सरकारी दुई बीमा कम्पनीको नाफा घट्यो, अढाई अर्ब प्रिमियम दिँदा पनि किन घट्यो नाफा?

बिजमाण्डू
२०७५ फागुन १ गते १०:२६ | Feb 13, 2019


काठमाडौं। दुई सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको नाफा घटेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा संस्थानको नाफा ३२.८६ प्रतिशतले घटेको छ भने कम्पनीको नाफा ५४.७७ प्रतिशतले घटेको हो।

Tata
GBIME
Nepal Life

संस्थानले पुसम्ममा ८२ लाख ९३ हजार रुपैयाँ नाफा गरेको छ। गत वर्ष संस्थानले एक करोड २३ लाख रुपैयाँ आर्जन गरेको थियो। नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्र सेवक कर्मचारीको बीमा यसै आर्थिक वर्षदेखि संस्थान मार्फत गर्ने सरकारी निर्णयले कोषबाट दुई अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

कोषबाट प्राप्त गरेको बीमा शुल्क सहित संस्थाले यही अवधिमा ४ अर्ब ४० करोड रुपैयाँ संकलन गरेको छ। गत वर्ष बीमा शुल्क आर्जन एक अर्ब ५९ करोड रुपैयाँ थियो। संस्थानले पुसम्ममा एक अर्ब ५१ करोड रुपैयाँको दाबी भूक्तानी गरेको छ। सरकारले चुक्ता पूँजी बृद्धिको लागि कुनै पनि निर्णय नगर्दा संस्थाले पूँजी बृद्धि गर्न सकेको छैन।संस्थानको हालको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडामा १८ करोड २४ लाख रुपैयाँमा जम्मा भएको छ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीको चालु आर्थक वर्षको छ महिनामा ५४.७७ प्रतिशतले नाफा घटेर १६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ३७ करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो। पुसम्ममा कम्पनीले ७२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ४९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीले खुद दाबी भूक्तानी तीन करोड ६२ लाख रुपैयाँ गरेको छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी १२८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ९०८ रुपैयाँ छ।