ब्याजदर नियन्त्रणमा अर्थमन्त्रीको राय: वित्तीय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ

बिजमाण्डू
२०७५ फागुन ५ गते १२:३३ | Feb 17, 2019
ब्याजदर नियन्त्रणमा अर्थमन्त्रीको राय: वित्तीय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ

काठमाडौं। उद्योगीले बैंक ब्याजदर नियन्त्रणका लागि सरकारलाई दबाब दिइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय बजार प्रतिस्पर्धी ढंगबाट नचले हस्तक्षेप हुनसक्ने बताएका छन्। 

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्: वालुवाटारमा प्रधानमन्त्री र उद्योगी वार्ता, ब्याजमा हस्तक्षेप गर्न अर्थमन्त्रीलाई निर्देशन

'सबैले प्रतिस्पर्धी ढंगबाट काम गर्नुपर्छ। न्यूनतम नाफा हुनैपर्छ भन्ने कुरामा द्विविधा छैन,' नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) सञ्चालनको १० बर्ष पुगेको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, 'प्रतिस्पर्धी ढंगले चलेन भने हस्तक्षेप हुन्छ। त्यो बैंकिङ क्षेत्रमा पनि हुन सक्छ।'

शनिवार उद्यमीहरुले प्रधानमन्त्री केपी ओलीसहित अर्थमन्त्री डा. खतिवडा, गभर्नर डा. चिरञ्जिबी नेपालसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्रीले ब्याजदरको समस्या हल गर्न अर्थमन्त्रीलगायतलाई निर्देशन दिएका थिए।

ब्याज दरका बारेमा गभर्नर डा. नेपालले भने कुनै भनाइ सार्वजनिक गरेनन्। उनले लागत घटाएर अगाडि बढ्न सुझाब दिएका थिए।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने तत्काल ब्याज दर घट्ने अवस्था नरहेको बताए। उनले तीन बर्षअघिको जस्तो ब्याज दर नखोज्न ब्यवसायीलाई आग्रह गर्दै अहिले त्यो अवस्था नरहेको प्रष्ट पारे।

'व्यवसायीहरुले ब्याज घटाउनु पर्छ भनिरहनु भएको छ। बैकले सकेको गरिरहेका छन्। तीन बर्षअघिको जस्तो ब्याज अहिले खोजेर हुँदैन' उनले भने, 'अहिले आधार ब्याज दर १० प्रतिशतभन्दा माथि छ। बैंकले आफ्नो इफिसिएन्सी बढाएर स्प्रेड घटाउने बाहेक अर्को उपाय छैन।'

ढुङ्गानाले आधार दर १० प्रतिशतमाथि रहेका कारण ऋणको ब्याज दर व्यवसायीले भनेजस्तो एकल अंकमा ल्याउन सक्ने अवस्था नरहेको बताए। 'भविष्यमा झर्ला एकल अंकमा पनि। तरलता पर्याप्त भयो भने तीन चार बर्षमा एकल अंकमा पनि आउला' उनले भने, 'तर अहिले एकल अंकमा ब्याज आउँदैन।'

अर्थमन्त्री खतिवडाले बैंकहरुले आफ्नो लागत कम गर्दै लगेर सेवालाई चुस्त बनाउन सुझाब दिए। उनले बिस्तारै एटिएमबाट पैसा झिक्ने चलन पनि हट्ने बताउँदै बिस्तारै बैंकिङको ट्रेन्ड नै परिवर्तन हुने बताए। 

अर्थमन्त्रीले खतिवडाले आफैबाट 'इथिक्स' को पालना सुरु गर्नु पर्ने बताउँदै त्यसपछि समस्या नरहने उल्लेख गरे। उनले उद्यमीले उद्यमीको र बैंकरले बैंकरको भूमिका निर्वाह गर्नु पर्ने बताउदै सबैले आआफ्नो भूमिकामा बाँधिएर बस्दा समस्या नहुनेसमेत बताए। उनले ब्यवसायीले ब्याजमा नियन्त्रण गर्नु पर्छ भन्ने सन्दर्भलाई जोडेर इथिक्सको बिषय उठाएका हुन्।

गभर्नर डा. नेपालले बैंकिङ क्षेत्रमा प्रत्येक दिन नयाँ परिवर्तन हुने गरेको बताउँदै त्यसका लागि कर्मचारीलाई उपयुक्त तालिम दिनु पर्ने सुझाब दिए। उनले नेपाली बैंकिङ 'डिजिटलाइज्ड' भइरहेको बताउँदै त्यसका पनि चुनौती निक्कै रहेको उल्लेख गरे।