अर्थमन्त्री युवराज खतिवडा भन्छन्, ‘यातायत क्षेत्र सुधारका लागि रेल र पानीजहाज अघि बढ्दैछ’

बिजमाण्डू
२०७५ माघ २९ गते ११:४२ | Feb 12, 2019
अर्थमन्त्री युवराज खतिवडा भन्छन्, ‘यातायत क्षेत्र सुधारका लागि रेल र पानीजहाज अघि बढ्दैछ’

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी अपरिहार्य भएको बताएका छन्। सामाजिक तथा पूर्वाधार क्षेत्रको स्तरवृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै अर्थमन्त्री खतिवडाले त्यसमध्ये पनि सडकमा लगानी अति महत्वपूर्ण भएको बताए। 

Tata
GBIME
Nepal Life

'मान्छेले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहन्छ, आरामदायी यात्रा गर्न खोज्छ,' नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा उनले भने, 'त्यसका अतिरिक्त विद्यालय जान पनि राम्रो बाटो चाहिन्छ, स्वास्थ्य चौकी जान पनि बाटो चाहिन्छ। त्यसोभएको हुनाले यातायातमा हामीले लगानी गर्नुपर्छ।' 

संयुक्त राष्ट्र संघले तय गरेका दीगो विकासका १७ लक्ष्यमध्ये नवौँ लक्ष्य पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताए। 'व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्छ, त्यसका लागि पनि लगानी गर्ने हो,' उनले भने, 'कृषि क्षेत्र तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास हुनुपर्छ।' 

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको उनले उल्लेख गरे। 'रेलवे तथा पानीजहाजको विकासका लागि पनि हामी काम गरिरहेका छौँ, सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो हिसाबबाट काम अघि बढाउनुपर्छ,' उनले भने।

पैसा आउँछ कि भनेर अंग्रेजीमा बोलेको!'
कार्यक्रम 'सेड्युल'अनुसार प्रमुख अतिथि खतिवडाको बोल्ने पालो अलि पछाडि थियो। तर राष्ट्रिय सभा बैठकमा आफूले विधयेक प्रस्तुत गर्नुपर्ने भएकाले त्यता जान भन्दै उनले अघि आफ्नो मन्तव्य राखे। उनले मन्तव्यका क्रममा संघले गरिरहेका कामको प्रसंशा पनि गरे। 

अर्थमन्त्री खतिवडाले अंग्रेजीमा भाषण सुरु गरे। केही समयपछि उनले सबैलाई हँसाउने गरी भने, 'सडकमा लगानीको विषय चलिरहेको छ, यहाँ सडक क्षेत्रमा लगानी गरिरहनु भएका दातृ निकायका प्रतिनिधि पनि हुनुहुन्छ, पैसा आउँछ कि भनेर अंग्रेजीमा बोलेको!'

खतिवडाले त्यसपछि नेपालीमा भाषण गरे।