमा छ। 

अमेरिकाले हालैका वर्षमा विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता देशको रुपमा रहेको थियो। त्यसैले साउदी र अमेरिको मित्रता रहिआएको छ। तर यदि अमेरिका नै तेल आयातकर्ता देश रहन्न भने साउदी लाई अमेरिकाले कुन रुपमा लेला?

अबका दिनमा अमेरिकाकालागि साउदी अरब आवश्यक देश नरहने विश्लेषण हुन थालेका छन्। अमेरिका हरेक दिन ९० लाख ब्यारेल तेलको उत्पादन गरिरहेको छ जुन साउदीकै लगभग बराबर हुन जान्छ। 

साउदी र अमेरिकाबीच मुख्य ब्यापार तेल र हतियारकै भैरहेको छ। ओबामा प्रशासनले साउदी अर्बलाई ९५ अर्ब डलरको हतियार बेचेको थियो। तर अब अमेरिका तेल निर्यातकर्ता भैसकेपछि साउदीसँग अमेरिकाको सम्बन्ध पहिलेजस्तै नरहन सक्छ। 

अमेरिकालाई ८० प्रतिशत तेल उत्तरी तथा दक्षिणी अमेरिकाबाट प्राप्त हुन्छ। सन् २०३५ सम्ममा अमेरिकाको यो आवश्यकता पनि पूरा हुन्छ। उत्तरी अमेरिकामा तेल उत्पादनको यो बुमले विश्व राजनीतिमा धेरै परिवर्तन ल्याउने निश्चित छ।