राजधानीका चार कुनामा नयाँ शहर बनाउन परामर्शदाता कम्पनीले बुझायो स्थलगत रिपोर्ट

बिजमाण्डू
२०७५ पुष २८ गते १०:०२ | Jan 12, 2019
राजधानीका चार कुनामा नयाँ शहर बनाउन परामर्शदाता कम्पनीले बुझायो स्थलगत रिपोर्ट

काठमाडौं। काठमाडौं उपत्यकाको चार कुनामा आगामी पाँच बर्षमा चार नयाँ शहर निर्माण हुने भएका छन्। पाँच बर्षमा शहर नै तयार पार्ने गरि उपत्यका विकास प्राधिकरणले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको छ। 
 
प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले शहर विकास गर्नका लागि सम्भाव्यता र स्थलगत रिपोर्ट तयार भइसकेको जानकारी दिए। उनका अनुसार परामर्शदाता कम्पनीले स्थलगत रिपोर्ट प्राधिकरणलाई बुझाइसकेका छन्।

Tata
GBIME
Nepal Life

चार वटै शहरका लागि आगामी असार मसान्तसम्म डिपिआर तयार पार्ने गरि काम भइरहेको छ। प्राधिकरणका अनुसार डिपिआर तयार भएपछि मन्त्रीपरिषदबाट स्विकृत गरिनेछ। त्यसपछि शहर निर्माणको काम अघि बढ्ने छ।

प्राधिकरणले गरेको  सम्भाव्यता अध्ययनले चार वटा शहर विकास गर्नका लागि १० अर्ब रुपैयाँ लाग्ने देखाइएको छ। सरकारले बजेट  व्यवस्थापन गरे काम सुरु गरेको तीन बर्षमा शहरको स्वरुप तयार पार्न सकिने बताए। तर, पूर्ण रुपमा शहरी पुर्वाधार विकास गर्न भने पाँच बर्ष लाग्ने परामर्शदाता कम्पनीले बुझाएको प्रतिवेदनले देखाएको छ।

व्यवस्थित ल्याण्डफिल्ड साइट, अस्पताल, बजार क्षेत्र, व्यवस्थित सडक सञ्जाल,  बजार, औद्योगिक क्षेत्र, विद्यालय बैंक तथा वित्तीय संस्था लगायत व्यवस्थित हुनेछन्। अहिलेको काठमाडौंमा अस्तव्यस्त शहरीकरण बढेको भन्दै प्राधिकरणले व्यवस्थित शहरीकरणका लागि नयाँ शहर विकास गर्न लागेको हो। 

उपत्यकाको चार कुनामा १ लाख ३० हजार रोपनीमा चार वटा शहर विकास गर्न लागिएको छ। चार वटै शहरलाई बाहिरी चक्रपथलाई छुनेछ। 

पहिलो काठमाडौं इशानको डिपिआर निर्माणको काम फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले गरिरहेको छ।  जसको स्थलगत रिपोर्ट तयार भइसकेको छ। अहिले डिपिआरको काम भइरहेको प्राधिकरणले जनाएको छ। एक बर्षअघिबाट कम्पनीले अध्ययनको काम सुरु गरेको हो। अध्यययनका लागि १८ महिनाको समायावधि पाएको छ।  

प्राधिकरणका अनुसार, यो शहर १ लाख रोपनी क्षेत्रफलमा फैलने छ, जुन विकास गर्न लागिएका चारमध्ये सबैभन्दा ठूलो हुनेछ।  यो काठमाडौंको पुर्व उत्तर दिशामा विकास गर्न लागिएको छ। पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट, भन्ज्याङसम्म तथा पश्चिममा मुलपानी क्रिकेट स्टेडियमबाट मुलपानी,  गोठाटार हुँदै मनोहरा पुल भक्तपुरसम्म फैलने छ। त्यस्तै उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको पुरानो बाटोसम्म फैलने छ। 

दोस्रो काठमाडौं आग्नेयको डिपिआर निर्माणको काम इमआरसि /एनइएसिटी एडी जेभीले गरिरहेको छ। पुर्व दक्षिण दिशामा विकास गर्न लागिएको यो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलने छ। यो पुर्वको अरनी राजमार्गको सूर्य विनायक चोकदेखि मन्दिर हुँदै सुर्यविनायक चोक वनलाई बाहिर पार्दै निर्माण हुनेछ।

पश्चिममा खहरेखोला, बालकोट, विरुवा सडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालाई छुनेछ। शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म फैलने छ। दक्षिणमा भक्पुरको सिलागाल, रानीकोट, फेदी तर्खथाल पात्लेश्वर हुँदै खहरे पुग्छ।  

तेस्रो काठमाडौं नैऋत्य शहरको पनि डिपिआर निर्माणको काम इमआरसि /एनइएसिटी एडी जेभीले गरिरहेको छ। दक्षिण पश्चिम दिशामा विकास गर्न लागिएको छ। यो शहर १० हजार रोपनी क्षेत्रफलमा नै फैलिने छ। यो ललितपुरमा निर्माण हुनेछ।

पूर्वमा छ्यासिकोट देखि साविकको सैबु गाविसको सिमाना हुँदै फर्सिडोल बागमती नदीको झोलुङगे पुलसम्म पुग्नेछ। त्यस्तै पश्चिममा बागमती नदिको सिमानासम्म तथा दक्षिणमा बागमती नदिसम्म फैलिने छ। 

चौथो काठमाडौं उत्तर। यो शहर पनि १० हजार रोपनी क्षेत्रफलमा विकास हुने छ। पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाईपास पुग्नेछ। पश्चिममा काभ्रेस्थलीदेखि बाईपास जाने मुल सडक छुनेछ। उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थलितिर जाने छ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुल छुने छ।