इन्जिनियरलाई ओलीको सुझाव, ‘नेपालको नदी जस्तै जहाज बनाउनुस्, सिद्धान्तले नदिए फेर्दिनुस्’

बिजमाण्डू
२०७५ फागुन २ गते १४:२६ | Feb 14, 2019
इन्जिनियरलाई ओलीको सुझाव, ‘नेपालको नदी जस्तै जहाज बनाउनुस्, सिद्धान्तले नदिए फेर्दिनुस्’

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ। एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। एकान्तकुनामा रहेको काठमाडौं उपत्यका चक्रपथ सुधार योजनाको कार्याललयलाई पानीजहाज कार्यालय बनाइएको हो। 


उद्घाटन पछि बोल्दै प्रधानमन्त्री ओलीले नेपाल पानी जहाज युगमा प्रवेश गरेको बताएका छन्। उनले नेपाल अब संगठित ढङ्गले पानी जहाज सञ्चालनका लागि अघि बढेको बताए। 'अलिकति मान्छेले जागिर खाउन ५/६ जना इन्जिनियरलाई जागिर दिऊँ भनेर कार्यालय स्थापना गरेको होइन, पानी जहाज चलाउनकै लागि हो,' उनले भने, 'अब त कार्यालय खुल्यो टिकट पाइन्छ होला नि भनेर जिस्क्याउनेछन्, केही महिनापछि टिकट पनि पाइन्छ पानी जहाज पनि चढन् पाइन्छ।'


प्रधानमन्त्री ओलीले नेपालका कोशी, कर्णाली र महाकालीलगायतका नदीहरु मिसिएर नै भारतको गंगा नदी बगेको बताए। नेपालले पूर्णरुपमा भूपरिबेष्ठित राष्ट्र भनेर खुम्चिएर बस्नुपर्ने अवस्था नरहेको ओलीले उल्लेख गरे। अहिले प्रयोगमा रहेका जहाजहरुको बारेमा मात्रै सोचेर नबस्न इन्जिनियरहरुलाई ओलीले सुझाव दिएका छन्। 

'हाम्रा नदी गहिरा छैनन्, साँघुरिएको खोला छैन फिँजिएर चल्ने पानी जहाज बनाउनुस् त्यो तलको पातोलाई फराकिलो बनाउनु ठुलो कुरो त होइन नि,' उनले भने, 'यदि सिद्धान्तले नदिने भए सिद्धान्त नै परिवर्तन गर्नुस्।'

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाली झण्डा बोकेको पानी जहाज छिट्टै सञ्चालनमा आउने बताए। उनले पानी जहाज कम्पनी स्थापना गरेर एककदम अघि बढेको बताए। महासेठले जलमार्ग रेलमार्गबाट सुविधा सम्पन्न यातायात प्रणाली सरकारले विकास गर्न लागेको बताए। नेपालमा यातायातको ९० प्रतिशत माध्यम सडक संजाल रहेको छ। सरकारले जलयातायात र रेलमार्गको विकास गर्न लागेको मन्त्रालयले जनाएको  छ।

भारतले नेपाली सीमासम्म पानी जहाज सञ्चालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) फाइनल गरिरहेको छ। भारतीय इनल्याण्ड वाटर सर्भिस नामक कम्पनीले डिपिआर तयार गरिहेको छ। 

सरकारले जेठमा पानी जहाज सञ्चालनका लागि अध्ययन समिति बनाएको थियो। उक्त समितिले भारततर्फ बगेका नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्न सकिने प्रतिवेदन दिएको छ। नेपालबाट भारतको गंगा नदी हुँदै बंगलादेशलगायतका देशसम्म पुग्न सकिन्छ। भारतीय पक्षसँगको सहकार्यमा गरिएको अध्ययनले ५ टन वोक्न सक्ने क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने देखाएको छ। 


पानी जहाज नै संचालन गर्नका लागि अझै दुई वर्ष लाग्ने अनुमान गरिएको छ।