माथिल्लो तामाकोशीको सञ्चयकर्ता शेयरधनीलाई डिम्याट खुल्यो, डिम्याटपछि कारोबार गर्न पाइने

बिजमाण्डू
२०७५ माघ २ गते १०:२४ | Jan 16, 2019
माथिल्लो तामाकोशीको सञ्चयकर्ता शेयरधनीलाई डिम्याट खुल्यो, डिम्याटपछि कारोबार गर्न पाइने


काठमाडौं। माथिल्लो तामाकोशीले सञ्चयकर्ता शेयरधनीहरुलाई साधारण शेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ। कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो।

Tata
GBIME
Nepal Life

तीन वर्ष अगाडि प्राथमिक शेयर निष्काशन गर्दा डिम्याट गर्ने प्रणाली थिएन। साथै कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो। लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका हुन्। दोस्रो बजारमा कारोबार गर्नका लागि सबै भन्दा पहिला शेयर प्रमाणपत्रलाई अभौतिकरण गर्नुपर्ने भएकोले आफ्नो शेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो।

डिम्याट गर्नको लागि सबैभन्दा पहिला हितग्राही (डिम्याट) खाता खोल्नु पर्ने हुन्छ। हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताहरुले आफ्नो शेयर प्रमाणपत्र डिम्याट गर्न सक्ने छन्। डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिने छ।

कम्पनीले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। शेयर प्रमाणपत्र नलिएका सञ्चयकर्ताले सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ। कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ।