निजी क्षेत्र भन्छ-‘चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ,जलविद्युत आयोजनालाई खोई?’

बिजमाण्डू
२०७५ माघ ४ गते १७:११ | Jan 18, 2019
निजी क्षेत्र भन्छ-‘चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ,जलविद्युत आयोजनालाई खोई?’

काठमाडौं। दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लगानी मैत्री वातावरण बनाउन नीति तथा कानुनमा समय सापेक्ष सुधार ल्याउनुपर्ने बताए।एक्स्पोको अवलोकन गर्दै पुनले सरकार, निजी क्षेत्र तथा विदेशी लगानीकर्ताहरु जलविद्युत आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छा शक्तिको खाँचो रहेको बताए। 

‘हामी विजुलीमा आत्मनिर्भर छैनौ। अर्बौ रुपैयाँको विजुली आयात गरीरहेका छौं। सबै भन्दा पहिले हामी उर्जामा आत्मनिर्भर हुनुपर्छ। आन्तरिक खपत भएपछि बाँकी भएको विद्युत निर्यात गर्ने सम्बन्धमा अहिले देखि नै सोच्नु पर्दछ।’ पुनले भने। 

विद्युतको प्रयोगबाट इन्धन आयत विस्थापन गर्दै ब्यापार घाटा सन्तुलनमा ल्याउन सकिने उनको तर्क थियो। ‘भान्छामा ग्यास होइन, विद्युतिय चुलो बल्नुपर्छ, सडकमा विद्युतीय सवारी साधान चल्नुपर्छ।’ पुनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङ्क ९० प्रतिशतले घटेकोमा विद्युत प्राधिकरणको कुशल व्यवस्थापनको तारिफ गरेका थिए। केही उद्योगहरुमा अझै विद्युत अभाव रहेपनि केही वर्षमा नै भएको कायापलटबाट उद्योगीहरु उत्साहित बनेको उनले बताए।

नेतृत्वतहमा रहेकाहरुले पटक पटक निजी क्षेत्रसँगको सहकार्यको विषय महत्वपूर्ण रहेको भन्दै भाषण गरे पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाई थियो। 

‘निजी क्षेत्रलाई विश्वस गर्ने वातावरण अझै पनि छैन्। हाइड्रोपावर क्षेत्रमा भ्याट फिर्ताको व्यवस्था गरिएको छैन। जबकी चुरोट तथा मदिरा उद्योगहरुले यही मुलुकमा भ्याट फिर्ता पाउँछन्। यस्तो अवस्थामा हाइड्रो प्रोजेक्टमा निजी लगानी कसरी आकर्षित हुन सक्छ?  प्रोत्साहन गर्ने किसिमको वातावरण बन्नुपर्यो,लगानी गर्नेहरु पर्खिएर बसेका छन्।’  गोल्छाले भने।


 
जलविद्युत आयोजनामा देखिएका स्थानी यस्तरका समस्यालाई समाधान गर्ने सम्बन्धमा पनि सरकारले पहलकदमी लिनुपर्नेमा उनको जोड थियो। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले एक्स्पोमा सहभागी विभिन्न मुलुकका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने उचित समय आएको भन्दै लगानी बढाउन आग्रह गरेका थिए। 

विश्वमा नेपाल जलस्रोतमा अधिक धनी मुलुक भएका कारण नेपालमा जलविद्युत आयोजनाहरुमा लगानी गर्न उनले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका थिए। यसकालागि सरकारले नीतिगत व्यवस्था गर्दै नेपालका वारेमा सकारात्मक सन्देश प्रवाह गराउनु पर्ने उनको भनाई थियो। 

‘जलविद्युत क्षेत्रको संभावनालाई यथाशिघ्र चाडो रियलाइज गरौं। यो अरु उद्योग जस्तो नभई धेरै लगानी चाहिने उद्योग हो। सरकारले पनि यस्ता नीतिहरु बनाउनजरुरी छ। जुन नीतिलाई टेकेर लगानीकर्ताहरुले रिक्स लिन सकौं।’ शर्माले भने।

कार्यक्रममा उर्जा समस्या समाधानमा रचनात्मक भुमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो। 

सम्मान ग्रहण गर्दै घिसिङले विद्युतको मागलाई ध्यानमा राखेर काम गरिरहेको बताएका थिए। १५ हजार मेगावाट सम्मको पीपीए 'टेक अर पे' मा गर्ने पोलिसीले आन्तरिक बजारलाई प्रवर्द्धन गरेको उनको भनाई छ।


 
जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठूलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकन कर्ताको उपस्थिती रहने अनुमान गरिएको छ।  

तीन दिनसम्म चल्ने एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहको छ। 

विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, विषयगत प्रविधिक सेमिनार, कलेज स्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबोट हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहने आयोजक संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए।


 
‘सरकारको १५ हजार मेगावाट जलविद्युत उत्पादनगर्ने लक्ष्यलाई सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत क्षेत्रका सरोकारवालालाई एकै छानामुनी भेला गराएको छ। यसले हामी उत्साहित बनेका छौं।’गुरागाईले भने।

एक्स्पोमा सहभागी भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहने हरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मर्स्याङ्गदी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको छ।