आज लगानी गरेर भोली नै प्रतिफल खोज्नेले शेयर बजारलाई ‘जुवा घर’ बनाए, राधा पोखरेलको बिचार

बिजमाण्डू
२०७५ पुष २१ गते १६:४९ | Jan 5, 2019
आज लगानी गरेर भोली नै प्रतिफल खोज्नेले शेयर बजारलाई ‘जुवा घर’ बनाए, राधा पोखरेलको बिचार

कराएर शेयर कारोबार गर्ने प्राणाली (ओपन क्राई सिस्टम) देखि अर्धस्वचालित प्रणाली पार गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको अभौतिकीकरण कारोबारको अवस्थामा आइपुगेको छ। तर पनि नेपालको पूँजी बजार पूर्ण रुपमा विकसित हुन सकिरहेको छैन। 

Tata
GBIME
Nepal Life

पूँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरुको अझै सुधार गर्न बाँकी छन्। अनलाइन प्रणालीबाट पुर्ण रुपमा कारोबार नभएसम्म नगएसम्म पूँजी बजारको विकासको गति सुस्त नै रहन्छ। हाम्रो बजारमा अझै पनि शेयर साक्षारताको कमी छ। बजारका बारेमा ज्ञान नहुँदा पूँजी भएर पनि शेयर बजारमा आउन चाहाने लगानीकर्ता हच्किनु पर्ने स्थिति छ। बजारमा शेयर परामर्शदाताहरुको व्यवस्था छैन। त्यसैले लगानीकर्तालाई बढीभन्दा बढी शेयर साक्षरताको आवश्यकता देखिएको छ। 

पछिल्लो समय बजारको आकार र आकर्षणमा आएको वृद्धिसँगै पूँजी बजारमा भित्रिन चाहने नयाँ लगानीकर्ताहरुको सङ्ख्या बढ्ने क्रममा छ। नेप्सेले विकास गरेको अनलाइन प्रणालीबाट विश्वका जुनसुकै ठाउँमा बसेर शेयर किनवेच गर्न सकिन्छ। नेपालमा शेयर किनवेच २०५० माघ बाटै सुरु भएको भए पनि अनलाइन पाउन २५ वर्ष कुर्नु पर्यो। कात्तिक २० गतेबाट ब्रोकर कार्यालय नै धाऊनु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा गरिएकोमा बैंक र डिम्याट खाताको इन्ट्रिगेसनमा ढिलाइ हुँदा केहि समय लाग्यो। अवका दिनमा हामी ब्रोकर कार्यालय नगइ शेयर कारोबार गर्न सक्छौ। 

हामीले यो सिस्टमबाट अधिक फाईदा लिनु पर्ने हुन्छ। नयाँ सिस्टम भरखरै सुरुवात भएको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले हामी सँगको सहकार्यमा यो प्रणालीलाई देशको दुरदराजसम्म पुर्याउन विभिन्न कार्यक्रम गरिरहेका छौ। 

कोदो धान पनि रोपेपछि मात्रै फल्छ। धान पनि फलाउन रोप्नै पर्छ। पैसा पनि रोपेपछि फल्छ। धान र कोदो खेतबारीमा फल्छ भने पैसा फल्न शेयर बजारमा रोप्नुपर्छ। शेयर हुनु भनेको कम्पनीको मालिक हुनु हो। कम्पनीले कमाएपछि शेयरहोल्डरलाई नै बाँड्ने हो। आजको भोली नै कमाउन खोज्नेका लागि शेयर बजार उपयुक्त ठाउँ होइन। जो आजको भोलि कमाउन शेयर वजारमा प्रवेश गर्छन् तिनले नै घाटा खान्छन्। आज लगानी गरेर भोलि नै प्रतिफल खोज्नेले शेयर बजारलाई ‘जुवा घर’ बनाएका हुन्। 

शेयर बजारमा सूचीकृत कम्पनीले लगानीकर्तालाई कमाएको लाभांश बाँड्छन्। कम्पनीको आम्दानी देशको अर्थव्यवस्थामा आधारित हुन्छ । देशको अर्थव्यवस्था मजवुत हुँदै गएमा कम्पनीको आम्दानी पनि बढछ। कम्पनीको आम्दानी बढ्नु भनेको लगानीकर्ताको लाभांश बढ्नु हो। यसले बजारमा शेयरमा सूचीकृत कम्पनीको मूल्य समेत बढाउँछ।  अब नेपालको शेयर बजार सुनौला दिनहरुको सङ्घारमा उभिएको छ। अब चाँडै नै शेयर बजार नयाँ युगको प्रबेश गर्ने छ र लगानीकर्ताहरुको सोचाईभन्दा धेरै माथिको छलाङ्ग मार्ने पक्का छ।

चङ्गा ऊडाउनलाई तपाई सँग जतिनै वढी ज्ञान भए पनि हावा नभई चंङगा उडदैन त्यसै गरी शेयर वजारमा जसले जतिनै ज्ञान हासिस गरेपनि महौल नबनि शेयर वजार माथि जाने सक्दैन। शेयर मार्केटमा पढेलेखेको मानिस सधै सफल हुदैनन्। शेयर मार्केटमा हरेक लगानीकर्ताले अन्दाज लगाएर काम गर्ने गर्छन। 

अहिलेको अवस्थामा मलाई शेयर बजारमा घाटा भइरहेको छ। तर म चिन्तित छैन। कारण म दीर्घकालिन लगानीकर्ता हुँ। शेयर बजारबाट पैसा कमाउने एउटै मन्त्र हो  यसवाट भाग्दै नभाग्ने। 

आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ।  बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलको भाउमा बेच्न हतारिनु लगानीकर्ताकै बेवकुफी हो। अहिले लगानीकर्ताले सुन बराबरको शेयर पित्तलको भाउमा बिक्री गरिरहेका छन्। त्यसैले हल्लाको पछाडि नलागी कम्पनीको आर्थिक विवरण अध्ययन गर्ने लगानीकर्ताहरुले घाटा खानु पर्दैन।
(नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलले एक कार्यक्रममा ब्यक्त गरेको बिचार)