मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटाउने, व्यवसायीले गरे स्वागत

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ पुष २३ गते १७:४९ | Jan 7, 2019
मोरङको बुढीगंगा गाउँपालिकाले व्यवसाय कर घटाउने, व्यवसायीले गरे स्वागत


विराटनगर। मोरङको बुढीगंगा गाउँपालिकाले उद्योगहरूबाट लिँदै आएको व्यवसाय कर चालु आर्थिक वर्षदेखि नै घटाउने भएको छ ।

Tata
GBIME
Nepal Life

मोरङ व्यापार संघ  र उद्योग संगठन मोरङले बारम्बार गरेको आग्रह र दबाबको प्रतिफलका रूपमा गाउँपालिकाले व्यवसाय कर घटाउन लागेको हो ।गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीले संघ र संगठनमा आबद्ध व्यवसायीको अनुरोधलाई सम्बोधन गर्दै व्यवसाय कर घटाउन लागिएको पुष्टि गरे ।
गाउँपालिकाको राजस्व परामर्श समितिको बैठकले कुन किसिमका उद्योगलाई कति कर लगाउनुपर्ने भनी परिमार्जनसहितको सुझाव प्रस्तुत गरेको गाउँपालिकाका कार्यकारी अधिकृत विनोद न्यौपानेले बताए ।

जसअनुसार कुटीर उद्योगले तिर्नुपर्ने व्यवसाय कर वार्षिक १० हजारबाट ५ सयमा झारिएको छ ।त्यस्तै २५ एचपीभन्दा कमको मोटर राख्ने घरेलु उद्योगले तिर्नुपर्ने वार्षिक व्यवसाय करलाई २५ हजारबाट ५ हजार बनाइएको छ ।बुढीगङ्गामा यस्ता घरेलु उद्योग १७ वटा भएको गाउँपालिकाले जनाएको छ ।

साना उद्योगले तिर्नुपर्ने भनिएको व्यवसाय कर वार्षिक १ लाख रुपैयाँलाई घटाएर ५० हजार निर्धारण गरिएको छ । गाउँपालिकाले ५४ वटा साना उद्योग रहेको सूचीकृत गरेको छ ।त्यसैगरी मझौला उद्योगले तिर्नुपर्ने वार्षिक ३ लाख रुपैयाँ व्यवसाय करलाई १ लाख ६० हजारमा झारिएको छ । गाउँपालिकामा मझौला उद्योग १९ वटा रहेको जनाइएको छ ।

गाउँपालिकामा रहेका ७ वटा ठूला उद्योगले तिर्नुपर्ने भनिएको वार्षिक ५ लाख रुपैयाँलाई भने यथावत् राखिएको छ । ठूला उद्योगमा आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयल परेका छन् ।कार्यकारी अधिकृत न्यौपानेका अनुसार राजस्व परामर्श समितिले दिएको रायलाई गाउँपालिकाको कार्यपालिकामा पारित गरिन्छ । कार्यपालिकाले पारित गरेपछि माघमा हुने गाउँसभामा पारितका लागि प्रस्ताव गरिन्छ । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ र व्यवसाय करको परिमार्जित दर लागु हुन्छ ।

आगामी गाउँसभा माघमित्र भइसक्ने उनले बताए ।यसअघि असार ७ देखि १४ गते सम्म भएको गाउँसभाले पारित गरेर लागु भएको व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने भएको हो । गाउँपालिकाको निर्णयलाई मोरङका व्यवसायीले स्वागत गरेका छन् ।‘यसअघि हामीले व्यावसायिक करमा परिमार्जन गरियोस् भनेर दबाबमूलक बृहत् कार्यक्रम गरेका थियौँ’, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले भने, ‘त्यसको असर अहिले देखिँदैछ । यो स्वागतयोग्य खबर हो । यो नजिर बनेको छ, अब अन्य ठाउँका उद्योगका कर पनि घटाइनु पर्छ ।’

‘हामीले विभिन्न फोरम, मञ्च, डेलिगेसन र अवसरमा निरन्तर अनुरोध गरेर दबाब सृजना गरिरहेका थियौँ’, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ थियो, ‘कर बढाएर उद्योगव्यवसाय फस्टाउँदैन भन्ने तथ्यलाई तीन तहकै सरकारले बुझ्नु आवश्यक छ ।’