१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुँदै

बिजमाण्डू
२०७५ फागुन ५ गते १६:१६ | Feb 17, 2019

काठमाडौं। नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उदेश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजना हुने भएको छ।

Tata
GBIME
Nepal Life

“नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने मुल नाराका साथ आगामी फागुन २३ गतेदेखि व्यापार मेला आयोजना हुन लागेको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा फागुन २३ देखि २७ गतेसम्म घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला २०७५ आयोजना गर्न लागेको हो।

वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताए।

‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसका कारणले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन्।’ अध्यक्ष सिंहले भने, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ।’

हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षण हुनेछन्।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ। प्रदर्शनीमा २०० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्नुका साथै सात करोड रुपैयाँ बढिको कारोबार हुने अपेक्षा गरिएको छ।

मानिसहरुको आकर्षण दिन प्रतिदिन अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेकोले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्दै तेश्रो प्राङ्गारिक कषि मेला २०७५ पनि सोही मेलामार्फत गर्न लागिएको आयोजकले जनाएको छ।