आर्थिक समृद्धि र उज्यालो नेपालका लागि योगदान पुर्‍याएकोमा कुलमान घिसिङ सम्मानित

बिजमाण्डू
२०७५ माघ ४ गते १४:०८ | Jan 18, 2019

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन्। 

Tata
GBIME
Nepal Life

निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इपानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्‍याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो। 

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९ मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन्।
 
२०७३ भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए। कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनीक सुधार तथा पुनर्सरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका छन्।
 
घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका छन्। प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई,प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेशनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ।

उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत उत्पादन, प्रशारण लाइन र वितरण आयोजनाका कामले पनि तिब्रता पाएको छ। कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए। यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उनले बताए।
 
भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा  सुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन्। जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए। 

एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो। एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा वीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ।