माघेसंक्रान्तिमा घ्यू चाकु खाँदै बुलफाइट हेर्न जाने ? नुवाकोटमा १ गते ६५ हल गोरुको ‘फाइट’

बिजमाण्डू
२०७५ पुष ३० गते ११:३३ | Jan 14, 2019


काठमाडौं। माघे संक्रान्तिको दिन नुवाकोटको विभिन्न चार ठाउँमा ६५ हल गोरुको 'बुलफाइट' आयोजना हुने भएको छ।
तारुकामा २३ हल, धादिङको  धुवाँकोटमा १८ हल, वेत्रावतीमा आठ हल र घलेगाउँमा  १६ हल गोरु गरी जम्मा ६५ हल गोरुको सहभागिता रहने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष वलराम न्यौपानेले बताए।   

Tata
GBIME
Nepal Life

उनका अनुसार  सबै क्षेत्रमा  एउटै समयमा कार्यक्रम सुरु गरिनेछ।

'हाम्रो संस्कृति र परम्परा हाम्रो परिचय र मौलिकता हुन्। यो मेलालाई प्रचार प्रसार गर्दै यो ठाउँलाई पर्यटकीय आकर्षण गराउनु हाम्रो मुख्य उद्देश्य हो।' न्यौपानेले भने।

उनका अनुसार मेलामा आयोजना हुन लागेको 'बुलफाइट' मा विजेता गोरुलाई छ हजार रुपैयाँको नगद पुरस्कार राखिएको छ भने उपविजेता गोरुका लागि चार हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ।

वि.सं. १९८० को दशकमा बझांगी राजा जय पृथ्वी बहादुर सिंहको मावली घर तारुका रहेको थियो। उनी मामाघर आउँदा उनका मामाले आफ्नो भान्जालाई मनोरञ्जन दिने क्रममा गोरु जुधाई आयोजना गरेपछि यो मेलाले निरन्तरता पाउन थालेको बताइन्छ।

आन्तरिक र बाह्य पर्यटकलाई प्रेरित गर्ने उद्देश्यले गोरु जुधाइ मेलालाई निरन्तरता दिइँदै आएको समाजले जनाएको छ।

मेला आयोजनाका लागि नेपाल टुरिजम् बोर्डले चारै क्षेत्रमा दुई लाख रुपैयाँ छुट्टाएको नेपाल टुरिजम् बोर्ड संचालक समितिका सदस्य दीपक महतले बताए।

'दुई लाख रुपैयाँमा १५ प्रतिशत कर तिर्दा एक लाख ७० हजार रुपैयाँ आयोजना गर्ने सबै क्षेत्रलाई वितरण गरिनेछ। तर यसका लागि आयोजकले गरेको कार्यक्रम र व्यवस्थापनको तस्विर नेपाल पर्यटन बोर्डमा पठाउनुपर्नेछ। त्यसपछि उक्त रकम दिइनेछ।' महतले भने।

महतले कार्यक्रममा उक्त रकमका लागि मेला सुरु हुनु अगावै नेपाल पर्यटन बोर्डसँग एमओयु गर्न निर्देशन दिएका छन्।  

मेलामा गोरु जुधाई सँगै स्थानीय 'बालन' खैजेडी भजन, नौमती बाजा, झाँकीका साथै कलाकारको प्रस्तुति लगायतका कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएका छन्।  मौलिक परिकारका स्टलहरु समेत राखिने बताइएको छ।