एउटै बैंकमा अर्ब तलब बाँडिन्छ, तर त्यसले ४ अर्ब मात्रै कमाउँछ? मनोज केडियाको अन्तर्वार्ता




हामीले कर धेरै लगाउँदा संसारबाटै अप्रतिस्पर्धी भइरहेका छौँ। राज्यले कर लिन्छ। तर त्यो प्रणालीमा हुनुपर्छ। सामञ्जस्यता हुनुपर्छ। एउटै कर तीन ठाउँबाट उठाउनु भएन। करको विभाजन गर्ने भनिएको छ त्यो हुनुपर्छ। हामीले कर कसलाई बुझाउने हो भनिदिने हो भने हामी त्यही अनुसार दिन्छौँ।
---
मनोज केडिया नेपालकै सबैभन्दा पूरानो व्यवसायिक घराना केडिया अर्गनाइजेशनका निर्देशक हुन्। केडिया वित्तिय र औद्योगिक क्षेत्रमा संलग्न छन्। सिद्धार्थ बैंकका अध्यक्ष एवं रिलायन्स इन्स्योरेन्स लगायतका वित्तिय संस्थाको नेतृत्वदायी भूमिकामा छन् भने सिद्धार्थ सिमेन्ट,अर्घाखाँची सिमेन्ट र भर्खरै संचालनमा आएको श्री स्टीलका संचालक हुन्। केडियालाई बिजमाण्डूका विज्ञान अधिकारीसविन मिश्रले सोधे- तपाईंहरुको इतिहासबाटै कुरा सुरु गरौँ। रामकुमार केडियाबाट अघि बढेको घरानालाई वृजलाल केडिया र महावीरप्रसाद केडियाले ठूलो घरानाका रुपमा स्थापित गर्नुभयो। कपडा व्यवसायबाट सुरु भएको तपाईंहरुको व्यापारिक यात्रा अहिले एउटा अम्पायर खडा गर्ने तहमा पुगेको छ। यो कसरी संभव भयो?
निरन्तर काम गर्दै जाँदा अहिले हामी यो अवस्थामा आइपुगेका छौँ। हामीले यही क्षेत्रमा लगानी बढाउँदै गयौँ। नयाँ/नयाँ क्षेत्रमा लगानी बढाइएको छ। हजुरबाजे र बाजेहरुको मेहनत र परिश्रमको फलस्वरुप अहिले यहाँ आइपुगेका हौँ। भारतबाट आएर यहाँ उद्योग स्थापित गरेर काम गर्नु चुनौती नै थियो। जोखिम पनि थियो। जोखिम लिएरै काम गर्दै यहाँसम्म आइपुगेका छौँ। 

सय वर्षको तपाईंहरुको यात्रा छ। सय वर्षअघि नै समूहका रुपमा अघि बढ्नुपर्छ भन्ने सोच कसरी आएछ?
त्यतिबेला यस्तो सोच थिएन होला। सुरुका समयमा आफ्नो कारोबारका लागि, खानपिनका लागि बसाइँसराई गर्थे। आज पनि मानिसहरु काम खोज्नै लाखौँ नेपाली विदेशिएका छन्। यो भइरहने प्रक्रिया भयो। त्यतिबेला यातायात थिएन। व्यापार व्यवसाय पनि सहज थिएन। उहाँहरु त्यतिबेला केही नलिएरै यहाँसम्म आइपुग्नु भएको थियो। ठूलो धनसम्पत्ती आर्जन गर्छु भनेर आएको पनि होइन। वर्किङ क्लासबाटै दिनचर्या अघि बढेको थियो। हाम्रो रगतमै व्यापारको गुण थियो। मारवाडी समाज वैश्य समाज हो र हाम्रो रगतमै व्यापार छ। 
Tata Nexcon AMT


२०४६ सालपछि नेपालमा धेरै औद्योगिक घराना उदाएका छन्। केडिया समूहले त्यसअघि वा त्यसपछि जुन क्षेत्रमा हात हालेको छ, सफल नै भएको छ। त्यसमा के जादू थियो कि जुन व्यवसायमा हात हाल्यो त्यसैमा सफलता पाउने?
त्यस्तो पनि होइन होला। मेरा बाजेहरु २००७ साल अघिदेखि नै हुनुहुन्छ। राणा, राजा, पञ्चायतलगायतका सबै कालखण्ड हेरेर उहाँहरु अघि बढ्नुभएको हो। समय परिस्थिति बदलिँदै जाँदा नयाँ क्षेत्र खोलिए। व्यापार र व्यवसायका आयामहरुमा हाम्रो हात बढ्दै गयो। मान्छेलाई जोडेर काम गर्नुभयो। 

यो समूहको नयाँ पुस्ताका रुपमा तपाईंहरु आइसकेपछि कसरी काम गर्नुभयो?
हाम्रो परिवार निकै ठूलो हो। हाम्रो बाजेहरु महावीरप्रसाद र वृजलाल केडिया हुनुहुन्थ्यो। उहाँको सन्तानहरु धेरै छन्। ठूलो बाजेका ७ छोरा एक छोरी र हाम्रोबाट तीन छोरा छौँ। त्यसपछि हामी भन्दा पछिल्लो पिढीपनि काममा लागिरहेका छन्। नेपालमा हामी छैटौँ पुस्तामा आइसकेका छौँ। मेरो हजुरबाजेको बुवा पनि नेपाल आइसक्नुभएको थियो। उहाँहरुले जुन मूल्य मान्यता दिएर जानु भएको छ त्यसैलाई ग्रहण गरेर अघि बढ्दा हामीले सफलता पाएका हौँ। हामीले संकट नबेहोरेका पनि होइनौँ। व्यापारमा संकट र जोखिम जतिबेला पनि आउँछ। कर्मचारीको जीवनमा त संकट आउँछ भने व्यापारमा पनि संकट हुन्छ। आफ्नै गलत निर्णय, कसैको बदमासी वा हेलचेक्राँइले व्यवसायमा ठूलो जोखिम आइपर्छ। त्यो हामीले देखेका छौँ। जोखिम लिएर काम गर्छौ। हाम्रो अनुभव र जीवनशैली नै त्यस्तो भइसक्यो।

बैंकल अर्ब कमायो भनेर हुँदैन। आजको दिनमा चार अर्ब रुपैयाँ कमाउने के हो? एउटा बैंकमा अर्ब तलब बाँडिन्छ त्यसले ४ अर्ब कमाउनुलाई के कमाएको भन्ने। बैंकले १०/१५ हजार करोड कमाउनु पर्छ। हाम्रोमा झारेझुरे बैंक छन्। बैंकहरुको त्यो क्षमता विकास हुनुपर्छ। नबुझेर वा बुझेर पनि बुझ पचाएर त्यस्तो कुरा भइरहेको छ। हामी एक अर्काको कुरा काटेर कहिँ पनि पुग्दैनौँ।
---
पारिवारिक कुरा गर्दा महावीरप्रसाद केडिया र वृजलाल केडियाका सन्ततीहरु लामो समयसँगै व्यापार गरेपछि अहिले आफैँ गर्नुपर्छ भनेर अघि बढेको देखिन्छ। वर्षौँसम्म सँगै रहेका तपाईंहरु अहिले कसरी अलगअलग काम गरिरहनु भएको छ?
कुनै पनि वृक्ष ठूलो हुँदै गर्दा त्यसको विरुवा अन्यत्र कतै रोप्नुपर्ने हुन्छ। विरुवालाई स्याहार गर्नुपर्छ। यो जीवनकै एउटा चक्र हो। युरोप र अमेरिकामा लामो समयदेखि संगठितरुपमा व्यवसाय हुन्छ। परिवार पनि त्यसरी नै व्यवस्थित हुन्छ। व्यापारलाई पनि त्यसरी नै अघि बढाइएको हुन्छ। कतिपय व्यापार व्यवसाय ३/४ सय वर्षसम्म सँगै गएको पनि छ। तर एसियाली क्षेत्रमा दुई/तीन पुस्ता सँगै गएपछि  व्यापार, व्यवसाय र परिवारलाई व्यवस्थापन गर्ने गरेको देखिन्छ। यसरी व्यवस्थापन गर्दा व्यापारले गति नै लिन्छ। छुट्टिएको भन्नुस् वा त्यसलाई व्यवस्थापन गरेको भन्नुस्। अनुभव र ज्ञानलाई लिएर अघि बढ्ने हो। जति मिल्न सके त्यति राम्रो हो। विश्वलाई नै एक बनाउन सके अझै राम्रो। 

केडिया समूहको एग्रेसन यो बीचमा केही कम भयो, तपाईं यो मान्न तयार हुनुहुन्छ?
भएकै हो। मेरो बाजेले जुन उत्कर्षमा व्यापारलाई लिएर जानुभएको थियो, एक समय नेपालको धान चामलको मूल्य उहाँले तोक्नु हुन्थ्यो। अहिले पनि संसारमा सबैभन्दा ठूलो कमोडिटी खाद्यान्न नै हो। त्यस्तो खुबी मेरो बाजेमा थियो। आज आएर सोच्दा त्यो धेरै ठुलो कुरा थियो। उहाँले देशभर कारोबार फैलाउनुभयो। स-साना उद्योग कति आफैँ खोलिएका थिए कति भाडामा चलाइएको थियो। त्यसरी काम गर्दा पनि उहाँ बिरलै सुत्नुहुन्थ्यो। जनमानससँग घुलमिल गरेर हिँड्ने उहाँको बानी थियो। देशमा कति धान फल्छ भन्न सक्ने एक मात्र उहाँ हुनुहुन्थ्यो।
काठमाडौंमा अनिकाल परेको बेला उहाँले सरकारलाई सहयोग गर्नुभयो। सामान्यता जब अनिकाल पर्छ मूल्य बढाउने व्यापारीको जात हुन्छ। उहाँ त्यसको विपरित हुनुहुन्थ्यो। पैसाभन्दा पनि समाजप्रतिको दायित्वबोध गरेर हाम्रो परिवार अघि बढेको थियो। 

तर त्यसपछिको पुस्ता ठूलो भयो। त्यतिबेला पनि काम गर्न खोजिएको हो। काम भएका पनि थिए। मैदा, चिनी र फर्निचर उद्योग खुले। जापानमा अफिस राखेर ट्रेडिङ अफिस खोलिएको थियो। तर परिवार ठुलो हुँदा फोकस कम भयो वा पैसा कम भयो व्यवसाय बढ्न सकेन। त्यसका साथसाथै राजनीतिक परिवर्तन पनि भए। हामीजस्तो अविकसित देशमा राजनीतिक परिवर्तनले आर्थिक परिवर्तन पनि आउँछ। राजनीतिज्ञको नजिक भएकाहरु अघि बढे। नयाँ धनाढ्य देखा परे। यी र यस्तै कारणले हाम्रो गाडीमा ब्रेक लाग्यो। 

व्यापारमा संकट र जोखिम जतिबेला पनि आउँछ। कर्मचारीको जीवनमा त संकट आउँछ भने व्यापारमा पनि संकट हुन्छ। आफ्नै गलत निर्णय, कसैको बदमासी वा हेलचेक्राँइले व्यवसायमा ठूलो जोखिम आइपर्छ। त्यो हामीले देखेका छौँ। जोखिम लिएर काम गर्छौ। हाम्रो अनुभव र जीवनशैली नै त्यस्तो भइसक्यो।
---
तपाईंको समूह उद्योगमा अलि फोकस्ड भएर काम गरेको देखिन्छ। उद्योगको साटो व्यापारमा मात्रै लागेको भए अझ हाम्रो ग्रोथ हुन्थ्यो भन्ने लाग्दैन?
त्यो पनि कतै होला। नेपालको क्षेत्रमा व्यापार गर्नेहरुले प्रगति पनि गरेका छन्। हाम्रो बुबा, काकाले धेरै व्यापार गर्नुभयो। कपडाको व्यापार थियो। त्यतिबेला हामी नेपालको एउटा प्रमुख व्यापारिक घराना थियौँ। अहिले जसले व्यापार राम्रो गर्नुभएको छ, उहाँहरुले राम्रो एजेन्सी समातेर काम गर्नुभयो। हामीलाई बीचमा केही ठूला धक्का पनि लागे। त्यसले गर्दा व्यापार कमजोर हुन गए। पछि हामी उद्योगतिर सिफ्ट भयौँ। मेरो जीवनमा पनि केही व्यापार गरेँ, तर अहिले उद्योगको विविधीकरणमा लागेको छु। हाम्रो परिवार भित्र व्यापार गर्नेहरु पनि छन्। तर अरु व्यापारिक घरानाजस्तो होइन। 

हाम्रो उद्योगीहरुको क्षमता बढेको छ। पहिले ३०/४० करोडको आयोजनालाई ठूला मान्ने उद्योगी अहिले २/३ सय अर्बका उद्योगमा लगानी गर्न थालेका छन्। विदेशी लगानीको नाममा भित्रिएको उद्योगमा पनि स्वदेशी लगानी भएको छ। केही उद्योगमा रेस्ट्रिक्सन चाहिन्छ की?
हामीले विदेशी लगानी भनिरहेका छौँ। कति लगानी इक्विटीका रुपमा मात्रै भित्रिरहेको छ। त्यहाँबाट पूर्ण पैसा त आउँदैन। लगानी गर्नेले २०/२५ प्रतिशत पैसा लिएर आउँछ। तर त्योभन्दा दोब्बर पैसा प्रविधि खरिद गर्न बाहिर जान्छ। त्यसो भएको हुँदा विदेशी लगानी हामीलाई खासै फलदायी भइरहेको छैन। हामीले हार्ड करेन्सी प्राप्त गर्न सक्ने क्षेत्रमा विदेशी लगानी भित्र्याउनु पर्छ। विदेशी मुद्रा इक्विटीका रुपमा मात्रै होइन ऋण र लगानीका रुपमा ल्याउनुपर्छ। विदेशी बैंकले पनि  लगानी गर्नुपर्छ। त्यस्तो लगानी मात्रै हाम्रा लागि फलदायी, दीगो र देश हितकर हुन्छ। अहिले विदेशबाट लगानी त ल्याउने तर भोलि प्रतिफल लैजान दिएनौं वा दिन सकेनौं भने हाम्रो शाख के हुन्छ? हामीले त्यो पनि विचार गर्नुपर्छ।

कुनै समय नेपालको कूल गार्हस्थ उत्पादनको १५ प्रतिशत उद्योग क्षेत्रको योगदान थियो। त्यो अहिले खुम्चिएको छ। उद्योगका लागि अति आवश्यक न्यूनतम पूर्वाधार पुर्या्उन पनि समस्या छ। उद्योगको फाइल पास गराउन घुस खुवाउनुपर्छ, बिजुली जोड्न घुस दिनुपर्छ, यो अवस्थाले तपाईंलाई काम गर्न कत्तिको बाधा पुर्याुएको छ?
हाम्रो समाज जुन परिपाटीले चलिरहेको छ, समग्र क्षेत्र नै यही अवस्थाले चलिरहेको छ। सेवा दिनुपर्नेले पर्याप्त सेवा दिन सकेको छैन। जो व्यक्तिले सहजकर्ताका रुपमा काम गर्नुपर्ने हो, उसले डेलिभरी दिन सकेको छैन। उसले सेवा दिन सकेको छैन। सरकारले व्यवस्थापन गरिदिने हो। सरकारी कार्यालय गएर हेर्ने हो भने आज पनि ५० वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै छ। सरकारी कार्यालयमा राणा शासन वा प्रजातन्त्र आएको बेला र आज के फरक छ? उहाँहरुले काम गर्ने शैली एउटै किसिमको छ। उहाँहरुको क्षमता जसरी विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन। 

सरकारले जसरी पूर्वाधार बनाउनुपर्ने थियो त्यहाँ चुकेको छ। अहिले पनि कार्यालय जीर्ण छन्। भूकम्पले चर्किएका कार्यालय नयाँ बन्नेबाहेक केही भएको छैन। फाइल राख्ने तरिका उस्तै छ। चाहे भन्सार भन्नुस् या अन्यत्र सबैतिरको काम उस्तै छ। आजको समय सूचना प्रविधिलाई प्रयोग गरेर अघि बढ्नुपर्ने हो। हाम्रो सोच, हाम्रो सरकारको सोच त्यहाँ चुकेको छ। व्यापार र व्यवसायको आकार बढेको छ। जिडिपीमा योगदान घटेको होला तर संख्या बढेको छ, आकार बढेको छ। पुरानो संरचनाले त्यसलाई धान्न सक्दैन। 

आज पनि ५० वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै छ। सरकारी कार्यालयमा राणा शासन वा प्रजातन्त्र आएको बेला र आज के फरक छ? उहाँहरुले काम गर्ने शैली एउटै किसिमको छ। उहाँहरुको क्षमता जसरी विकास हुनुपर्ने थियो, त्यो हुन सकेको छैन। 
---
तपाईं व्यवसायिक क्षेत्रको नेतृत्व तहमै हुनुहुन्थ्यो। अहिले तपाईं ती संस्थाभन्दा वाहिर हुनुहुन्छ। व्यवसायिक संस्थाको गतिविधी कमजोर भएर तपाई वाहिर बस्नुभएको हो?
राजनीति त जहाँ पनि हुन्छ। तर मेरो सोच अलिकति पृथक छ। म अलि दीर्घकालीन सोच राख्छु। अलि ठूलो केकको कुरा गर्छु। मैले म मात्रै हेरेर कुरा गर्दिनँ। समग्र समाज सुधार भयो भने म पनि ठूलो हुन्छु। मेरो केक पनि ठूलो हुन्छ। यही मान्यतामा म अघि बढेको छु। मैले मेरो मेरो भनेर हुँदैन हाम्रो भन्नुपर्छ। हामी समग्रमा परिवर्तन हुनुपर्छ। म मात्रै धनी भएर हुँदैन। मसँग बस्ने मान्छे पनि धनी हुनुपर्छ। नेपालमा राजा र राणाहरु जनतासँग बस्न सकेनन्। हामीजस्ता व्यवसायीका पूर्खासँग बसेर जुवा खेल्थे। उहाँहरु त्यसैबाट बढ्नु पनि भएको हो। त्यसैगरी हाम्रो समाजले परिवर्तन खोजेको छ। परिवर्तन गर्नु पनि पर्छ। 

हामी कहाँ संघ संस्थाहरु धेरै भए। तर ती संस्थाले जुन किसिमको भूमिका खेल्नुपर्ने थियो, त्यो किसिमको भूमिका खेल्न सकेको छैन। अझै पनि म र मेरो भन्नेमा हामी अघि बढिरहेका छौँ। मलाई मेरो दुखभन्दा ठूलो अरु कसैको दुख लाग्दैन। हामी बेसमा हिट गरिरहेका छैनौँ। हाम्रोमा जति संघ संस्था छन् तिनीहरु फायर फाइटिङको काममा लागेका छन्। यसलाई जरैबाट परिवर्तन ल्याउने भन्नेमा हाम्रो ध्यान गएको छैन। 

एउटै संस्थाहरुमा न्यूनतम पनि २/३ करोड तलब हुनुपर्ने थियो। त्यो तहका मान्छे त्यहाँ रह्यो भने पो काम हुन्छ। त्यहाँ मुस्किलले ५०/६० लाख तलब खर्च होला। सबैभन्दा ठुलो एफएनसिसिआई छ, त्यसकै खर्च यति होला। जबसम्म हामीले लगानी त्यस किसिमले गर्दैनौँ तबसम्म काम हुन सक्दैन। हाम्रो पनि लगानी भएको एउटै बैंक छ, त्यहाँका प्रमुखको तलव ६ करोड रुपैयाँ छ। उद्योगहरुमा २/३ करोड रुपैयाँ छ। तर देशभरका उद्योगीको संस्थामा करोड तलब छैन। कसरी त्यसले काम गर्न सक्छ? त्यसले त गार्भेज इन र गार्भेज आउट मात्रै गर्ने हो। र ती संस्था व्यक्तिगतरुपमा चलेका छन्। हामीजस्ताले आफ्नो काम छाडेर कति समय त्यस्ता संस्थालाई दिन सक्छौँ? 

तपाईं उद्योगी पनि हुनुहुन्छ। वित्तीय क्षेत्रमा पनि लगानी गर्नुभएको छ। उद्योगीले लगानी गर्न ऋण पाइरहेका छैनन्। बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन्। यो अवस्था चक्रियरुपमा देखिएको छ। दोष एक अर्कालाई लगाइरहेको देखिन्छ। 
एक अर्कालाई औँला देखाए पनि तीनवटा औँला त आफैँ तिर छ। समस्या ममा छ भने समाधानको उपाय पनि मसँग छ। हामी सबै मिलेर काम गर्योि भने समाधान निस्किन्छ। अलिकति व्यक्तिगत स्वार्थबाट हामी पछि हट्नुपर्छ। हामीसँग जे जति पैसा छ त्यसलाई कसरी चलाएमान बनाउने भन्ने मुख्य कुरा हो। पैसा कतै गएर थन्किएर बस्यो भने त्यसले नकारात्मक असर गर्छ। हामी जति छिटो पैसा चलाउन सक्छौँ त्यति नै फाइदा हुन्छ। अहिले छिटो काम गर्ने जमाना छ। त्यसैले हामीले भएको मुद्रालाई छिटो छिटो परिचालन गर्नुपर्छ। बैंकलाई दोष लगाएर मात्रै हुँदैन। बैंक पनि व्यवसाय गर्छ, हामी पनि व्यापारमा छौँ। 

हामीले विदेशी लगानी भनिरहेका छौँ। कति लगानी इक्विटीका रुपमा मात्रै भित्रिरहेको छ। त्यहाँबाट पूर्ण पैसा त आउँदैन। लगानी गर्नेले २०/२५ प्रतिशत पैसा लिएर आउँछ। तर त्योभन्दा दोब्बर पैसा प्रविधि खरिद गर्न बाहिर जान्छ। त्यसो भएको हुँदा विदेशी लगानी हामीलाई खासै फलदायी भइरहेको छैन।
---
तर बैंकहरु धेरै नाफामुखी हुँदा समस्या आयो भन्ने गरेको देखिन्छ?
बैंकहरुले त्यत्रो विधि धेरै के नाफा गरेका छन्र? बैंकमाथि उद्योगीभन्दा पनि समाजले धेरै आरोप लगाएको हो। आज बैंकको रिटर्न अन इक्विटी निकालेर हेर्नुस् कति नाफा गरेको छ? २८ वटा बैंकको औषत आरओई १२/१४ प्रतिशत छ। जबकी हाम्रो डिभ्यालुएसन नै ४/५ प्रतिशत छ। भनेपछि हाम्रो वास्तविक वृद्धि कति भयो? ७/८ प्रतिशत। यो ठिक हो त? हामीले आरओई हेर्नुपर्छ। 

बैंकल अर्ब कमायो भनेर हुँदैन। आजको दिनमा चार अर्ब रुपैयाँ कमाउने के हो? एउटा बैंकमा अर्ब तलब बाँडिन्छ त्यसले ४ अर्ब कमाउनुलाई के कमाएको भन्ने। बैंकले १०/१५ हजार करोड कमाउनु पर्छ। हाम्रोमा झारेझुरे बैंक छन्। बैंकहरुको त्यो क्षमता विकास हुनुपर्छ। नबुझेर वा बुझेर पनि बुझ पचाएर त्यस्तो कुरा भइरहेको छ। हामी एक अर्काको कुरा काटेर कहिँ पनि पुग्दैनौँ। बैंकले जनताको पैसा बचतमा लिएर जनतालाई नै लगानी गर्ने हो। बैंकसँग पैसा आएन भने उसले कहाँबाट दिन्छ? बैंकको पैसा बजारमा फस्छ वा त्यो करको रुपमा कतै डम्प भएर बस्छ र खर्च हुँदैन भने बजारमा नगद अभाव हुन्छ। त्यस्तो संकट आउँदा हाम्रो व्यापार घट्छ, देश विकास हुन सक्दैन। जनताको अपेक्षा पनि पुरा हुँदैन। 

सरकारले सामाजिक सुरक्षा योजना लागू गरेको छ। यसलाई उद्योगीको हिसाबले तपाईंले कसरी हेर्नुभएको छ?
सामाजिक सुरक्षा योजना सरकारले लागू गरेको छ। आफैँमा यसले के योगदान दिन्छ त्यसको मूल्यांकन हामीले गर्नुपर्छ। उद्योगीको लागत बढाउँछ यो निश्चित हो। तर यसबाट उत्पादकत्व वृद्धि कति हुन्छ? त्यो हेर्नुपर्छ। उत्पादकत्व बढाउन सकिँदैन भने त्यसको प्रभाव बजारमा देखिन्छ। बजारमा लागत बढेपछि त्यो दालभातमा देखिन्छ। यसबाट सबैले लाभ लिन सक्नुपर्छ। व्यवसायिक लागत कम गर्ने र उत्पादकत्व बढाउनेतर्फ सोच्नुपर्छ। सामाजिक सुरक्षा कोषमा पैसा त गयो तर त्यसले अस्पताल त बन्दैन। कोषमा पैसा सड्ने तर पूर्वाधार नबन्ने हुनु भएन। हामीलाई विद्यालय चाहिन्छ, अस्पताल बन्नुपर्छ। राम्रो हावा पाउनु पर्छ। मानवका लागि बाँच्न चाहिने घर खै। यी सबै कुरा सम्बोधन गर्न सक्ने हो भने यो योजना राम्रो हुन्छ।

संघीय संरचनामा गएपछि दोहोरो करको विषय धेरै आए। कति विषय त समाधान भइसके पनि भनिएको छ। अहिलेको अवस्था कस्तो छ?
आज म उद्योगी पनि हुँ, उपभोक्ता पनि हुँ। हामीले कर धेरै लगाउँदा संसारबाटै अप्रतिस्पर्धी भइरहेका छौँ। राज्यले कर लिन्छ। तर त्यो प्रणालीमा हुनुपर्छ। सामञ्जस्यता हुनुपर्छ। एउटै कर तीन ठाउँबाट उठाउनु भएन। करको विभाजन गर्ने भनिएको छ त्यो हुनुपर्छ। हामीले कर कसलाई बुझाउने हो भनिदिने हो भने हामी त्यही अनुसार दिन्छौँ। हामी केन्द्रमा कर तिर्छौँ स्थानीय र प्रदेशले पनि भाग खोज्छ। त्यो अवस्था आउनु भएन। हामीलाई यति कर यहाँ बुझाऊ यति कर त्यहाँ बुझाऊ भन्यो भने त्यही अनुसार गर्छौँ। तर हप्काउने, क्षति पुर्याउने काम भयो भने व्यवसायीको कन्फिडेन्स पनि घट्छ।

Share this Story

   

एउटै बैंकमा अर्ब तलब बाँडिन्छ, तर त्यसले ४ अर्ब मात्रै कमाउँछ? मनोज केडियाको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.