प्रभावित क्षेत्रमा शेयर बिक्नै छाड्यो, प्रभावित क्षेत्रको रोग सर्वसाधारणमा पनि देखिदै

बिजमाण्डू
२०७५ फागुन ५ गते १६:५७ | Feb 17, 2019
प्रभावित क्षेत्रमा शेयर बिक्नै छाड्यो, प्रभावित क्षेत्रको रोग सर्वसाधारणमा पनि देखिदै


काठमाडौं। ८ वटा जलविद्युत आयोजना र एउटा सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको शेयर पूर्ण रुपमा बिक्री हुन सकेन्।

Tata
GBIME
Nepal Life

राधी जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर,  शुभम् पावर कम्पनी, पाँचथर पावर कम्पनी, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र शिवम् सिमेन्टको प्राथमिक शेयर बिक्रीनै हुन सकेन्।केही वर्षअघिसम्म हाइड्रोपावर कम्पनीको प्राथमिक शेयरमा हजारौको आवेदन पर्दै आएकोमा गत आर्थिक वर्षदेखि मध्यम किसिमको रेटिङ पाएका कम्पनीको पनि शेयर बिक्री हुन सकेको छैन। शिवम सिमेन्ट बाहेक ८ वटा कम्पनी हाइड्रोपावर छन्। रेटिङ र प्रतिफलका हिसावले राम्रो मानिएको शिवमको समेत शेयर बिक्री हुन सकेन।

राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीले ०७४ बैशाखमा ४ लाख १० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। जसमा प्रभावित क्षेत्रका वासिन्दाले २ लाख ६० हजार ४५० कित्ता प्राथमिक शेयर खरीद गरेका थिए।

कम्पनीले ०७४ पुसमा प्रभावित क्षेत्रमा बिक्री नभएको एक लाख ४९ हजार ५५० कित्ता सहित ७ लाख ६४ हजार ५ सय ५० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो।

जोशी हाइड्रोपावर
जोशी हाइड्रोपावर कम्पनीले गत असारमा प्रभावित क्षेत्रका वासिन्दाको लागि तीन लाख ७१ हजार ४०० कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा जम्मा एक लाख २९ हजार ३९० कित्ता मात्रै बिक्री भएको थियो।

प्रभावित क्षेत्रमा बिक्री नभएको सहित १६ लाख ९० हजार ४७० कित्ता सर्वसाधारणको लागि बिक्री गरेको थियो। कम्पनीले सबैभन्दा खराव रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ पाएको थियो। साधारण लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ। कम्पनीले इलाम जिल्लाको प्रभावित क्षेत्रमा शेयर निष्काशन गरेको थियो। प्रभावित क्षेत्रमा बिक्री नभए पनि सर्वसाधारणबाट भने साढे तीन गुणा बढी आवेदन परेको थियो।

घलेम्दी हाइड्रोपावर
घलेम्दी हाइड्रोपावरले गत असारमा प्रभावित क्षेत्र म्याग्दी जिल्लामा ५ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ लाख ५५ हजार ७७० कित्ता बिक्री हुन सकेको थिएन।

बिक्री नभएको शेयर सहित कम्पनीले पुसमा १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो। सर्वसाधारणको लागि निष्काशन गर्दा साढे दुई गुणा भन्दा धेरैको लागि आवेदन परेको थियो। इक्रा एनपि आइपिओ ग्रेड ५ पाएको छ।

युनिभर्सल पावर
युनिभर्सल पावरले गत माघमा आयोजना प्रभावित क्षेत्र दोलखामा २१ लाख ३५० कित्ता सार्वजनिक निष्काशन गरिएकोमा १७ लाख ६६ हजार १५० कित्ता शेयर बिक्री हुन सकेन्।

प्रभावित क्षेत्रमा बिक्री नभएको शेयर सहित कम्पनीले दोस्रो चरणमा ९३ लाख २७ हजार ४१० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको छ। सर्वसाधारणको लागि बिक्री खुला गर्दा पनि पहिलो चरणमा बिक्री नभएपछि ढिलोको अवधि कुर्नुपर्ने अवस्था आएको छ। ढिलोको अवधि फागुन २६ गतेसम्म रहेको छ।

कम्पनीको क्रेडिट रेटिङ इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ।

शुभम् पावर
शुभम पावर कम्पनीले गत असारमा प्रभावित क्षेत्रका लागि दुई लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्दा एक लाख ८० हजार ५८० बिक्री भएन। प्रभावित क्षेत्रमा बिक्री नभएको शेयर सहित कम्पनीले सर्वसाधारणको लागि ५ लाख ८० हजार ५८० कित्ता शेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ।

शिवम् सिमेन्ट
जलविद्युत र बैंक तथा वित्तीय संस्थाले मात्रै प्राथमिक शेयर निष्काशन गर्दै आएकोमा पछिल्लो समय वास्तविक क्षेत्रका कम्पनी मध्ये शिवमले प्राथमिक शेयर निष्काशन गर्दा प्रभावित क्षेत्रमा शेयर बिक्री हुन सकेन।

कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थपेर शेयर निष्काशन गर्दा २३ प्रतिशत मात्रै बिक्री भएको थियो। बास्तविक क्षेत्रले पहिलो पटक प्रिमियम सहित शेयर निष्काशन गर्दा माग अनुसार बिक्री नभए पछि फागुन ६ गतेदेखि प्रिमियम घटाएर पुनः प्रभावित सहित सार्वजनिकको लागि शेयर निष्काशन गर्दैछ।

पाँचथर हाइड्रोपावर
कम्पनीले गत माघमा प्रभावित क्षेत्रका ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्दा ८३ प्रतिशतको लागि आवदेन परेन। माग अनुसार रितपूर्वक आवेदन दिनेलाई एक लाख ७४ हजार ७५० कित्ता शेयर बाँडफाँड गरेको छ।

प्रभावित क्षेत्रमा बिक्री नभएको सहित १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नुपर्ने भएको छ। केयर एनपिआइपिओ ग्रेड चार पाएको छ।

युनियन हाइड्रोपावर
युनियन हाइड्रोपावरले प्रभावित क्षेत्रमा शेयर निष्काशन गर्दा ६ लाख २१ हजार ७९० कित्ता प्राथमिक शेयर बिक्री भएन।

प्रभावित क्षेत्रमा बिक्री नभएको शेयर सहित ३५ लाख ३४ हजार ३४० कित्ता सर्वसाधारणको लागि निष्काशन गर्ने कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।  कम्पनीले खराव क्रेडिट रेटिङ ५ पाएको छ।

माउन्टेन हाइड्रोपावर
माउन्टेन हाइड्रोपावर कम्पनीले गत साउनमा प्रभावित क्षेत्रका लागि १२ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो। जसमध्ये ६ लाख ८३ हजार ८९० कित्ताको लागि मात्रै आवेदन परेको थियो।

बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता सहित १८ लाख १६ हजार ११० कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ।

किन बिक्री भएन शेयर?
दोस्रो बजार लगातार घट्न थालेपछि प्राथमिक शेयर पनि बिक्री नभएको हो। प्राथमिक शेयर निष्काशनपछि खुला कारोबारका लागि दोस्रो बजारमा सूचीकृत हुन्छ। दोस्रो बजार नै लगातार घट्दो ट्रेण्डमा रहेको हुँदा कम्पनीले उपयुक्त मूल्य पाउन सक्दैन।

यस भन्दा अगाडि प्राथमिक शेयर निष्काशन गरेका हाइड्रोपावर कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा तल झर्न थालेपछि लगानीकर्ता आइपिओमा समेत आकर्षित हुन छाडेको बजार विश्लेषक तुलसीराम ढकालले बताए।

कम्पनीको वित्तीय अवस्था नहेरि आइपिओ आउने वित्तिकै लगानी गर्ने लगानीकर्ताहरु पछिल्लो समय सम्बन्धित कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्न थालेको अर्का बजार विश्लेषक ज्योति दाहाल बताउँछन्। नियम अनुसार प्रभावित क्षेत्रका लागि १० प्रतिशत शेयर अनिवार्य निष्काशन गर्नैपर्छ तर विकट भुभागका प्रभावित वासिन्दाले पूर्ण रुपमा शेयर खरिद गर्न सक्ने अवस्था छैन।

लगानीकर्ताले कम्पनीको रेटिङ तथा पे-व्याक पिरियड हेरेर लगानी गर्न थाले पछि खराव रेटिङ पाएका कम्पनीहरुको शेयर बिक्री हुन छाडेको हो। तर दोस्रो बजारमा तिनै कम्पनीले शेयर बिक्री गर्दा दुई गुणा भन्दा धेरैको आवेदन परेको देखिन्छ। आयोजना निर्माण कार्य नसकिदै प्राथमिक शेयर निष्काशन हुने हुँदा अधिकांश आयोजनाले निश्चित वर्ष प्रतिफल दिन सक्दैनन्। यसले गर्दा दोस्रो बजारमा कम्पनीले उचित मूल्य पाउन सक्दैन।

नियम अनुसार प्रभावित क्षेत्रका बासिन्दाको लागि तीन वर्ष लकिङ पिरियड तोकिएको हुन्छ। लकिङ अवधिभरि शेयर बिक्री गर्न नसकिने हुँदा प्रभावितले शेयरमा चासो नदेखाएको विज्ञहरु बताउँछन्। शेयर बजार धेरै नै तल झरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको समेत शेयर बिक्री नभएको अनुभव रहेको छ। अहिलेको अवस्था पनि शेयर बजार धेरै तल झरिरहेको छ। केहि राष्ट्रिय गौरवका आयोजना बाहेक धेरै संख्यामा शेयर बिक्रीको लागि खुला हुँदा बिक्री हुन सकेको छैन।

युनिभर्सल हाइड्रोपावरको शेयर संख्या धेरै हुँदा प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद सकेनन्। प्रभावित सँगै सर्वसाधारणले पनि कम्पनीको शेयर खरिद गरेनन्। छिटोको अवधिमा शेयर बिक्री नभए पछि कम्पनीले ढिलोको अवधि पर्खेर बसेको छ।

 कम्पनी छनोट गर्न थाले लगानीकर्ता
पछिल्लो समय माइक्रोफाइनान्ससँगै सबैभन्दा धेरै शेयर खुला गर्नेमा हाइड्रोपावर छ। शेयर निष्काशन गर्ने सम्पूर्ण हाइड्रोपावरको वित्तीय अवस्था राम्रो नहुँदा लगानीकर्ताले छानी/छानी शेयर खरिद गर्न थालेका हुन्। तामाकोशीले शेयर निष्काशन गर्दा प्रभावित क्षेत्रका बासिन्दा सर्वसाधारणको अत्याधिक आकर्षण देखिएको थियो।

त्यहि दोलखामा युनिभर्सलले शेयर निष्काशन गर्दा प्रभावितले शेयर खरिद गरेनन्। त्यस्तै पाँचथर जिल्लामा अरुण कावेलीको १० गुणा बढि आवेदन पर्यो तर माउन्टेन हाइड्रोले शेयर निष्काशन गर्दा आधा पनि बिक्री भएन। जसमा कावेली करिडोर नबन्दा अरुण कावेलीले उत्पादन सुरु गरेर पनि विद्युत बिक्री गर्न सकेन। विद्युत बिक्री गर्न नसक्दा लाभांस दिन सक्ने अवस्था रहेन। अरुण कावेलीलाई नजिकबाट नियालेका लगानीकर्ता माउन्टेन हाइड्रोमा आकर्षित भएनन्।

कम्पनीले लाभांस बाँड्न नसक्ने साथै लकिङ पिरियडले गर्दा दोस्रो बजारबाट पनि लाभ उठाउन नसक्ने देखे पछि लगानीकर्ता आकर्षित नभएका हुन्।
यदि तामाकोशीको पनि समयमा ट्रान्समिसन लाइन निर्माण भएन भने यसले थप गलत नजिर बसाउन सक्ने देखिन्छ। यस्तो अवस्थाले बाँकी आयोजनाले शेयर निष्काशन गर्दा बिक्री नहुन सक्छ।