१४ अर्ब लगानीमा एभरेष्ट ग्यास उद्योग समूहको सिमेन्ट उद्योग आउँदै, दैनिक ३००० टन उत्पादन गर्ने

बिजमाण्डू
२०७५ माघ ३ गते १०:५८ | Jan 17, 2019
१४ अर्ब लगानीमा एभरेष्ट ग्यास उद्योग समूहको सिमेन्ट उद्योग आउँदै, दैनिक ३००० टन उत्पादन गर्ने



काठमाडौं। एभरेष्ट ग्यास उद्योग समूहले सिमेन्ट उद्योगमा समेत लगानी गर्ने भएको छ। यो समूहले झण्डै १४ अर्ब लगानीमा क्लिंकरसहितको उद्योग स्थापनाको काम अघि बढाइसकेको छ।

Tata
GBIME
Nepal Life

उद्योगको क्षमता दैनिक तीन हजार टन हुनेछ। उद्योगको नाम 'गरुड सिमेन्ट  प्राली' राखिएको छ।समूहका अध्यक्ष शिव घिमिरेले तीन वर्षदेखि निरन्तर अध्ययनपछि उद्योग खोल्ने टुंगोमा पुगेको बताउँदै उद्योग स्थापनाका लागि प्रकृया अघि बढिसकेको जानकारी दिए। ’९० प्रतिशत कच्चा पदार्थ स्वदेशकै हुने उद्योगमा लगानी गर्न उपयुक्त देखेर हामीले सिमेन्ट उद्योगमा हात हालेका हौं’ घिमिरेले बिजमाण्डूसँग भने,’बजार पनि सबै स्वदेशमा छ।’

उद्योगका लागि आवश्यक चुनढुंगा काभ्रेको खानीखोला गाउँपालिकामा छ। उनका अनुसार सिमेन्ट उद्योगमा अरु लगानीकर्ता समेत भित्रिदैछन्।‘ठूलो लगानी भएकाले अरु साझेदार पनि ल्याउनेगरि छलफल भइरहेको छ। स्वदेशी तथा विदेशी लगानीकर्ता उद्योगमा लगानीका लागि इच्छुक छन्’ घिमिरेले भने,’लगानीका बैंकहरुसँग पनि छलफल अघि बढिरहेको छ।’

अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको चरणमा रहेको छ । काभ्रेमा करिब सात वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानी उत्खनन् गर्न खानी तथा भूगर्भ विभागसँग उद्योगले लिजमा लिएको छ। चुनढुङ्गा खानीको गुणस्तर अध्ययनको काम स्वायल इन्भेष्टिगेशन एण्ड सल्युशन प्रालिले पाएको छ। ‘प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन लगायतको प्रकृया पुरा गर्नुपर्ने भएकोले  उद्योग स्थापनाको काममा केही समय लाग्नेछ’,  घिमिरेले भने। उद्योगको प्लान्ट सिन्धुलीमा स्थापना हुनेछ।

उनले अनुसार प्लान्टका लागि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीसँग प्रस्ताव मागिरहेको बताए।‘युरोपेली कम्पनीसँग प्लान्टका लागि कुरा भइरहेको छ। हामीले उत्कृष्ट मेशिनरी ल्याएर सिमेन्ट उत्पादन गर्छौं’ उनले भने। उद्योगका लागि २२ मेगावाट विजुली आवश्यक पर्छ। उद्योगले तापीय प्रणालीबाट ६ मेगावाट विजुली उत्पादन गर्ने तयारी समेत गरेको छ।‘हामीले ६ मेगावाट विजुली आफैले उत्पादन गर्नेगरि मेशिनरी मगाउँदैछौं। त्यसका लागि हामीले झण्डै एक अर्ब रुपैयाँ खर्चिनुपर्छ। तर त्यसले हामीलाई दीर्घकालिन रुपमा फाइदा गर्छ’ घिमिरेले भने।

उद्योग र खानी लोकेशन नजिकै
उद्योग र खानीको दूरी १२ किलोमिटरको मात्रै फरक रहेको उनले बताए।‘हाम्रो स्टाटेजिक लोकेशनमा उद्योग र खानी छ। सिमेन्ट उत्पादन सस्तो बनाउन लोकेशननै महत्वपूर्ण हो’ घिमिरेले भने।

उनका अनुसार सिमेन्टको खपत ५६ प्रतिशत भन्दा बढी राजधानी र वरपरका जिल्लामा छ। त्यही स्थानलाई आधार बनाएर उद्योग स्थापना गर्न लागिएको उनले बताए।‘धरान-चतरा-हेटौंडा सडक, फाष्ट ट्रयाक र काठमाडौं सबैसँग नजिकमा हाम्रो उद्योग पर्छ’ घिमिरेले भने,’हाम्रो उत्पादनका लागि आवश्यक पर्ने सडक सुविधा राम्रो हुँदैछ। यसले बजारीकरणलाई समेत सहयोग पुर्याउँछ।’