पर्साको तिलावे पुलको काम तीन महिनादेखि रोकियो, ठेकेदारले लगायो सडक बिभागलाई दोष, भएको के हो?

बिजमाण्डू
२०७५ फागुन ५ गते १४:१३ | Feb 17, 2019


वीरगंज। पर्साको तिलावे पुलको काम तीन महिनादेखि रोकिएको छ । काम नहुनुमा सडक बिभाग र ठेकेदारले एक अर्कालाई दोष देखाएका छन्।

Tata
GBIME
Nepal Life

वीरगंज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलमा सडक विभागले डाइभर्सन नदिदाँ काम रोकिएको ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीको आरोप छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगंजका आयोजना प्रमुख अनुठालाल पटेलले भने डाइभर्सनको विषयमा निर्माण कम्पनीले बाहाना बनाएर काम ढिलो गरेको बताएका छन्।

उनले डाइभर्सन बनाउने विषयमा विभाग र निर्माण कम्पनीबीच दुई साता अघि भएको बैठकमा ठेकेदार कम्पनीले डाइभर्सन बनाउने र त्यसको भुक्तानी सरकारले दिने निर्णय समेत भइसक्दा ठेकेदारले काम नगर्ने नियतले डाइभर्सनको बहाना बनाएको प्रतिक्रिया दिए ।

निर्माण कम्पनीले तीन महिनाअघि पुलको जग हाल्ने काम पूरा गरिसकेको छ । पुल भएर चल्ने सवारीका साधनका लागि डाइभर्सन तयार नहुदाँ काम अघि बढ्न नसकेको ठेकेदार पक्षको भनाई छ ।

नयाँ पुल निर्माण भइरहेको ठाउँमा पुरानो फलामको पुल रहेको छ । यो पुल र बाटो पर्साको ग्रामीण जनजीवनलाई जोडेको छ । बिना डाइभर्सन पुलको काम असम्भव भएकोले काम रोकी डाइभर्सनको प्रतिक्षामा रहेको रहेको ठेकेदार कम्पनीका योजना प्रबन्धक जसुवा अब्राहमले बताए ।

पुल ३ वर्षमा निर्माण सकिने गरी २०७३ असारमा सम्झौता भएको हो। सडक विभागले पुलको नक्सा स्वीकृति नै १८ महीना ढिला गरी दिएको अब्राहमले बताए ।

६ महिनाअघि मात्र काम सुरु भएकोमा ३ महिनामै जग निर्माणको काम सकिएको उनको भनाई छ। ७ करोड ५० लाख रुपैयाँमा १०० मीटर लम्बाइ ७ मीटर चौडाई डबल लेन पुल निर्माणको सम्झौता भएको थियो ।