काठमाडौं। नेपालको पानी जनताको लगानी अन्तर्गतका १९ वटा आयोजनाको शेयर निष्काशनका लागि अर्थमन्त्रालयले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीनै परिवर्तन गरेको छ।
प्रधानमन्त्री केपीशर्मा ओलीले विहिबार नेपालको पानी जनताको लगानी परियोजना शुभारम्भ गर्दै पहिलो शेयर आफैंले किन्ने घोषणा गरेका थिए। सरकारले चाहेमा रातारात नियमावली परिवर्तन गर्नसक्छ भन्ने उदाहरण पनि यही बनेको छ। १९ वटा आयोजनाबाट तीन हजार ४ सय ७९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य बनाएको छ। उक्त आयोजनाहरुले सर्वसाधारणको लागि एक खर्ब ६ अर्ब रुपैयाँको शेयर निष्काशन गर्ने छन्।
जलविद्युतमा जनताको लगानी भित्र्याउनको लागि मन्त्रालयले सरकार प्रवर्द्धित जलविद्युत आयोजनाको शेयर निष्काशन गर्ने भन्दै छुट्टै व्यवस्था गरेको हो। अहिले संशोधन गरिएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार सरकार प्रवर्द्धित आयोजनाले सर्वसाधारणको लागि छुट्टाइएको शेयर पूँजी मध्ये १० प्रतिशत अग्रिम रुपमा निष्काशन गर्न पाउने छन्।
निजी क्षेत्रका आयोजनाले भने अग्रिम शेयर जारी गर्न पाउँदैनन्। निजी क्षेत्रको कुनैपनि आयोजनाको सम्भाव्यता अध्ययन, कन्ट्रयाक्ट, विद्युत खरीद सम्झौंता, कम्पनी स्थापना, ५० प्रतिशत निर्माण सम्पन्न हुनुपर्ने र क्रेडिट रेटिङ लगायतका प्रकृया पूरा गरेपछि मात्रै शेयर निष्काशन गर्न पाउँछन्।सरकारले घोषणा गरेका जलविद्युत आयोजनाले समेत यी सबै प्रकृया भने पूरा गर्नुपर्छ। यो आधारमा तत्कालै आउनसक्ने आयोजना त्रिशुली थ्रि बी मात्रै हो। यो आयोजनाको क्रेडिट रेटिङ र धितोपत्र बोर्डमा आवेदन दिनसक्ने अवस्थामा छ।
एक महिनामै आउँछ शेयर?
सरकारले नियमावली परिवर्तन गरेपनि नियामकीय प्रकृया पूरा गर्न एक महिना भन्दा बढी लाग्छ। सरकारले चैत ७ गतेदेखि शेयर निष्काशन गर्ने घोषणा गरे पनि एउटा कम्पनीले धितोपत्र निष्काशनको प्रकृया पुरा गर्न कम्तीमा पनि एक महिना लाग्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले जानकारी दिए।
उनले भने ‘एकै पटक १९ वटै कम्पनी आए केही समय लाग्छ। तर फरक/फरक समयमा निष्कासन अनुमति लिन आएमा कुनै समस्या पर्दैन।’ हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडिसिएल)ले सबै आयोजनाको व्यवस्थापन हेर्नेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले चैतभित्रै त्रिशुली थ्रि बीको शेयर आउने र अरु आयोजनाको शेयर एक वर्षभित्र आउने जानकारी दिए।
उनले सर्वसाधरणलाई छुट्याइएको १० प्रतिशतले हुन आउने १० अर्ब ६४ करोड रुपैयाँको अग्रिम शेयर निष्काशन गर्ने बताउँदै ९० प्रतिशत हकप्रद शेयर जारी गर्ने जानकारी दिए। एचआइडिसिएलका अनुसार सबै आयोजना निर्माणका लागि ६ खर्ब ९५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।