गत वर्षको आर्थिक वृद्धिको नयाँ प्रक्षेपण, वर्षको अन्तिम चौमासिकमा उच्च खर्च

बिजमाण्डू
२०७५ फागुन ५ गते २१:२२ | Feb 17, 2019

काठमाडौं। नेपालले आर्थिक वर्ष २०७४/०७५ मा ६.३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ। तथ्यांक विभागले यसअघि गत आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरेपनि आर्थिक वर्षको अन्त्यसम्ममा ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि भएको हो।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा भएको आर्थिक क्रियाकलापका आधारमा नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ। यस्तो वृद्धि आर्थिक वर्ष २०७३/०७४ मा ७.९ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षमा १० खर्ब ८४ अर्ब ६८ करोढ २० लाख रुपैयाँ खर्च भएको छ। यो रकम कूल विनियोजित रकमको ८४.८१ प्रतिशत हो। यो अवधिमा चालु खर्च ६ खर्ब ९६ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, पुँजीगत खर्च २ खर्ब ७० अर्ब ७१ करोड ७१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब १७ अर्ब ४ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ।

यो अवधिमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटको ७७.४४ प्रतिशत बजेट खर्च भएको छ। २१ वटा ती आयोजनामा ९० अर्ब ३१ करोड ७६ लाख रुपैयाँ खुद विनियोजन भएकोमा ६९ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ।

मन्त्रालयले तयार गरेको गत आर्थिक वर्षको प्रगति मूल्यांकन प्रतिवेदनअनुसार यो अवधिमा उपभोक्ता मूल्यवृद्धि ४.२ प्रतिशत रहेको थियो। यो अवधिमा ८१ अर्ब १९ करोड रुपैयाँको सामान निर्यात भएको र १२ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको छ।

सरकारले निकै महत्व दिएको पुनर्निर्माणमा जम्मा ७५ प्रतिशत मात्रै बजेट खर्च भएको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा १ खर्ब १४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

सरकारले ७ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको मन्त्रालयले जनाएको छ। यसमा कर राजस्वको अंश ९०.१ प्रतिशत र गैरकर राजस्वको अंश ९.९ प्रतिशत छ।

अर्थ मन्त्रालयले तयार गरेको प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १८.२ प्रतिशतले यो कर्जा बढेको थियो।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/०७५ को अन्तिम चौमासिकमा कूल पुँजीगत खर्चको ६५.२२ प्रतिशत खर्च भएको छ। जबकी पहिलो चौमासिकमा ७.९८ प्रतिशत र दोस्रो चौमासिकमा २६.८ प्रतिशत मात्रै खर्च भएको छ।