शेयर बजारमा नयाँ प्लेयरको उदय, बैंक तथा वित्तिय संस्थाको दबदबालाई तोड्दै तामाकोशी

बिजमाण्डू
२०७५ माघ ९ गते १४:५३ | Jan 23, 2019
शेयर बजारमा नयाँ प्लेयरको उदय, बैंक तथा वित्तिय संस्थाको दबदबालाई तोड्दै तामाकोशी


काठमाडौं। शेयर बजारमा पछिल्लो समयमा नयाँ प्लेयरको दबदबा सुरु भएको छ। बैंक तथा वित्तिय संस्थाको दबदबा कम भएको छ भने जलविद्युत समूहको उदय भएको छ।

Tata
GBIME
Nepal Life

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर सूचीकृत भएपछि शेयर बजारको संरचनामै परिवर्तन आएको हो। विश्लेषक भन्छन्-'बजारलाई दिगो बनाउन बैंक तथा वित्तिय संस्थाको विकल्प आवश्यक थियो। अहिले तामाकोशीले त्यही विकल्प दिएको हो।' गत पुस अन्तिममा तामाकोशीको १० अर्ब ५९ करोड रुपैयाँको शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको थियो।

यो सूचीकरणसँगै बैंक तथा वित्तीय संस्थाको हिस्सालाई एक प्रतिशतले घटाएको छ।पछिल्लो समय शेयर बजार एकोहोरो घटिरहदा तामाकोशीको शेयरले बजार घट्नलाई नै रोकेको छ। केही समय अगाडि नेपाल टेलिकमको कारोबारले शेयर बजारको उचार चढावलाई प्रभावित बनाउने गरेको थियो। बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि र केहि ठूला हाइड्रोपावरको शेयर सूचीकृत हुँदा टेलिकमको हिस्सा ४.०१ प्रतिशतमा खुम्चिएको छ। दोस्रो बजारमा टेलिकमको शेयर सूचीकृत हुँदा कम्पनीको बजार हिस्सा १५ प्रतिशत भन्दा माथि थियो। 

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको मात्रै दवदवा रहदै आएकोमा तामाकोशीको शेयर सूचीकृत भएपछि बजारको विविधिकरणमा थप टेवा पुर्याएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। उनले भने-'८ लाख भन्दा धेरै शेयरधनी भएको तामाकोशीको शेयरले बजारलाई थप तरल बनाएको छ।' ठूला आयोजनाको शेयर सूचीकृत भएपछि बजारलाई विस्तारै परिपक्व बनाउने उनको तर्क छ।

उनले भने 'एउटा ठूलो कम्पनीको पोलिसी परिवर्तन हुँदा त्यसको प्रभाव समग्र शेयर बजारमा पर्छ। यसले शेयर बजारलाई नै अस्थिर बनाउँछ।' बजारमा विभिन्न क्षेत्रका कम्पनीहरुको सहभागिता भएमा बजार दिगो हुने पराजुलीले बताए।

नेपाल स्टक एक्सचेन्जमा २०२ वटा कम्पनीको तीन खर्ब ८५ अर्ब रुपैयाँको शेयर सूचीकृत छन्। सबैभन्दा धेरै पूँजी भएका ५ कम्पनीको बजार हिस्सा झण्डै १५ प्रतिशत रहेको छ। चुक्ता पूँजीको आधारमा सबैभन्दा धेरै पूँजी हुनेमा नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, अपर तामाकोशी, मेगा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी रहेका छन्।

सबैभन्दा धेरै पूँजी भएका पाँच कम्पनी

कम्पनी (दश लाख रुपैयाँमा)

चुक्ता पूँजी

दोस्रो बजार हिस्सा (%)

सर्वसाधारणको हिस्सा

नेपाल टेलिकम

15000

4.01

1276.5

नेपाल इन्भेष्टमेन्ट बैंक

10626.44

2.84

3187.93

अपर तामाकोशी

10590

2.83

5189.1

मेगा बैंक

10489.4

2.80

5139.81

जलविद्युत लगानी तथा विकास कम्पनी

10000

2.67

2000

तीन वर्ष अगाडि बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि योजनाले शेयर बजार एकोहोरो बढ्ने क्रममा एक हजारको हाराहारीमा रहेको नेप्से अधिकतम १८८१ विन्दुसम्म पुगेको थियो। पूँजी वृद्धि सकिएपछि शेयर बजार न्यूनतम १२८० विन्दुमा झर्यो।

तामाकोशीको अवको भूमिका?

निश्चित आम्दानीको स्रोत सहित आउने तामाकोशीको शेयरले बजारमा खेलाडीको रुपमा भन्दा पनि स्थायित्वमा भुमिका खेल्ने अनुमान गरिएको छ। पूँजीका हिसावले नेपाल टेलिकम पहिलो भएपनि सर्वसाधारण तर्फको शेयर पूँजी ८.५१ प्रतिशत मात्रै रहेको छ। सर्वसाधारणको शेयर कारोबारले नेप्सेको समग्र सूचकमै परिवर्तन गर्ने भएकोले थोरै कित्ताको कारोबारले पनि बजारको सूचक प्रभावित पार्छ।

तर तामाकोशीको शेयरमा सर्वसाधारणको हिस्सा ४९ प्रतिशत रहेकोले दोस्रो बजारमा कारोबार गर्न योग्य शेयर संख्या तामाकोशीको सबैभन्दा धेरै छ। बजारमा धेरै शेयर छरिएर रहेको हुँदा तामाकोशीको शेयरमा चलखेल गर्न सम्भावना न्यून हुने बजार विश्लेषक बताउँछन्।

तामाकोशीको शेयरबाट चलखेल गर्ने भन्दा पनि बजारमा कारोबार गर्न योग्य शेयर संख्या र लगानीकर्ताको शेयर संख्याको हिसावले 'सेल्फ डिफेन्स'का रुपमा रहने बजार विश्लेषक प्रकाश तिवारीले बताए। तामाकोशीमा ८ लाख भन्दा धेरै शेयरधनी छन् भने दोस्रो बजारमा कारोबार गर्न मिल्ने शेयर ५ करोड १८ लाख कित्ता शेयर रहेको छ।

यो तथ्याङ्कले आगामी दिनमा दोस्रो बजारमा धेरै कारोबार हुने कम्पनीमा तमाकोशी पर्ने देखिन्छ। बजार पूँजीकरणको हिसावले जति धेरै अगाडि आउँछ त्यहि अनुपातमा बजारमा पार्ने प्रभाव बढ्छ।