पर्यटकको संख्या बढाउन ब्यवहारगत परिवर्तन आवश्यक, प्रभु बैंकका सिइओ अशोक शेरचनको लेख

बिजमाण्डू
२०७५ माघ २८ गते ०९:०१ | Feb 11, 2019
पर्यटकको संख्या बढाउन ब्यवहारगत परिवर्तन आवश्यक, प्रभु बैंकका सिइओ अशोक शेरचनको लेख

काठमाडौं। पर्यटन क्षेत्रको विषयमा हामी धेरै कुराहरु गर्दछौं। हाम्रा प्राकृतिक सुन्दरताहरु बिश्वमै उत्कृष्ट र अलौकिक छन्। सांस्कृतिक एवं धार्मिक सम्पदाहरुका कला कृतिहरु अनुपम छन्। यहाँका हरेक गाउँ र ठाउँका आआफनै बिशेषता र मौलिक परम्पराहरु छन्। हरेक नवआगन्तुक बिदेशी पाहुना यि विविधता देखेर दङ्ग पर्दछन् र अचम्म मान्दछन्।

Tata
GBIME
Nepal Life

यि सवै दुलर्भ बिशेषताहरु हुँदाहुँदै पनि हामी किन बार्षिक १० लाख पर्यटकका लागि काकाकुल छौं। र, हामी काकाकुल बनिरहेको सन्दर्भमा बिश्वको पर्यटन उद्योग कसरी अघि बढिरहेको छ, यसको अर्थतन्त्रमा योगदान कस्तो रहेको छ र बैदशिक प्रत्यक्ष लगानी कसरी भित्रिरहेको छ भन्ने विषयमा केही तथ्यांकहरु लाई हेरौं।

बर्तमानमा बैदशिक लगानीको कोणबाट हेर्दा पर्यटन क्षेत्र बिश्वकै तेस्रो ठूलो क्षेत्रको रुपमा अगाडि आएको छ। इन्धन र रासायनिक पदार्थ पछाडि यस क्षेत्रमा बैदशिक प्रत्यक्ष लगानी बढिरहेको छ। अटोमोवाइल्स र खाद्य क्षेत्रलाई समेत पछाडि पारेको पर्यटन उद्योगले सेवाको क्षेत्रमा ३० प्रतिशत हिस्सा ओगटेको छ। 

कैयन उदाउँदो अर्थतन्त्रको रुपमा चिनिएका देशहरुका अर्थतन्त्रमा यस उद्योगको योगदान पहिलो नम्बरमै रहेको छ।  २०१३ देखि २०१७ सम्म यस क्षेत्रमा बैदशिक प्रत्यक्ष लगानीको मात्राको बलियो उपस्थिति रहेको देखिन्छ। बिश्वभरि नै सयौं पर्यटन सम्बन्धि परियोजनाहरु बनेका र हजारौंको सख्यामा रोजगारी सिर्जना भएको पाईन्छ। जसका कारणले यस क्षेत्रको बिश्व अर्थतन्त्र र रोजगारी सिर्जनामा १० प्रतिशतको हिस्सा रहन गएको छ। 
अन्तर्राष्ट्रिय पर्यटक संख्या (दशलाखमा)

सन् २०१७ मा बिश्वभर १ अर्व ३० करोड पर्यटकहरुको आवागमन भएको देखिन्छ। बिकसित अर्थतन्त्र र उदाउदो अर्थतन्त्रको हिस्सा क्रमश ५५ र ४५ प्रतिशत रहेको छ। क्षेत्रगत आधारमा हेर्दा यूरोप पछाडि एशिया प्यासिफिकमा धेरै पर्यटकहरुको आवागमन भएको देखिन्छ। एशिया प्यासिफिक क्षेत्रमा २०१३ देखि २०१७ सम्ममा ४६७ वटा बैदशिक प्रत्यक्ष लगानीमा परियोजनाहरु निर्माण भएका छन भने यी परियोजनाहरुमा अमेरिकी डलर ३७.९ अर्व बराबरको पूँजी लगानी भएको छ। करीव ७३ हजार रोजगारी सिर्जना भएको यी परियोजनाहरुबाट बढी लाभान्वित हुने देशहरु निम्न रहेका छन्।

परियोजनासँगै चीनले कूल पूँजी लगानी प्राप्तिमा पनि ३० प्रतिशत हिस्सा ओगटेको छ।  हाम्रो देश पनि यही क्षेत्रमा पर्ने भएकोले यस क्षेत्रको तथ्यांकहरुलाई हेरौं।

नेपालः पर्यटक संख्या (हजारमा)
हाम्रो देशको सन्दर्भमा भन्दा २०१८ मा आएर पर्यटकहरुको संख्या १० लाख नाघेको छ। यस क्षेत्रमा पनि अन्य क्षेत्रहरुमाझै छिमेकी देशहरु भारत र चीनको बचस्र्व रहेको छ। श्रीलंका, बेलायत र अमेरिकाबाट पनि नेपालमा ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन्। भारत, चीन र श्रीलंकाबाट आउने पर्यटकहरुको प्रमुख भ्रमणस्थलका रुपमा धार्मिक स्थलहरुलाई लिन सकिन्छ। नेपाल भित्रिने पर्यटकहरुमध्ये आधाभन्दा बढीको रोजाईमा राष्ट्रिय निकुन्ज, बन्यजन्तु संरक्षण केन्द्र, उच्च पहाडी र हिमाली भेगको पदयात्रा पर्दछन। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि नेपालमा यस क्षेत्रको बिकासका लागि बैदशिक लगानी धेरै नगन्य मात्रामा रहेको छ। २०१५/१६ मा यस क्षेत्रमा करीव १.९५ अर्व रुपैयाँ र २०१६/१७ मा ५.८९ अर्व रुपैयाँको बैदशिक प्रत्यक्ष लगानीको लागि प्रतिबद्धता प्राप्त भएको रेकर्डमा देखिएको छ। यी प्रतिबद्धता गरिएका परियोजनाहरु कार्यान्वयनको चरणमा रहेका, पूर्णता पाईसकेका र कतिपय बन्द गरेर हिडिसकेको अवस्थाका पनि रहेकाछन्। 

नेपालको कूलगार्हस्थ उत्पादनमा यस क्षेत्रले २०१७ मा १७७.९ अर्व रुपैयाँ योगदान गरि करीव ७.५ प्रतिशत हिस्सा ओगटेको छ। करीव ४ लाख २७ हजार जनालाई रोजगारी दिईराखेको यस क्षेत्रले प्रत्येक बर्ष २.९ प्रतिशतका दरले रोजगारीको थपअवसर सिर्जना गर्दै जाने अनुमान गरिएको छ। यो संख्या भनेको नेपालको कुल रोजगार संख्याको २.९ प्रतिशत बराबर हुन आउँछ। पर्यटकहरुले पदयात्राको गन्तव्यका रुपमा बिशेष गरी ग्रामिण, पहाडी र हिमाली भेगहरुलाई प्राथमिकतामा राखेको पाईन्छ। उनीहरुको रुचिलाई उचित मूल्याकंन गरि ती ठाउँहरुको प्राकृतिक संरचनाहरु, सम्पदाहरु, सभ्यताहरु, सस्कृतिहरुलाई यथोचित रुपमा बचाई राख्नुपर्ने अपरिहार्यता देखिन्छ। किनकी नेपाल आउने करीव ८५ प्रतिशत पर्यटकहरुको रोजाईको गन्तव्यको रुपमा यिनै ठाउँहरु पर्ने गरेका छन। 

बर्षेनी १ अर्व ३० करोड मानिसहरु विभिन्न प्रयोजनका लागि भ्रमणमा रहने र हरेक बर्ष ५ प्रतिशतको बृद्धि आंकलन गरिएको यस क्षेत्रको भविष्य बिश्वका लागि नै निकै आशालाग्दो र बिश्वासिलो रहेको छ। सन् २०१७ मा बिश्वको कूल ग्राहस्थ उत्पादनमा अमेरिकी डलर करिब ८.३ खर्व बराबर (१०.४ प्रतिशत) को योगदान यस क्षेत्रको रहेको छ। बिश्वभरिनै करीव ३१ करोड रोजगारी सिर्जना गरिरहेको यस क्षेत्रले अमेरिकी डलर १.५ खर्व बराबरको निर्यात र अमेरिकी डलर ८८२ अर्व बराबरको लगानीलाई प्रतिनिधित्व गर्दछ। 

हाम्रो देशको सन्दर्भमा हामीले पनि बिश्वले नै प्राथमिकता दिएर अघि बढाईरहेको क्षेत्रको बिकासका लागि बिशेष प्रकृतिका योजना र परियोजनाहरु लिएर अघि बढनुपर्ने देखिन्छ। देशैभरि आज पर्यन्त पहिचान नगरिएका तर सजिलै बेच्न सकिने स्थानहरु, संस्कृतिहरु, सभ्यताहरु, सम्पदाहरु र समाजहरु प्रशस्त छन्। केही संरचनाहरु घरेलु प्रविधिबाटै पुननिर्माण गर्ने, संरक्षण गर्ने, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व हुने गरि साना, मझौला र ठूला बिमानस्थलहरु लगायतका पूर्वाधारहरु निर्माण गर्ने, ग्रामीण क्षेत्रका मानिसहरुलाई दक्षता बृद्धिका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने, आवश्यकता अनुसार लगानीको बाताबरण सहजरुपमा उपलव्ध हुने व्यदस्था मिलाई दिने,  बिश्व भरिनै नेपालका बारेमा प्रभावशाली रुपमा प्रर्वद्धनका क्रियाकलापहरु शुरु गर्ने, स्वदेशी र बिदेशी लगानीकर्ताहरुलाई विविध किसिमका सहुलियतहरु प्रदान गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, सुरक्षाको प्रत्याभूति दिने र अतिथि देव भवको मर्मलाई सवै पक्षबाट मनैदेखि आदरभावका साथ पालना गर्ने व्यवस्था गर्न अपरिहार्य देखिन्छ। 

विकिपिडियामा नेपालको पर्यटनका बारेमा खोजीगर्दा बिश्वका १० मध्ये ८ वटा अग्ला हिमालहरुको देश भनेर लेखिएको छ। पर्वतारोहण, रक कलाईम्बिङ र साहसीक पदयात्राका लागि अनुपम देशकारुपमा पनि नेपाललाई चित्रित गरिएको छ। सगरमाथा र बुद्धको जन्मथलोको रुपमा पनि नेपाललाई चिनाईएको छ। धार्मिक पर्यटनले पनि बर्तमानमा बिशेष स्थान पाएको देखिन्छ।

बिश्वभरी करीव ५३ करोड बौद्ध धर्मावलम्वी रहेका छन् र बुद्धको जन्मस्थान नेपाल हो। ५३ करोडमध्ये पनि करीव ५० करोड संख्या त एशियाका १० देशले ओगट्छन र नेपालबाट केही घण्टाको हवाई दूरीमा रहेका छन्।

सन् २०१० को तथ्यांकलाई आधार मानेर प्रस्तुत गरिएको तथ्यांक हो। एशियाबाट मात्रै बौद्ध धर्मावलम्वीहरु ०.२ प्रतिशत पर्यटकका रुपमा भित्रयाउन सक्ने हो भने करीव १० लाखको आँकडा त्यहाँबाट मात्र पुर्याउन सकिन्छ। जुन असम्भव पनि छैन, किनकी बौद्ध धर्मका प्रणेता भगवान बुद्धको जन्मभूमि नेपाल हो। माथिका सवै देशहरुको आर्थिक अवस्था सवल रहेको छ र खर्च गर्नमा ती देशका नागरिकहरु सक्षम पनि छन्। 

यसरी समग्रमा हेर्दा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण बन्दै गएको र भविष्यमा अझ बढी यसको योगदान रहने कुरामा दुईमत छैन। सरकारको प्रभावशाली कार्ययोजनाहरु र तिनको कार्यान्वयन पक्षले भने यसको बिकासमा महत्वपूर्ण भूमिका खेल्दछ। नेपालको स्थायी र दिगो बिकासका सन्दर्भमा सरकारले बर्तमानमा ध्यान दिनुपर्ने क्षेत्रहरु भनेकै पर्यटन, कृषि र जलबिद्युत रहेको छ। यी ३ वटै क्षेत्रका लागि आबश्यक पर्ने आधारभूत स्रोतहरु हामीसँगै उपलव्ध छन्।