एकाएक बढ्यो शेयर बजार, ब्याजको किस्ता बुझाएपछि बजारमा चमक आउनुमा यस्तो छ कारण

अरुण सापकोटा/बिजमाण्डू
२०७५ माघ १ गते १६:०६ | Jan 15, 2019
एकाएक बढ्यो शेयर बजार, ब्याजको किस्ता बुझाएपछि बजारमा चमक आउनुमा यस्तो छ कारण



काठमाडौं। दोस्रो त्रैमाशको ऋणको ब्याज र कर भूक्तानी गरेपछि शेयर बजारमा एकाएक चमक देखिएको छ।

Tata
GBIME
Nepal Life

लगानीकर्ताले तीन महिनाको लागि व्याज किस्ता र कर भूक्तानी गरेपछि शेयरमा सुधार देखिएको बजार बिश्लेषक प्रकाश तिवारीले बताए। उनका अनुसार मंगलबारको सुधार तात्कालिन मात्रै हो।‘यो बबल्स हो। बजारले अझै दीर्घकालिन संकेत गर्न सकेको छैन’ उनले बिजमाण्डूसँग भने,’त्यही भएर कहिले उकालो लाग्ने र कहिले ओरालो लाग्ने गरेको हो।’

दश अर्ब रुपैयाँको माथिल्लो तामाकोशीको शेयरले बजार बढाउन सहयोग गरेपनि बजारलाई सुधारतर्फनै लैजाने संकेत नदेखिएको उनले बताए। विगतमा ब्याजदरको प्रेसरमा रहेका लगानीकर्तामा दबाब कम हुँदा बजार बढ्न टेवा मात्रै मिलेको ब्रोकर एसोशिएसनका पूर्व अध्यक्ष ईश्वरी रिमालले बताए। बैंकिङ क्षेत्रमा तरलताको समयस्या अझै रहेकोले सुधार दिगो नहुने उनको अनुमान छ। सरकारले दोस्रो त्रैमासको करवापत थप रकम खिचेकोले बजारमा तरलता अभाव झन् चर्किने अवस्था छ। सरकारले रकम खिचेपनि विकास खर्च भने गर्न सकेको छैन। अहिलेपनि विकास खर्च जम्माजम्मी १७ दशमलब १७ प्रतिशत मात्रै छ।

अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांस वितरण गरेको हुँदा त्यस्तो पैसा पुनः शेयर बजारमा आउने भएकोले बजारमा माग बढेको रिमाल बताउँछन्। अघिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाले पूँजी जुटाउने क्रममा बोनस शेयर मात्रै वितरण गर्दै आएकोमा यस पटक अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीले नगद लाभांस दिएका छन्।

नगद लाभांसबाट प्राप्त भएको रकमले लगानीकर्ताको शेयर खरिद गर्ने सक्ने क्षमता बढाएको हो। यसका साथै कम्पनीहरुले यो महिनामा दोस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्ने छन्। बजारमा सूचीकृत सम्पूर्ण कम्पनीको अवस्था राम्रो भएको हुँदा उनीहरुको नाफा गत वर्षमा भन्दा बढेर आउने अनुमानले पनि बजारमा टेवा पुर्याएको हो।

तर बैंकहरुको भन्दा लघुवित्त र बीमा कम्पनीकै मात्रै बजार बढ्नुले यसको दिगोपनामा शंका गर्ने ठाउँ रहेको ब्रोकर बताउँछन्। मंगलबारको १७.५१ अंकको सुधारमा बैंकिङ क्षेत्रको जम्मा ०.५ प्रतिशतको सुधार देखिएको छ। तर निर्जीवनको ४.१४ प्रतिशत, जीवन बीमा कम्पनीको ३.२३ प्रतिशत, माइक्रोफाइनान्सको ३.८२ प्रतिशतको सुधार देखिएको छ।

बजारको दीर्घकालिन सुधारको लागि थोरै शेयर संख्या भएका लघुवित्त तथा बीमा कम्पनीहरु भन्दा पनि बाणिज्य बैंक तथा विकास बैंकको सूचक बढ्नुपर्ने बजार विश्लेषकको विश्लेषण रहेको छ। मंगलबार दोस्रो बजारमा ३९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।