पानीको अभाव खेप्दै अमलेखगंज, संभावना भएपनि लगानी गर्न डराउन थाले होटल व्यवसायी

बिजमाण्डू
२०७५ फागुन ३ गते १२:२५ | Feb 15, 2019


वीरगंज। पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय सम्भावनाको केन्द्र बनेपनि बाराको अमलेखगंजमा  होटल व्यवसायमा लगानी गर्न व्यवसायीहरु हच्किन थालेका छन् ।

Tata
GBIME
Nepal Life

जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ पर्ने यो ठाउँमा खानेपानीको उचित प्रबन्ध नहुँदा लागनीकर्तहरु डराएका हुन्। होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानका अनुसार हालसम्म अमलेखगंजमा करिब ५० करोड रुपैयाँ होटल व्यवसायमा लगानी भइसकेको छ।तर पानीको चरम अभावको कारण व्यवसाय सञ्चालनमा भने समस्या छ ।

उनले पानी सहजै उपलब्ध हुन नसक्दा  होटलमा खानपिनमा मिनरल वाटर प्रयोग हुने तथा कपडा धुन र शौचायलमा खोलाको पानी ट्याकीमा भरेर जोहो गर्नु परेको बताए।चार करोड रुपैयाँमा एलिफेन्ट भिलेज रिसोर्ट पोहोरदेखि सञ्चालनमा ल्याएका लामिछाने पर्यटक आउने गन्तव्य भएतापनि व्यवसाय चलाउन पानी कै कारण समस्या भएको बताउँछन् ।

अमलेखगंजमा इच्छा होटलले पनि रिसोर्ट संचालन गर्ने चर्चा चलेको थियो। तर  पानीकै समस्याको कारण हालसम्म निर्माण सुरु हुन सकेको छैन।
इच्छा होटलले जग्गा खरिद गरी होटल विस्तार गर्न खोजेको छ। पर्खाल लगाइसकेको पनि छ तर पानीको समस्याले काम ठप्प छ ।अमलेखगंजमा कल्पवृक्ष होटल, कामिनी रिसोर्ट, पाराडाइज होटल, जर्घा होटल जस्ता होटलहरु सञ्चालनमा छन्।

पर्सा राष्ट्रिय निकुञ्जको हातिसार, इन्धन डिपो, चुरे शुरु हुने ठाँउ भएकोले अमलेखगंज पर्यटकीय गन्तव्यको रुपमा विकसित हुन थालेको हो। पर्यटकीय गन्तब्य हुने संभावना भएपनि पानीको  समस्या भएकोले हल गर्न सरकारसँग  होटल व्यवसायीले माग गरेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंजका वडा अध्यक्ष कृष्ण ठकुरीले १३ सय घरधुरी रहेको अमलेखगंजमा शहरी विकास मन्त्रालायबाट पर्यटन क्षेत्र विकासको लागि ३० करोड बजेट माग भएको बताए। उनका अनुसार पानीको समस्या समाधानकालागि डिपिआरको लागि मन्त्रालयले विज्ञ खटाउने तयारी गरेको छ । अमलेखगंजमा हाल पर्सा राष्ट्रिय निकुञ्जको मुहानबाट ल्याइएको पाइपको पानी र खोलाको पानी प्रयोग हुने गरेको छ ।