ग्राउण्डेड जहाज किनेपछि बीबी एयरवेजलाई पछुतो, ‘कर्णाली’ बेचेर नयाँ जहाज किन्न साझेदार खोज्दै 

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ पुष ५ गते ०९:३४ | Dec 20, 2018
ग्राउण्डेड जहाज किनेपछि बीबी एयरवेजलाई पछुतो, ‘कर्णाली’ बेचेर नयाँ जहाज किन्न साझेदार खोज्दै 

काठमाडौं। गत बर्ष वायुसेवा निगमसँग किनेको पुरानो बोइङ 'कर्णाली' संचालनमा ल्याउन नसक्दा बीबी एयरवेज समस्यामा परेको छ। कम्पनीले हालसम्म ह्याङ्गरमा थन्क्याएको जहाज बेच्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। 

Tata
GBIME
Nepal Life

जहाज बेच्ने बिषयमा कम्पनीसँग वार्ता चलिरहेको जानकारी दिँदै स्रोतले भन्यो- 'बेचेपनि पार्टपुर्जा चार्टर गरेर पठाउनुपर्ने भएपछि हामी अन्योलमा छौं।' 

'उनीहरुले कार्गो, भन्सार लगायतका बिषयमा बुझेपछि जहाज लाने निश्चित गर्छौँ भनेका छन्' बीबी एयरवेज स्रोतले भन्यो- 'जहाज किनेको लागत भन्दा कम मूल्यमा विक्री गर्दैछौँ। कम्पनी लसमा गइसक्यो।'

'कर्णाली' नाम दिइएको बोइङ ७५७ पहिल्यै मर्मत गरेर उडान गरिएको भए कम्पनीलाई फाइदा हुने स्रोतले बतायो। खरिद गर्ने बित्तिकै जहाज मर्मत गरेर उडान नगरेको कारण अहिले सास्ती खेप्नुपरेको उनको भनाई छ।  

'नेपालमा १५ वर्ष पुरानो जहाज ल्याउन पाइँदैन। १५ वर्ष पुरानो यहिँ थियो। अब यस्तो प्रकारको जहाजको लागि भन्सार नै १५ करोड रुपैयाँ लाग्छ। अब भन्सार कै मूल्यमा जहाज पाइएपनि ममर्त गरेर उडाउन नसक्दा कम्पनी अप्ठ्यारोमा परेको छ। अहिले इन्जिन झिकेर अमेरिकाको खरिदकर्तालाई पठाउँदा साढे दुई लाख डलरको लागतमा विमान चार्टर गरेर पठाउनुपर्ने अवस्था छ।' स्रोतले भन्यो।

नेपाल वायुसेवा निगमले सन् १९८७ को सेप्टेम्बरमा 'कर्णाली' खरिद गरेको थियो। निगममा त्यसबेला कार्यकारी अध्यक्ष इश्वरीलाल श्रेष्ठ थिए  भने बलीराम सिंह महाप्रवन्धक थिए।

स्रोतका अनुसार बीबी एयरवेजले एक वर्ष अगाडिदेखि पार्किङ शूल्क भने तिर्दै आएको छ। कम्पनीले जहाजको बीमा स्वरुप करिब ६० लाख रुपैयाँ तिरिसकेको छ। 

बीबी एयरवेज एनआरएन भवन भट्टको हो। भट्टले गत वर्ष  १४ करोड ६० लाख रुपैयाँमा नेपाल वायुसेवा निगमसँग बोइङ ७५७ 'कर्णाली' किनेका हुन्। यो जहाज तीन वर्ष अघिदेखि ग्राउण्डेड छ। 'कर्णाली'ले ८६ हजार चार सय १० घण्टा उडान गरिसकेको छ।

बीबीले निगमसँग यो जहाज खरिद गरेको पाँच महिनाभित्रै दोहा, दमाम, दिल्ली, बैंकक, मलेसिया लगायतका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने योजना बनाएको थियो। 

जहाज खरिद गरेको केहि महिनामै कम्पनीले जहाज उडान गर्न नसक्ने निष्कर्षमा पुगेपछि बिक्री गर्ने प्रकृयामा लागेको थियो। 

बीबीले काठमाडौं उपत्यका बाहिर बेस बोइङसँगै थप चारवटा न्यारोबडी र वाइडबडी जहाज खरिद गरी एक वर्षमै उडान सुरु गर्ने व्यावसायिक योजना बुझाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लाइसेन्स नवीकरण गरिदिएको थियो। 

एक्लो भएपछि साझेदार खोज्दै भट्ट
बीबी एयरवेजमा भगवान भट्टको एक्लैको स्वामित्व रहेको स्रोतले बताएको छ। अहिले उनी निगमसँग खरिद गरेको बोइङ बिक्री गरी २१ अर्बको लागतमा तीनवटा बोइङ ७३७ खरिद गर्ने योजनामा छन्। तर लागत व्यवस्थापनकै लागि भट्ट साझेदारको खोजीमा रहेको कम्पनी स्रोतले जानकारी दिएको छ।  

जहाज आइसकेपछि उडानका लागि सुरुको छ महिना बोइङ कम्पनीकै चालकदल ल्याइनेछ र पछि यतै पाइलटको व्यवस्थापन गर्ने तयारी रहेको ती स्रोतले बताए।    

कम्पनीले  बोइङको विकल्पमा ६० सिटे बम्बार्डियरको क्यु ४०० टर्बोप्रोब जहाज पनि ल्याउने योजना बनाएको छ।  

गत वर्ष निगमसँग खरिद गरेको 'कर्णाली' विमानस्थलको उत्तर पूर्वी क्षेत्रमा राखिएको छ। बीबी एयरवेजले सन् २०१२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स लिएको थियो। तर कम्पनीले राम्रोसँग उडान गर्न नसक्दा पाँच वर्ष यता बन्द थियो।