कलाकार युवराज लामा होटल चलाउँदै,’स्वदेशमै केही गर्नुपर्छ भनेर होटेल खोले’

बिजमाण्डू
२०७५ फागुन १ गते २०:५७ | Feb 13, 2019
कलाकार युवराज लामा होटल चलाउँदै,’स्वदेशमै केही गर्नुपर्छ भनेर होटेल खोले’


वीरगंज। कुनै समयका चर्चित कलाकार युवराज लामा चलचित्रका पर्दामा नदेखिएको धेरै भइसकेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रियखेलकुद परिषद्का पूर्व सदस्यसचिव समेत रहेका लामाले झण्डै एक दर्जन चलचित्र समेत निर्देशन गरेका छन्। काँचको पर्दाबाट हराएका लामा एकाएक होटल व्यवसायीका रुपमा उदाएका छन्। उनले निजगढमा ११ करोड लगानीमा होटल खोलेका छन्। तारा इन नाम रहेको होटल उनकी श्रीमती मंगला श्रेष्ठ न्यासुरेको सहयोगमा संचालन गर्दै आएका छन्।

उनको होटलको अर्को विशेषता हो सस्तोमा कोठा। उनले तीन सय रुपैयाँमा आरामदायी रुम बिक्री गर्दै आएका छन्।निजगढ बजारमा राजमार्ग भन्दा उत्तरमा सञ्चालनमा रहेको होटलको अगाडि मोहडा कम देखिन्छ,तर होटललाई  आकर्षक रुपले डिजाइन गरिएको छ ।भित्र प्रवेश गरेपछि दुई–दुई कोठाको लहरै कटेज देखिन्छ ।

२१ वटा कोठा रहेको होटलमा सेमिनार हल,गार्डेन,किचेन छ। होटलको मुलगेटबाट ५ सय मिटर उत्तर सम्म होटलको जग्गा फैलिएको छ । ७ कठ्ठा जग्गा मध्ये दुई वर्ष अघि आधा जमीनमा होटल शुरु भएको थियो हाल फेरी लगानी थपेर भौतिक पूर्वाधार बढाइदैछ । उनले पुर्खौली जग्गामा होटल व्यवसाय संचालन गरेको बताउँदै उद्यम गर्न लाज मान्न नहुने बताए।

२१ वटा कोठा मध्ये १७ वटा वाताअनुकुलित कोठा छन् ।जसमा डिलक्स र स्वीट कोठा पनि छन्। उनले होटलको रुमरेट ५ सय रुपैयाँदेखि २५ सय रुपैयाँ राखेका छन्। तर न्यून आय भएका व्यक्ति आएमा तीन सय रुपैयाँमै कोठा दिने गरेको लामाले बताए।‘पैसा सबै कुरा होइन। ग्राहकको मनोभावना बुझेर व्यवहार गरेमा होटल चलाउन कठिन छैन,’उनले भने,‘सेवाभाव राखेर काम गरिरहेको छु। यो वाहेक प्रदेश २ को पर्यटनको विकास तथा प्रवद्र्धनमा सक्रिय भएर लाग्नेछु ।’

उनी विदेश जाँदा स्वदेशमै होटल व्यवसाय गर्ने मनोकांक्षा पलाएको बताए। 'म जर्मन जाँदा साथीहरुले उतै बस्न आग्रह गरेका थिए। तर म पनि विदेश होइन स्वदेशमै केही गर्नुपर्छ भनेर होटल व्यवसाय सुरु गरेको हुँ,' उनले भने, 'विदेशमा शरणार्थी भएर बस्न भन्दा आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किएर होटल व्यवसाय सुरु गरेको हुँ।'

उनले विदेशबाट सही समयमा सही काम गर्न र बुढो उमेरमा पनि काम गर्नुपर्छ भन्ने सिकेको बताए। उनले होटलमा लगानी विस्तार गरेर स्वीमिङ र खेलकुदको कोर्ट समेत संचालन गर्ने बताए। लामाको होटलमा २० जनाले रोजगारी पाएका छन्।लामाको काठमाडौंमा कार्पेट,थन्का पेन्टिङ् र ट्राभल एजेन्सी समेत छ। काठमाडौंको व्यापार उनका दुई छोराले हेर्दै आएका छन्।