सामाजिक सुरक्षामा अधिकांश व्यावसायिक घराना, ‘नेपालमा जागिर जताततै तर मान्छे विदेश जान्छन्’

बिजमाण्डू
२०७५ माघ १४ गते १५:५९ | Jan 28, 2019
सामाजिक सुरक्षामा अधिकांश व्यावसायिक घराना, ‘नेपालमा जागिर जताततै तर मान्छे विदेश जान्छन्’

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले अहिले १३ हजार रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले २० बर्षपछि मासिक २० हजार रुपैयाँ पेन्सन पाउने बताएका छन्।

Tata
GBIME
Nepal Life

सामाजिक सुरक्षा कार्यक्रममा सहभागी रोजगारदातालाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री बिष्टले सरकारले राम्रो कार्यक्रम ल्याएपनि प्रचार प्रसार हुन नसक्दा रोजगारदाता तथा श्रमिक दुवैलाई बुझाउन नसकिएको बताए। उनले १०० जना विज्ञ कर्मचारीलाई रोजगारी दिएर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने बताए।

मंसिर ११ गते प्रधानमन्त्रीले उद्घाटन गरेको सामाजिक सुरक्षा कार्यक्रममा प्रदेश नम्बर ३ बाट मात्रै ६०० बढी कम्पनीले सहभागीताको लागि आवेदन दिएका छन्। यसमध्ये २७२ वटा कम्पनीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएको प्रमाणपत्र दिइएको छ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागीता जनाउनेमा नेपालका ठूला व्यावसायिक घरानादेखि विभिन्न साना ठूला कम्पनीहरु रहेका छन्।

चौधरी ग्रुप, गोल्छा ग्रुप, आइएमई ग्रुप, जगदम्बा ग्रुप, अन्नपूर्ण होटल, बालाजु औद्योगिक क्षेत्रका उद्योग, सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनी, बैंक तथा वित्तीय संस्था, जलविद्युत कम्पनी लगायत सबै क्षेत्रका साना ठूला उद्योग सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकोले आगामी दिनमा यस कार्यक्रममा थप उद्यमीहरुको सहभागिता हुनेमा आशावादी रहेको मन्त्री बिष्टले बताए।  

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा सहभागी बचतकर्तालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रक्रिया सुरु गरिएको भन्दै मन्त्री बिष्टले भने- अब छिट्टै सबैलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने दावी गरे।

रोजगारदाता मात्र नभएर स्वरोजगारलाई पनि यस कार्यक्रममा सहभागी गराउने भन्दै देशमा एकातिर चरम बेरोजगारी र अर्कोतिर जनशक्तिको पनि चरम अभाव अन्त्य गर्न सामाजिक सुरक्षाकोषले सहयोग गर्ने बिष्टले बताए।

ईट्टाभट्टा व्यावसायीहरुसँग भेट्दा उनीहरुले मासिक ४० हजार रुपैयाँ तलव दिएर एक लाख ५० हजार नेपालीलाई सिजनमा रोजगारी दिन सक्ने बताएको बिष्टले जानकारी गराए। बिष्टले भने, जलविद्युत उत्पादकहरुसँग भेट्दा पनि उहाँहरुले श्रमिक अभाव भएको भन्नुहुन्छ। हामीहरु भने देशमा रोजगारी छैन भन्दै विदेशीएका छौ। सामाजिक सुरक्षा कार्यक्रमले सबैको सुरक्षा गर्ने भएकाले भोलिका दिनमा नेपाली श्रम बजारलाई चाहिने जनशक्ती नेपालमै रोक्न सकिने छ।