चेम्बरमा नौं जना नवनियुक्त राजदूतले एकै स्वरमा भने-‘लगानी र वस्तु प्रवर्द्धनमा लाग्छौं’

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ माघ २४ गते १७:३३ | Feb 7, 2019
चेम्बरमा नौं जना नवनियुक्त राजदूतले एकै स्वरमा भने-‘लगानी र वस्तु प्रवर्द्धनमा लाग्छौं’


काठमाडौं। विभिन्न देशका लागि नवनियुक्त राजदूतले आर्थिक कुटनीतिलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल चेम्बर अफ कमर्शले विहिबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी राजदूतले मुलुकका लागि लगानी भित्र्याउन र व्यापार प्रवर्द्धनका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका हुन्। चेम्बरमा विहिबार नौं जना नवनियुक्त राजदूत सहभागी थिए।

भारतका लागि नेपालका नवनियुक्त राजदूत निलाम्बर आचार्यले आर्थिक कुटनीतिकलाई बढावा दिएर मुलुकमा लगानी भित्र्याउने र मुलुकको वस्तु प्रवर्द्धन सहयोगीको भूमिका खेल्ने बताए।‘हाम्रो उदेश्य मुलुकमा लगानी ल्याउन र आफ्नो देशको वस्तु प्रवर्द्धन गर्नेनै हो। तर त्यसका लागि उद्योगी/व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुन्छ’ उनले भने।

मलेसियाका लागि नेपालका नवनियुक्त राजदूत उदयराज पाण्डेले नेपाली उद्योगी व्यापारी मात्रै नभएर उत्पादक समेत हुनुपर्ने बताउँदै नेपालको उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिने बताए। इजरायलका लागि नेपालकी नवनियुक्त राजदूत अञ्जान शाक्यले आफू निजी क्षेत्रसँगै आवद्ध भएर काम गरेको बताउँदै निजी क्षेत्रको सहकार्यमा लगानी र वस्तु प्रवर्द्धनलाई उच्च प्राथमिकता दिने बतार्इन्।

युनाइटेड अरब इमिरेट्स(युएई)का नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दुई लाख नेपाली काम गर्ने युएईबाट लगानी भित्र्याउन पहल गर्ने बताए।‘युएईमा दुई लाख नेपाली कार्यरत छन्। त्यहाँबाट वार्षिक झण्डै एक खर्ब रेमिटेन्स आउँछ’ उनले भने,’अब हाम्रो भूमिका भनेको लगानी ल्याउने र पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने रहनेछौं।’

थाइल्याण्डका लागि नेपालका राजदूत गणेश ढकालले गौतम वुद्ध विमानस्थल संचालनमा आएपछि सीधा उडान गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए। उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताउँदै द्धिपक्षीय व्यापार सम्झौंताका लागि समेत पहल गर्ने बताए। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजदूतले आर्थिक कुटनीतिलाई बढावा दिनुपर्ने बताउँदै देशभित्र लगानी ल्याउन र नेपाली वस्तु प्रवर्द्धनका लागि निजी क्षेत्रबाट चेम्बरले सहकार्य गर्न तयार रहेको बताए।