अर्थतन्त्र कस्तो छ? राष्ट्र बैंकको प्रतिवेदन: चालु खाता घाटा बढ्यो, बैंकहरुको लगानी विस्तार

बिजमाण्डू
२०७५ फागुन १ गते १७:११ | Feb 13, 2019
अर्थतन्त्र कस्तो छ? राष्ट्र बैंकको प्रतिवेदन: चालु खाता घाटा बढ्यो, बैंकहरुको लगानी विस्तार


काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स ३०.२ प्रतिशतले बढेको हो। 

Tata
GBIME
Nepal Life

देशको वर्तमा आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो ६ महिनमा रेमिट्यान्स वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक भएको जनाएको थियो। अमेरिकी डलरमा हिसाब गर्दा रेमिट्यान्स १७.६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ। 

केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या ३९.१ प्रतिशतले घटेको छ। 'अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ,' राष्ट्र बैंकले भनेको छ।' अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको थियो।

 
राष्ट्र बैंकले चालु वर्षको पहिलो ६ महिनामा आयात ३०.५ प्रतिशत र निर्यात १०.३ प्रतिशतले बढेको जनाएको छ। 

चालु खाता घाटा १ खर्ब ५२ अर्ब
चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता घाटा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो ६ महिनामा यस्तो घाटा ९७ अर्ब ७८ करोड रुपैयाँले रहेको थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा अमेरिकी डलरमा चालु खाता घाटा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ।

यसैगरी शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा रहेको थियो। 

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तमा १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँ कायम भएकोछ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा पुस मसान्तमा ९ अर्ब ४१ करोड रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ। 

निक्षेप २० प्रतिशतले बढ्यो
पुस मसान्तसम्ममा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.२ प्रतिशतले बढेको छ।

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३३.३ प्रतिशत र ४७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.४ प्रतिशत, ३६.४ प्रतिशत र ४२.८ प्रतिशत रहेको थियो।

२०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१ प्रतिशत रहेको छ। २०७४ पुस मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको थियो।

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.९ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा ११.९ प्रतिशतले, विकास बैंकहरुको १९.८ प्रतिशतले र वित्त कम्पनीहरुको १०.२ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २३.४ प्रतिशतले बढेको छ।