महालेखाको प्रश्नपछि विमानस्थल भन्सार कार्यालयको वायुसेवा सञ्चालकलाई पत्र, ‘छुट पाउने आधार के?’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ ३ गते १३:५४ | Jan 17, 2019
महालेखाको प्रश्नपछि विमानस्थल भन्सार कार्यालयको वायुसेवा सञ्चालकलाई पत्र, ‘छुट पाउने आधार के?’


काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले वायुसेवा कम्पनीहरुले एक प्रतिशत मात्रै भन्सार तिरेर भित्र्याएको विमानको पाटपुर्जा आयातको प्रक्रियामा प्रश्न उठाएको छ।

Tata
GBIME
Nepal Life

विमानको इन्जिन र इन्जिनका पाटपुर्जा आयात गर्दा एक प्रतिशत भन्सार लाग्ने र अन्यको हकमा १० प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले वायुसेवा कम्पनीले जहाजको पाटपुर्जा आयात गर्दाको प्रक्रियामा प्रश्न गरेको हो।महालेखापरीक्षकको कार्यालयले ५५ औँ वार्षिक प्रतिवेदनमा विमानको पाटपुर्जा आयातमा नेपाल वायुसेवा निगमलाई १५ प्रतिशत भन्सार लिइएकोमा निजी विमान कम्पनीलाई भने एक प्रतिशत मात्रै भन्सार लिएको उल्लेख गरेको छ। त्यसैको आधारमा भन्सार कार्यालयले वायुसेवा कम्पनीमाथि आयातको प्रक्रियामा प्रश्न उठाएको हो।

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले ६८ लाख रुपैयाँ कारोबार मूल्यका एयर प्युरिफाइबर भन्सार उपशीर्षक ६४२१३१(इटेक एयर फिल्टर्स)बाट १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्त:शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा ५ प्रतिशत भन्सार महसुल लगाई जाँचपास गरेकाले २१ लाख रुपैयाँ र एयरक्राफ्ट पार्टस् फिल्टर कार्टिज एन्ड फिल्टरलाई भन्सार उपशीर्षक ८४२१२३ बाट १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा भन्सार उपशीर्षक ८८०३३० (हवाइजहाज वा हेलिकोप्टरको अन्य पार्टपुर्जाहरु)बाट १ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ, 'सोही सामान नेपाल वायुसेवा निगमले (प्रज्ञापन पत्र नं ५४४०, ३६४४, ५३६४९ र ४२९६३) चार प्रज्ञापनपत्रबाट पैठारी गर्दा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेको हुँदा फरक दरबन्दी लगाई जाँचपास गर्दा घटी भएको महसुल ३१ लाख रुपैयाँसमेत ५२ लाख रुपैयाँ असुल गर्नुपर्छ।'

महालेखाको प्रतिवेदनमा निजी वायुसेवा सञ्चालक र निगमले ल्याउने पाटपूर्जा एउटै बनाउन सुझाब दिएको छ। विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा उठाएका प्रश्नको जवाफका लागि सम्बन्धित वायुसेवा सञ्चालकलाई पत्राचार गरिएको जानकारी दिए।

'कर नै नयाँ दरमा लगाइयो भन्ने हिसाबले चर्चा भएको रहेछ, त्यो होइन, महालेखाले जे विषयमा प्रश्न उठाएको छ त्यसको जवाफ सम्बन्धित पक्षले पनि दिनुपर्ने भएकाले हामीले सोधेका हौँ,' ठाकुरले बिजमाण्डूसँग भने, 'एक प्रतिशत भन्सारमा सामान छुटाएको भए त्यसको आधार के थियो, कहाँबाट सिफारिस आयो सबै हेर्न खोजेका छौँ।'