टुटल र पठाओमाथि एकैपटक कर निर्धारण गर्ने तयारी, अनुसन्धान अन्तिम चरणमा

बिजमाण्डू
२०७५ फागुन १३ गते १७:३४ | Feb 25, 2019
टुटल र पठाओमाथि एकैपटक कर निर्धारण गर्ने तयारी, अनुसन्धान अन्तिम चरणमा


काठमाडौँ। आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवा प्रदायक टुटल र पठाओको कारोबारमा लाग्ने कर निर्धारण एकैपटक गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

दुवै कम्पनीले तिर्नुपर्ने मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर निर्धारणको प्रक्रिया अन्तिम चरणमा पुगेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीको कारोबारको प्रकृति उस्तै भएकाले एकैपटक कर निर्धारण गर्न लागिएको हो।

उनले अबको केही दिनमा कर निर्धारण प्रक्रिया टुंगो लाग्ने जानकारी दिए।'अनुसन्धान अन्तिम चरणमा छ, हामी छिट्टै कर निर्धारण गर्छौं,' उनले भने। विभागले दुवै कम्पनी स्थापना यता ग्राहकलाई सेवा दिँदा उठाएको भ्याट तथा उनीहरूको आयमा लाग्ने आयकर निर्धारण गर्ने गरि काम गरिरहेको छ।
ढुंगेलले दुवै कम्पनीले अघिल्ला वर्षहरुमा गरेको कारोबारसमेत विभागले हेरिरहेको उल्लेख गरेका छन्।

दुवै कम्पनीले अघिल्ला वर्षमा कारोबारबाट आय गरेको भए त्यसको आयकरसमेत तिर्नुपर्नेछ। 'यति नै अंक तिर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छैनौँ,' उनले भने। विभागले सुरुमा टुटलमाथि मात्रै छानबिन थालेको थियो। तर यही बीचमा पठाओको कारोबार उनीहरुले तिर्नुपर्ने कर दायित्वबारे पनि अनुसन्धान गर्नुपर्ने देखिएकाले दुवैको संयुक्तरुपमा अनुसन्धान अघि बढाइएको हो।

राइड सेयरिङ सेवा दिँदै आएका दुवै कम्पनीको कारोबार, उनीहरुको दर्ता तथा नेपालमा सञ्चालन प्रक्रियाबारे निरन्तर विवाद भइरहेको छ। सामाजिक सञ्जालमा यस्ता व्यवसयालाई सञ्चालन गर्न दिन हुने वा नहुने भन्ने विषयमा समेत बहस चलिरहेको छ।

टुटलका राइडरलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि यो विषय थप बहसमा आएको हो। सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारी यातायात सेवाका लागि सञ्चालन गर्न नपाइने व्यवस्था छ। यही व्यवस्थाका कारण दुवै कम्पनीको कारोबारको वैधतामाथि प्रश्न उठेको हो।