ऊर्जामा लगानी गर्न ओलीको आग्रह भन्छन्,’पैसा चलायो भने बढ्छ, अण्डा पार्छ, खोलामा हाल्दा के होला’

बिजमाण्डू
२०७५ फागुन २ गते १५:०४ | Feb 14, 2019
ऊर्जामा लगानी गर्न ओलीको आग्रह भन्छन्,’पैसा चलायो भने बढ्छ, अण्डा पार्छ, खोलामा हाल्दा के होला’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जदविद्युत आयोजनामा लगानी गर्न जनतालाई आग्रह गरेका छन्। चलायमान बनाए मात्रै पैसा बढ्ने भन्दै प्रधानमन्त्री ओलीले सम्पत्ती बढाउन जलविद्युतमा लगानी बढाउन आग्रह गरेका हुन्। 

Tata
GBIME
Nepal Life

'जनताको जलविद्युत आयोजना कार्यक्रम'को उद्घाटन गर्दै उनले भने, 'निस्कृय रहेको पैसालाई परिचालन गर्छौं, परिचालन भयो भने त्यसले अण्डा पार्छ। पैसा चलाएन भने त्यो खिइँदै जान्छ र घट्छ। पैसाको जातै यस्तै हो।'

चैत ७ गतेबाट जनताको जलविद्युत आयोजनामा शेयर खुल्ने भन्दै ओलीले पहिलो शेयर आफूले किन्ने पनि दावी गरे। '१० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म शेयर हाल्न पाइन्छ,' उनले भने, 'शेयर सूचीकृत नभएसम्म त्यो पैसाको ब्याज पनि पाइन्छ।'  

ओलीले लगानी गरे मात्रै तरल सम्पत्तीको मूल्य बढ्ने भन्दै आफुले सुन किन्दाको प्रसंग पनि सुनाएका थिए। कुनै जमानामा आफूले ९० रुपैयाँ तोला सुन किनेको कुरा स्मरण गर्दै ओलीले भने, 'त्यतीबेला सुन नकिनेको भए त्यो ९० रुपैयाँ नै रहन्थ्यो। अहिले ९० रुपैयाँमा त सुन छुन मात्रै पाइन्छ। पैसा चलायो भने मात्र बढ्छ। खोला बग्ने हुनाले खोलामा पैसा हाल्यो भने त झन बढ्ला।'

बौद्धिक उचाईंसँग हैरान छु
प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको सपना देख्दा बिना आधार सपना देखेको भन्दै बौद्धिक वर्गले कुरा काटेकोमा हैरान भएको बताए। उनले भने, 'बौद्धिक वर्गसँग पनि हैरान भइयो। तीन तासेले तास फिटेभन्दा धेरै कुरा फिटेपछि अच्चम लाग्छ।'


ओलीले सुख प्राप्ती सबैको अन्तिम ईच्छा भएको पनि उल्लेख गरे। 'समृद्ध नेपाल र सुखि नेपाली सबैको चाहना हो। सबै समृद्ध हुन चाहन्छन् र सुख प्राप्ती अन्तिम ईच्छा हो,' ओलीले भने, 'साझा आकांक्षा व्यक्त गर्दा पनि टिप्पणी गरे। आधारहीन भने।  सुखी हुने ईच्छा राख्न के को आधार चाहिन्छ?'


प्रधानमन्त्री ओलीले सरकार रफ्तारमा अघि बढेको बताए। 'हिजो प्रधानमन्त्री रोजगार कार्यक्रम, आज विहान पानीजहाज कार्यालय स्थापना र अहिले जनताको लगानीमा जलविद्युत आयोजना कार्य्रम उद्घाटन गरेँ,' उनले भने, 'वर्षमा १०० दिन पनि काम नपाउने नेपालीलाई निर्वाह भत्ता दिएपछि त पैसा नभएको त कोही पनि नेपाली हुँदैन।'


सरकारले एक वर्षमा इतिहासमै नभएको काम गरेको ओलीले दावी गरे। 'अहिले बनाएको जगले १०/२० तले हैन हजार तले भवन बनाए पनि थाम्छ,' उनले भने, 'सरकारको काम आठ कक्षाको वक्तृत्वकलामा भाग लिने विद्यार्थीले बोले जस्तो होइन, सरकार स्पस्ट योजनाका साथ अघि बढेको छ।'